
सिराहाको लहानबाट प्रहरीले १९३ बोतल प्रतिबन्धित लागुऔषध छोडेर फरार भएका एक युवकलाई पक्राउ गरेको छ। लागुऔषध लोड गरेको मोटरसाइकललाई प्रहरीले पछ्याएको सूचना पाएपछि मोटरसाइकल छोडेर फरार भएका लहान नगरपालिका– १९ का करिब २२ वर्षीय मो. नसरुललाई खोजतलासको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मंगलबार बिहान करिब साढे १० बजेतिर लहान– ४ कुमाल टोलमा स.५प ७४३ नम्बरको मोटरसाइकलको पछाडि जुटको बोरामा निलो प्लास्टिकमा प्याक गरिएको एक सय एमएल दरको वनरेक्स सिरप बरामद भएको हो ।
आफूलाई प्रहरीले पछ्याइरहेको सूचना पाएपछि मोटरसाइकल र बोरा कुमालटोलमै छोडेर फरार भएका नसरुललाई हुलियाको आधारमा खोजतलास गर्ने क्रममा त्यही दिन दिउँसो लहान– ७ नयाँ बजारबाट पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय लहानको संयुक्त टोलीबाट पक्राउ गरिएका नसरुललाई सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई लहान प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।