
नेपालले आइसिसी विश्वकप लिग २ क्रिकेट प्रतियोगितामा बुधबार दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्समाथि पाँच विकेटको सानदार जित निकालेको छ । स्कटल्यान्डको डुन्डी मैदानमा पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्स ४९.१ ओभरमा २२५ रनमा समेटिएको थियो । प्रत्युत्तरमा नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा २२६ रन बटुल्यो । नेपालका लागि गुल्सन झाले विजयी छक्का प्रहार गरेका थिए । नेपालले १७ बलअघि नै जित हात पारेको हो ।
अस्ट्रेलियन प्रशिक्षक स्टुवार्ट लको प्रशिक्षणमा रहेको नेपालले लिगमा लगातार दोस्रो जित निकालेको हो । १४ खेल खेलेको नेपालले चार जित निकाली १० अंक जोडेको छ । नेपाल सातौँ स्थानमै यथावत् रह्यो । तर, नेपालले रनरेट भने उकासेको छ । २१ खेल पूरा गरेको नेदरल्यान्ड्स २६ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको अमेरिकाको २८ अंक छ ।
नेपालको जितमा आरिफ शेखले अर्धशतकीय योगदान दिएका थिए । उनले दीपेन्द्रसिंह ऐरीसँग चौथो विकेटका लागि ९२ बलमा ८९ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पुर्याए । शेख र ऐरीबिच साझेदारी हुनुअघि नेपाल ३०.३ ओभरमा १२३/४ को अवस्थामा थियो । दुवैले नेपाललाई ४५.५ ओभरमा २१२/५ को बलियो स्थितिमा राखे ।
शेखले १२४ बलमा सात चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ७८ रन जोडे । नटआउट रहेका ऐरीले ७२ बलमा ३८ रन बनाए । गुल्सनले चार बलमा समान चौका र छक्का प्रहार गरी ११ रन बटुले । यसअघि ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए । आसिफले २२ बलमा १९ तथा कुशलले ४२ बलमा २५ रन जोडे । कप्तान रोहित पौडेलले ३९ बलमा २३ रन जोडेका थिए । अब नेपालले स्कटल्यान्डसँग खेल खेल्नेछ ।
आरिफको आठौँ अर्धशतक
नेपालको जितमा महत्वपूर्ण योगदान दिएका मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखले करिअरकै आठौँ अर्धशतकीय इनिङ्स खेले । शेखले ८१ बलमा अर्धशतक पूरा गरे । यसक्रममा उनले पाँच चौका र एक छक्का प्रहार गरे । सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका शेखले अहिलेसम्म ५९ खेल खेलेका छन् ।
नेदरल्यान्ड्सको मध्यम लक्ष्य
पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको मध्यम लक्ष्य दिएको थियो । स्कटल्यान्डको डुन्डीमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्स ४९.१ ओभरमा २२५ रनमा समेटिएको थियो । अंकतालिकाको दोस्रो स्थानमा रहेको बलियो नेदरल्यान्ड्सलाई रोक्ने क्रममा सिमर बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए । करण केसीले १० ओभरमा ३५ रन खर्चेर दुई विकेट हात पारेका थिए ।
यसैगरी, सोमपाल कामीले ९.१ ओभरमा ४८ रन खर्चेर तीन विकेट लिए । सन्दीप लामिछाने र ललित राजवंशीले समान दुई विकेट हात पारे । नेपालका लागि विकेटविहीन गुल्सन झाले कसिलो बलिङ गरेका थिए । उनले चार ओभरमा १५ रन खर्चेका थिए । नेदरल्यान्ड्सको ब्याटिङमा विक्रमाजित सिंहले ५६ बलमा ३८ रन जोडे । कप्तान स्कट एडवाडले ७१ बल सामना गरी ४६ रन जोडेका थिए । मध्यक्रमका ब्याट्सम्यान नोआच क्रोजले ५५ बलमा ४८ रनको योगदान दिए । नेपालले २२ अतिरिक्त रन दिएको थियो । उत्कृष्ट सुरुवात गरेको नेपालले पाँच ओभरभित्र नेदरल्यान्ड्सको दुवै ओपनरलाई आउट गरेको थियो । माइकल लेभिट र म्याक्स ओ डाउड सस्तैमा आउट भए । विक्रम जितले कप्तान एडवार्डससँग तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए ।
नेपाललाई आइसिसी अवार्ड
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सामाजिक सञ्जालमा समर्थकको संलग्नतामा उच्च कार्य गरेको भन्दै नेपाललाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान गरेको छ । आइसिसीले विभिन्न विधाको विजेता घोषणा गर्दा नेपालले एसिया क्षेत्रको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड जितेको हो । एसिया क्षेत्रको अन्य देशलाई पछि पार्दै नेपालले यो अवार्ड हात पारेको हो ।
यो अवार्डको मनोनयनमा नेपालसँगै अफ्रिकन क्षेत्रबाट नामिबिया, अमेरिकी क्षेत्रबाट बर्मुडा र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट इन्डोनेसिया परेका थिए । नेपाल क्रिकेट संघ (क्यान)ले अवार्ड जितेकोमा गौरव अनुभूति भएको जनाएको छ । नेपाल ‘आइसिसी डेभलपमेन्ट अवार्ड’अन्तर्गत दुई विधाको ग्लोबल मनोनयनमा परेको थियो । यसैगरी ‘आइसिसी एक्सोना क्रिओ फेस्टिभल अफ द इयर’को ग्लोबल मानोनयनमा पनि नेपालसहित तान्जनिया, युएई, इन्डोनेसिया र साउदी अरेबिया छन् ।