
रुपन्देहीका नदी तथा खोलाहरूबाट ढुंगा–गिट्टी निकासीमा बेथिति बढेको छ । नदी तथा खोलाहरूमा मनपरी उत्खनन बढेपछि त्यसलाई सच्याउन चौतर्फी दबाब बढेको छ। यहाँका मायादेवी, गैडहवा, बुटवल, तिलोत्तमा, सैनामैनालगायतका पालिकाहरूका नदी तथा खोलाहरूमा मनपरी उत्खनन भएको पाइएको हो ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई नेतृत्वको टोलीले अनुगमनका क्रममा यहाँका विभिन्न स्थानमा भएको ढुंगा–गिट्टी उत्खननमा बेथिति औँल्याएको हो । तिनाउ, दानवलगायत नदीहरूमा मापदण्डविपरीत जथाभावी उत्खनन तथा ढुंगा–गिट्टीको चोरी बढेपछि यहाँ क्रियाशील विभिन्न दलहरूले समेत त्यसलाई रोक्न प्रशासनको ध्यानाकर्षणसमेत गराएका छन् ।
कहाँ–कहाँ छ बेथिति ?
जिल्ला समन्वय समितिका प्रमुख चपाईका अनुसार बुटवल उपमहानगरपालिकाको क्षेत्रभित्र ढुंगा–गिट्टीको उत्खनन सुरु भएको तीन दिन मात्रै भएको छ । यहाँ प्रगतिनगरस्थित रंगशालाको पछाडिपट्टि खोला क्षेत्रमा भएको उत्खनन मापदण्डविपरीत रहेको छ । यहाँ २७ मिटरभन्दा बढी उत्खनन गर्न नमिल्नेमा ४५ मिटर (चौडाइ) मा उत्खनन गर्न दिएको छ । मापदण्डविपरीत काम भएको रहेछ त्यसलाई तत्काल सच्याउनुपर्ने देखिएको उनले बताए । तिलोत्तमामा पनि बेथिति पाइएको छ । यहाँ दुईवटा सवारीसमेत नियन्त्रणमा लिइएको छ । त्यस्तै, सैनामैना नगरपालिका क्षेत्रभित्रबाट ६ वटा सवारी नियन्त्रणमा लिइएको छ ।
मायादेवी गाउँपालिका क्षेत्रमा त वडाध्यक्षलाई स्पष्टीकरण सोध्नेदेखि ठेकेदारबाट सात लाख रुपैयाँसम्म जरिवाना गराइएको छ । गैडहवा गाउपालिका क्षेत्रमा ५५ हजार घनफिट बढी उत्खनन गरेको पाइएपछि जफत गरेर बढाबढमा बिक्री गरी राजस्व जम्मा गर्न अनुगमन टोलीले सुझाव दिएको छ ।
वडाध्यक्षलाई बढी जिम्मेवार हुन पत्रचार
ढुंगा–गिट्टीको उत्खननमा बेथिति बढेपछि थिति बसाल्न वडाध्यक्षलाई बढी जिम्मेवार बनाउने कसरत पनि यहाँ भएको छ । खोला तथा नदीहरूमा बढेको जथाभावी दोहोन रोक्न संघ, प्रदेश तथा पालिकाबिच राम्रो समन्वय र प्रभावकारी अनुगमन हुन नसकेको अवस्थामा यहाँ वडाध्यक्षहरूलाई बढी जिम्मेवार बनाउने प्रयास थालिएको छ ।
जिल्ला समन्वय प्रमुख चपाई यस किसिमको बेथिति रोक्न वडाध्यक्ष बढी जिम्मेवार हुनुपर्छ भनेर पत्राचार गरेको बताउँछन् । अब बेथिति भेटिएमा पहिला स्पष्टीकरण वडाध्यक्षलाई सोध्ने काम हुने उनले बताए ।