
२५ वर्षपछि पहिलोपटक थानकोट जेसिजको रजतजयन्तीको अवसर पारेर हुन लागेको नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलनको तयारी पूरा भएको छ । थानकोट जेसिजले काठमाडौंको नागढुंगामा पत्रकार सम्मेलन गरेर जेसिआई नेपाल २०२५ क्षेत्र ‘ग’ सम्मेलन असोज १६ र १७ गते थानकोटमा हुने जानकारी गराएको हो ।
सम्मेलनको तयारी पूरा भएको सम्मेलन निर्देशक, नेपाल जेसिजका पूर्वकोषाध्यक्ष तथा थानकोट जेसिजका पूर्वअध्यक्ष मोहनलाल डाँगीले बताए। २५ वर्षपछि सम्मेलनको उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सम्मेलनको उद्घाटन गर्ने सम्मेलन निर्देशक डाँगीले बताए। कार्यक्रममा सात सय प्रतिनिधि सहभागी हुने थानकोट जेसिजका संस्थापक अध्यक्ष सिनेटर नन्ददास अमात्यले बताए । उनले यो सम्मेलनबाट चन्द्रागिरिले सबै पक्षबाट सकारात्मक प्रतिफल लिनुपर्ने बताए ।
थानकोट जेसिजका अध्यक्ष विराज शाहीले थानकोट जेसिजको मात्र कार्यक्रम नभएर समग्र जेसिज युवाहरू र चन्द्रागिरि नगरपालिकाको कार्यक्रम रहेको र यसले चन्द्रागिरि नगरपालिकाको पर्यटन प्रनर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । जेसिजले थिम सेमिनार पनि गर्ने बताएको छ, जसमा वरिष्ठ अधिवक्ता तथा संविधानविद् डाक्टर भीमार्जुन आचार्य, वरिष्ठ कलाकार तथा अभिनेता दीपकराज गिरी, ई–गभर्नेन्सका कार्यकारी प्रमुख दीपेश विष्ट सहभागी हुनेछन्।
नेपाल जेसिजमा १७८ शाखा छन्। जसमा थप ६ शाखा प्रस्तावित रहेका छन्। चार क्षेत्रमा विभाजन गरिएको जेसिजको क्षेत्र ‘ग’मा बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र दोलखाका गरी ३८ वटा शाखा छन् । १६ गते शुक्रबार पर्यटन प्रवर्द्धन तथा शान्ति र्याली पनि आयोजना गरिने जनाइएको छ ।
पहिलो दिन औपचारिक कार्यक्रम तथा प्रकरण गोष्ठी, शान्ति र्याली थानकोट बजारबाट पुरानो ऐतिहासिक र सांस्कृतिक महत्त्वको स्थल कोटघरसम्म हुनेछ । बेलुकी नेवारी परिकारसँगै थानकोट नाइटसमेत गरिने आयोजकले बताएको छ ।दोस्राे दिन पर्यटन प्रवर्द्धन, चन्द्रागिरि हिल्स र दहचोकस्थित इन्द्रदह कालुपाण्डे समाधि स्थल अवलोकन भम्रण गर्ने भएको हो । कार्यक्रममा साधरणसभा संसदीय प्रणालीबाट बैठक सञ्चालन हुनेछ।
सर्वसाधारण आमनागरिकहरूले भिजिटर पास १५ सय शुल्क तिरेर कार्यक्रममा सहभागी हुन पाउने आयोजकले जनाएको छ भने जेसिज सदस्यहरूलाई खाना र बस्न आयोजकले व्यवस्थापन गर्ने जनाएको छ।