१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025
फ्रन्ट पेज प्रिन्ट संस्करण

तीनवटा मोबाइल चलाउँथे अध्यागमन प्रमुख भट्टराई : एउटा मोबाइल सेटिङमा मात्रै प्रयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार o६:२४:oo

भिजिट भिसामार्फत हुने मानव तस्करीको संगठित गिरोह चलाएको आरोपमा अख्तियारको छानबिनमा रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसँग तीनवटा मोबाइल भेटिएका छन् । जसमध्ये एउटा मोबाइल उनले भिजिट भिसाको सेटिङका लागि मात्र प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ । 

अख्तियारले उनका तीनवटा मोबाइल र एउटा ल्यापटप जफत गरी परीक्षणका लागि डिजिटल ल्याबमा पठाएको छ । एउटा मोबाइल अफिसियल र एउटा नियमित व्यक्तिगत सम्पर्कका लागि प्रयोग गर्ने उनले सेटिङमा प्रयोग गर्ने एउटाबाट भने ट्राभल एजेन्सी, मेनपावर र कोर टिमका कर्मचारीसँग मात्र सम्पर्क गर्दै आएको स्रोत बताउँछ । सम्भावित छानबिन छल्न उनले त्यसरी गोप्य नम्बर प्रयोग गरेका हुन् । तीन मोबाइल र ल्यापटपको प्रतिवेदन आएपछि यसमा संलग्नमाथि विस्तृत अनुसन्धान गर्ने अख्तियारको तयारी छ ।

गृहमन्त्री रमेश लेखककै सचिवालयको प्रत्यक्ष संलग्नतामा केही महिनायता भिजिट भिसामा असुली बढेको सूचनाका आधारमा गत मंगलबार अख्तियारले अध्यागमनमा छापा हानेर उनलाई समेत नियन्त्रणमा लिएको थियो । यसअघिका अध्यागमन प्रमुखलाई चार महिनामै हटाएर मन्त्री लेखकले विवादास्पद पृष्ठभूमि भएका भट्टराईलाई गत असोजमा विमानस्थल अध्यागमनको प्रमुख बनाएका थिए । मन्त्रीको सचिवालयले छानी–छानी अध्यागमनमा कर्मचारी पठाएपछि रेट बढाएर सेटिङ चलाइएको थियो । जहाँ दिनमै औसतमा ५० लाख रुपैयाँ असुली हुने गरेको अख्तियारको सूचना छ । 

यसमा गृह नेतृत्व नै अनुसन्धानको राडारमा छ । अध्यागमनमा कुनै पनि कर्मचारी मन्त्रीको सचिवालयबाट स्वीकृत नभई सरुवा नहुने प्रणाली बनाइएको मन्त्रालय स्रोत बताउँछ । विगतमा भिजिट भिसाको सेटिङ धन्दामा संलग्न देखिएपछि प्रहरीले मुद्दा दायर गरेका अधिकृत विमल पौडेललाई नै मन्त्री लेखकले आफ्नो सचिवालयमा राखेका छन् । विगतमा कारबाही गरेर हटाइएका अधिकृतलाई समेत चलखेलका आधारमा फेरि अध्यागमनमा पठाइएको थियो । 

अख्तियारले पहिलो चरणमा अध्यागमन प्रमुख रहेका भट्टराईमाथि र दोस्रो चरणमा अन्यमाथि छानबिन गर्ने तयारी गरेको छ । सहसचिव भट्टराईसहित ट्राभल एजेन्सी सञ्चालक बालकृष्ण ढकाल तथा भिजिट भिसाको पैसा व्यवस्थापन गर्ने खगेन्द्र सुवेदी र कविता पौडेललाई पनि आयोगले नियन्त्रणमा लिई सोधपुछ गरेर हाजिरी जमानीमा छाडेको छ । उनीहरूको पनि मोबाइल प्रहरीले नियन्त्रणमा लिएर परीक्षणमा पठाएको छ । उनीहरूको खातामा महिनामै करोडौँ लेनदेन हुने गरेको थियो । उनीहरूले सो पैसा निकालेर सहसचिव भट्टराईलाई घरमै लगेर बुझाउने गरेको स्रोत बताउँछ । यस्तो धन्दा संस्थागत र संगठित शैलीको भएको अख्तियारका अधिकारीहरूले बताएका छन् । छानबिन छल्नकै लागि तह–तह बनाएर आर्थिक लेनदेन हुने गरेको थियो । 

अख्तियारले अन्डरकभर अपरेसन चलाएर प्रमाणहरू संकलन गरी सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको थियो । उनीमाथि निगरानी भइरहेको सूचना पाएपछि गृह मन्त्रालयले सोही दिन उनलाई हटाउने निर्णय गरेको थियो । तर, रमाना नलिँदै उनी पक्राउ परेका हुन् ।