१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १४ बुधबार
  • Thursday, 29 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १४ बुधबार o८:५६:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक चन्द्रकिशोरलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १४ बुधबार o८:५६:oo

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चीनमा एमाले नेताको हैसियतमा प्रस्तुत हुनुले के सन्देश दिन्छ ?
प्रत्येक सूचनाभित्र १० सूचना लुकेका हुन्छन् भनिन्छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि चीन भ्रमणमा एमाले नेता र मन्त्रीहरू लिएर जानुले अनेक सन्देश दिएका छन् । खासगरी उहाँले आफू एमालेको पार्टी राजनीतिमा आइसकेको कुरा देशभित्र रहँदा खुलेर भन्न सक्नुभएको थिएन । अहिले चीन भ्रमणमा रहँदा त्यसलाई खुलस्त पार्नुले विशेष अर्थ राख्छ । पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने कि नआउने भन्ने अनुमानहरू भइरहेका वेला उहाँले प्रस्ट सन्देश दिनुभएको छ । एमाले नेताको हैसियतमा भएको चीन भ्रमण पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको ‘सफ्ट समर्थन’को संकेत पनि हुन सक्छ । अथवा राजनीतिमा आफ्नो फिर्तीका लागि स्वयं भण्डारीको ‘हार्ड हिट’ को कोसिस पनि हुन सक्छ । 

राष्ट्रकै अभिभावक बनिसकेका पदाधिकारीको पार्टी राजनीतिमा हुने सहभागिता कति उचित मानिन्छ ?
यतिखेर माओवादीले पनि पूर्वउपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काएको छ । यता एमालेमा पनि केही अन्धसमर्थकहरूले पूर्वराष्ट्रपति भण्डारीलाई भिœयाउन सोही प्रयास गरिरहेका छन् । गणतन्त्रमाथि नै प्रश्न उठिरहेको समयमा देशलाई उज्यालो देखाउनुपर्ने राष्ट्रपति संस्था र व्यक्तिले नै हो । कुनै राजा, महाराजाले देशलाई जोड्न सक्दैनन् । देशलाई जोड्ने राष्ट्रकै अभिभावक बनेका यस्तै राजनेताहरूले हो । तर, उहाँहरू नै पार्टी राजनीतिमा फर्किन लालायित हुन थालेपछि त्यो सम्भावना साँघुरिन पुग्छ ।  

उहाँको यस्तो गतिविधिले भविष्यको नेपाली राजनीतिमा कस्तो प्रभाव पार्ला ?
यसले गर्दा राजनीतिले ‘लिक’ छाडेको या बाटो बिराएको जस्तो देखिनेछ । गणतन्त्रको दीर्घकालीन स्वास्थ्यका लागि राष्ट्रका साझा अभिभावक बनिसकेका व्यक्तिको पार्टी राजनीतिमा प्रवेशले क्यान्सरको काम गर्छ ।