१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १३ मंगलबार
  • Tuesday, 27 May, 2025
२o८२ जेठ १३ मंगलबार o८:४२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

युवा संघमा हुन सकेन मतदान, लम्बियो महाधिवेशन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १३ मंगलबार o८:४२:oo

पोखरामा जारी एमालेनिकट युवा संघको १०औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान प्रक्रिया रोकिएको छ । पार्टीको सर्वसम्मत गर्ने निर्देशनविपरीत निर्वाचन प्रक्रिया सुरु भएको थियो । तर, दुई दिन बितिसक्दा पनि मतदान प्रक्रिया अघि बढ्न सकेको छैन । एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न र हालका अध्यक्ष क्षितिज थेबेलाई दोस्रो कार्यकालका लागि अध्यक्ष बनाउन निर्देशन दिएका थिए । तर महाधिवेशन प्रतिनिधिहरूले निर्वाचनमार्फत नेतृत्व चयन गर्न पाउनुपर्ने भन्दै अडान राखेपछि निर्वाचन प्रक्रिया अघि बढेको थियो ।

आइतबारको सूचनाअनुसार उम्मेदवारी दर्ता गर्ने समय ६ बजेसम्म मात्र थियो, तर केही ढिलाइ हुँदा करिब ९:२० बजे मात्र मनोनयन दर्ताको काम सकिएको थियो । सूचनाअनुसार उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरीउपर छानबिन र निर्णय, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने काम आइतबार राति ८.१५ बजे सम्पन्न गर्ने र सोमबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदान गर्ने भन्ने थियो । तर, उम्मेदवारी दर्ताको काम मात्र गरेर अन्य काम अघि बढ्नै सकेन । सोमबार साँझ करिब पौने ७ बजेतिर मात्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । मुख्य निर्वाचन अधिकृत मदन तिवारीले सर्वपक्षीय बैठक बसेर आचारसंहिता तयार गरी मंगलबार बिहान ८ बजेबाट मतदानको प्रक्रिया सुरु गर्ने बताए ।

शुक्रबारदेखि सुरु अधिवेशनमा सोही दन बन्द सत्र सुरु भएको थियो । केन्द्रले पठाएको नयाँ नेतृत्वको नाम पढेर सुनाउने तयारी गरेपछि प्रतिनिधिहरूले त्यसको विरोध गरेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । शनिबार साँझदेखि निर्वाचनको माग गर्दै नाराबाजी गरे पनि आइतबार साँझ आएर मात्र निर्वाचन प्रक्रिया सुरु गर्न निर्वाचन समिति बाध्य भएको थियो । हालकै अध्यक्ष थेबेलाई अध्यक्ष बनाउने तयारी पार्टीले गरेपछि सुमन पुरी पक्षधरसँगै अन्यले त्यसको विरोध गर्दै निर्वाचनको माग राख्दै नाराबाजी गरेका थिए । 

अध्यक्षका लागि हालका अध्यक्ष क्षिजित थेबे र महासचिव सुमन पुरीले उम्मेदवारी दर्ता गरेका छन् । थेबे प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली पक्षका हुन् । उनलाई सर्वसम्मत अध्यक्ष बनाउने ओलीको अडानका कारण मतदान प्रक्रिया रोकिएको प्रतिनिधिहरूको आरोप छ । पुरीलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन छ । पार्टी अध्यक्षले थेबेलाई अध्यक्षमा दोहोर्‍याउने तयारी गरेपछि भण्डारी पक्षले पुरीलाई साथ दिएको हो । आइतबार सकिने भनेको महाधिवेशन निर्वाचन प्रक्रिया अवरुद्ध हुँदा लम्बिएको छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट दुई हजारजना प्रतिनिधि पोखरा आएका छन् । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव, उपमहासचिव र चार सचिव गरी नौजना पदाधिकारीसँगै एक सय ५१ सदस्यीय नयाँ समिति निर्वाचित गर्नेछ । सँगै निर्वाचन, अनुशासन, युवाविज्ञ र लेखा आयोगका लागि अध्यक्ष, उपाध्यक्ष र सचिव निर्वाचनमार्फत चयन हुनेछन् ।