
साताव्यापी चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक कार्यक्रमको सम्बोधन र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँगको भेटवार्तामा एमाले नेताका रूपमा प्रस्तुत भएकी छिन् । राष्ट्रपतिबाट बिदा भएपछि पहिलोपटक भण्डारीले एक अन्तर्राष्ट्रिय मञ्चबाट आफूलाई एमाले नेताका रूपमा चीनमा प्रस्तुत गरेकी हुन् ।
सोमबार सिपिसी अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद सम्मेलनलाई उनले एमाले नेताका रूपमा सम्बोधन गरिन् । सोमबार नै सिपिसी अन्तर्राष्ट्रिय विभागका प्रमुख (मन्त्री) लिउ जियान्चाओसँगको भेटवार्तामा पनि पूर्वराष्ट्रपति भण्डारीको प्रस्तुति एमाले शीर्ष नेताका रूपमा थियो ।
चिनियाँ नेता लिउले पनि नेपालको राजनीतिक स्थिरताका लागि भण्डारीको अगुवाइमा वामपन्थी पार्टीहरूबिच सहकार्य र एकताका लागि प्रोत्साहित गरेका थिए । भण्डारीले वामपन्थी एकता र सहकार्यका लागि आफूले प्रयास गरिरहेको बताएकी थिइन् ।
पूर्वराष्ट्रपति भण्डारीले ‘आफूलाई निमन्त्रणा गरेकोमा सिपिसीलाई एमाले र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु’ भनेर सम्बोधन थालेकी थिइन् । सम्बोधनमा उनले पटकपटक एमाले र सिपिसीबिचको सम्बन्ध एवं सहकार्यबारे स्वर्गीय मदनकुमार भण्डारीदेखि अहिलेसम्मको चर्चा पनि गरिन् ।
स्वर्गीय भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाददेखि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले अहिले गरेको समृद्ध नेपाल सुखी नेपालीको प्रसंग पनि उनले उल्लेख गरेकी थिइन् । उनले एमाले र सिपिसीबिच विचार, व्यवहार र रणनीतिक सम्बन्ध रहेको उल्लेख पनि गरेकी थिइन् ।
पूर्वराष्ट्रपतिको भन्दा एमाले नेताको रूपमा भण्डारीको सम्बोधन आएपछि चिनियाँ अधिकारीहरूले पनि चर्चा गरेका थिए । पूर्वराष्ट्रपति भण्डारीले चीन र छिमेकका पार्टीहरूबिच नीति संवादका लागि संस्थागत संरचना बनाउनुपर्ने, विषयगत संवाद अभिवृद्धि हुनुपर्ने र युवा नेताहरूबिच भ्रमण तथा अनुभव आदान–प्रदान बढाउनुपर्र्ने सुझाव दिएकी थिइन् ।
चिनियाँ कम्युनिस्ट पार्टीले छिमेकी देशहरूसँग सम्बन्धमा जोड दिने गरी गत अप्रिलमा ८ र ९ मा छलफल आयोजना गरेको थियो । सन् २०१३ मा पहिलोपटक र यो वर्ष आयोजना गरेको छलफलका आधारमा छिमेकका पार्टी नेताहरूसँग सिपिसीले अन्तरक्रिया गरेको थियो । यसलाई पूर्वराष्ट्रपति भण्डारीले एसियाको पुनर्जागरण भनेकी थिइन् ।
विश्वको शक्ति सन्तुलन एसियातिर सरेको सन्दर्भमा भण्डारीले एसियालाई अब शान्तिको प्रवक्ता, आपसी सहयोगको केन्द्र र विकासको इन्जिन बनाउनुपर्ने बताएकी थिइन् । देशहरू भिन्न अस्तित्वमा रहे पनि विकासका सन्दर्भमा भिन्नभन्दा पनि अभिन्न हुनुपर्ने उनको भनाइ थियो ।
वामपन्थी पार्टीहरूबिच सहकार्य र एकतामा लिउको जोड
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागका प्रमुख (मन्त्री) लिउ जियान्चाओले वामपन्थी पार्टीहरूबिच एकतामा जोड दिएका छन् । सोमबार बेइजिङमा पूर्वराष्ट्रपति भण्डारीसँगको भेटवार्तामा चिनियाँ नेता लिउले नेपालको राजनीतिक स्थिरताका लागि भण्डारीको अगुवाइमा वामपन्थी पार्टीहरूबिच सहकार्य र एकताका लागि प्रोत्साहित गरेका हुन् ।
सिपिसीको नेपालमा कांग्रेसलगायत सबै पार्टीसँग सम्बन्ध रहेको र सहकार्य भइरहेको उल्लेख गर्दै लिउले राजनीतिक स्थिरताका लागि नेपालमा वाम पार्टीहरूबिच सहकार्य र एकता हुनुपर्ने दोहोर्याएका हुन् । चिनियाँ नेताहरूले यसअघि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पछिल्लो चीन भ्रमणमा पनि वामपन्थी पार्टीबिच एकता र सहकार्यमा जोड दिएका थिए ।
एक घण्टाभन्दा बढी समयको भेटमा चिनियाँ नेता लिउले भण्डारीलाई पटकपटक नेपालका वरिष्ठ नेता भन्दै सम्बोधन गरेका थिए । नेपालमा वामपन्थी पार्टीहरूबिच एकताका लागि नेतृत्वदायी भूमिका रहोस् भन्ने लिउको स्पष्ट भनाइ थियो ।
‘नेपालको सर्वांगीण विकासका लागि वामपन्थी र अन्य दलहरू पनि एक ठाउँमा आउनुपर्छ भन्ने सन्देश थियो,’ सहभागी नेता कर्णबहादुर थापाले नयाँ पत्रिकासँग भने, ‘भण्डारीले वामपन्थी एकता र सहकार्यका लागि आफूले प्रयास गरिरहेको बताउनुभयो ।’
भेटवार्तामा सहभागी नेताहरूका अनुसार लिउले वामपन्थी एकतामा जोड मात्र दिएनन्, जनताकेन्द्रित भएर काम गर्नुपर्ने सुझाव पनि दिएका थिए । वामपन्थी दलहरूलाई विशेष गरी नेपालको विकासमा केन्द्रित हुन उनको सुझाव थियो ।
चिनियाँ नेता लिउले एमाले र सिपिसीबिच सम्बन्ध अघि बढाउन भण्डारीका पति एमालेका तत्कालीन नेता मदनकुमार भण्डारीको योगदानको चर्चा गरेका थिए । उनले नेपाली विशेषतासहितको जनताको बहुदलीय जनवादको चर्चा गरेका थिए ।
नेपालमा राजसंस्था पुनर्स्थापनाका नाममा भइरहेका गतिविधिलाई लक्षित गर्दै लिउले नेपालको विकास र स्थिरतामा जोड दिँदै यसका लागि राजनीतिक दलहरू सक्षम रहेको बताएका थिए । नेपालको शान्ति र राजनीतिक स्थिरता चीनको प्राथमिकतामा रहेको उल्लेख गर्दै लिउले नेपालसँगको सम्बन्ध चीनको उच्च प्राथमिकतामा रहेको बताएका थिए ।
भण्डारीमार्फत लिउले नेपाल र चीनबिच विगतमा भएका सम्झौताको कार्यान्वयनमा भएको विलम्बप्रति नेपाल सरकारप्रति चासो राखेका थिए । भण्डारीले विगतमा भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको र चिनियाँ चासो सम्बोधन गर्न प्रयास गर्ने जवाफ दिएकी छिन् ।
नेपालमा चिनियाँ व्यवसायी तथा ठेकेदार निरुत्साहित भएको पनि उनको गुनासो थियो । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन प्रकरणप्रति लक्षित गरेका थिए । बिआरआई फ्रेमवर्क एग्रिमेन्टअन्तर्गतका १० परियोजना कार्यान्वयनमा विलम्ब भएको तर्फ उनले पूर्वराष्ट्रपति भण्डारीको ध्यानाकर्षण गराएका थिए ।
चिनियाँ नेता लिउसँगको भेटमा पूर्वराष्ट्रपति भण्डारीसँग एमाले सचिव तथा परराष्ट्र विभाग प्रमुख रहेका पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापा, एमाले सांसद देवी भट्टचन, एमाले नेतृ एवं पूर्वसांसद गोमा देवकोटा, स्वर्गीय मदन भण्डारीका भाइ डा. कैलाश भण्डारी, भण्डारी राष्ट्रपति हुँदाका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी र सार्वजनिक प्रसारण संस्थानका अध्यक्ष डा. महेन्द्र विष्टलगायत सहभागी थिए । लिउसँग चिनियाँ कम्युनिस्ट पार्टीको एसिया हेर्ने उपप्रमुख सुन हाइयान तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारी पनि सहभागी थिए ।
जानकारका अनुसार नेपालको स्थिरताका लागि वामपन्थी दलहरूबिच सहकार्य र एकताबारे चिनियाँ पक्षले विगतदेखि नै परोक्ष रूपमा सुझाव दिँदै आएको छ । बेइजिङमा रहेका नेपाल–चीन सम्बन्धका विज्ञ एवं प्रधानमन्त्रीका तत्कालीन परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटाले वामपन्थी दलहरूबिच एकता र सहकार्यप्रति चीनको सद्भाव रहँदै आएको, तर तत्कालै सम्भव नभएको बताए ।
‘नेपालको स्थिरताका लागि वामपन्थी दलहरूबिच सहकार्य र एकताबारे चिनियाँ पक्षले विगतदेखि नै परोक्ष रूपमा सुझाव दिँदै आएको छ । यद्यपि, अहिलेको वस्तुगत अवस्थाचाहिँ वामपन्थी पार्टीहरूबिच तत्कालै सहकार्य वा एकताका लागि अनुकूल देखिँदैन,’ सापकोटाले भने ।
चिनियाँ नेता लिउ : चीन छिमेकी देशहरूको साझा घर, भारतसँग सहकार्यको चाहना
सिपिसी विदेश विभाग प्रमुख लिउ जियान्चाओले छिमेकका पार्टीहरूसँगको संवादलाई सम्बोधन गर्दै चीन छिमेकीहरूको साझा घर भएको बताएका छन् । अहिलेको जटिल विश्व परिस्थितिमा असल छिमेक सम्बन्धले सबैलाई हित गर्ने उनको भनाइ थियो ।
अर्को प्रसंगमा लिउले चीनले छिमेकी देशहरूलाई आवश्यक उत्पादन निर्यात गर्ने, तर चिनियाँ राजनीतिक प्रणाली र विचारधारा निर्यात नगर्ने बताए । ‘हामी अरूलाई चाहिने उत्पादन बिक्री गर्छौँ । तर, राजनीतिक प्रणाली बिक्रीका लागि होइन । हाम्रा अनुभवहरू साझा गर्छौँ, कसैलाई जबर्जस्ती लाद्दैनौँ । संवाद गर्न चाहनेहरूसँग हाम्रा अनुभव र विचार सुनाउँछौँ,’ लिउले भने ।
उनले छिमेकी देशहरूसँग सहकार्यको पहिलो प्राथमिकता सुरक्षा रहेको पनि बताए । ‘हामी सुरक्षित छिमेक चाहन्छौँ, यसका लागि सुरक्षा अपरिहार्य छ । शान्तिपूर्ण विदेश नीतिमार्फत हामी छिमेकी देशहरूको शान्तिपूर्ण विकासको बाटोलाई सहयोग गर्छौँ । छिमेकको शान्ति र स्थायित्व हाम्रो जिम्मेवारी पनि हो । तर, हामी कुनै पनि प्रकारको प्रभुत्व लाद्ने कल्पना पनि गर्दैनौँ,’ लिउले भने ।
लिउले पारस्परिक रणनीतिक विश्वासका लागि चीनले छिमेकी देशका दलहरूसँग सहकार्य चाहेको पनि बताए । छिमेकी देशका नागरिकलाई भिसा फ्री, भुक्तानी प्रणाली सहज बनाउने तथा पारस्परिक हवाई उडानहरू सहज बनाउने चिनियाँ नीति पनि उनले सुनाए । उनले भारतसँगको सम्बन्ध सुमधुर बनाउन चाहेको पनि बताए ।
उनले सुरक्षित र सम्पन्न छिमेक चीनको प्राथमिकतामा रहेको उल्लेख गर्दै अमेरिकी हिन्द प्रशान्त रणनीतिको विरोध गरे । ‘हिन्द प्रशान्त रणनीतिप्रति हामी सतर्क छौँ, यो हामीविरुद्ध छ । हामी प्रशान्त क्षेत्र, दक्षिण एसियाली देशहरूसँग सहकार्य गर्न तयार छौँ, तर हिन्द प्रशान्त रणनीति मान्दैनौँ,’ उनले भने ।