
गणतन्त्र दिवसको अवसरमा १५ जेठमा कोशी प्रदेश सरकारले कन्सर्ट आयोजना गर्ने भएको छ। प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा विराटनगरमा कलाकारहरूलाई ल्याएर कन्सर्ट आयोजना गर्न लागेको हो।
महेन्द्र चोकमा अपराह्न ३ बजे हुने कन्सर्टमा गायिकाहरू रचना रिमाल, गंगा गौतम, अञ्जु गौतम, सृष्टि हिङ्माङ र गायक सुमित खड्काको प्रस्तुति रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। यस्तै, कार्यक्रममा नेपाल प्रहरीको ब्यान्डको पनि प्रस्तुति रहनेछ। राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरू कन्सर्टमा प्रस्तुत हुने मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार बिक्रम लुइँटेलले जानकारी दिए।
गणतन्त्र दिवसकै अवसरमा १४ जेठमा संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि, अवसर सम्भावना र चुनौती विषयक अन्तर्क्रिया आयोजना गरिएको मूल समारोह समितिले जनाएको छ। कार्यक्रममा एमालेका प्रदीप ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्ने तथा कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल र माओवादीका नेता हरिबोल गजुरेलले टिप्पणी गर्ने बताइएको छ।
मुख्यमन्त्रीको अध्यक्षतामा रहेको गणतन्त्र दिवस प्रदेशस्तरीय मूल समारोह समितिले १५ जेठमा रोडषेश चोकबाट महेन्द्र चोकसम्म प्रभातफेरी गर्ने, सोही दिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पत्रकार सम्मान तथा निबन्ध प्रतियोगिताका विजेतालाई सम्मान गर्ने र अपराह्न कन्सर्ट आयोजना गर्ने तय गरेको छ। यसअघिका गणतन्त्र दिवसमा जस्तो दिपावली गर्ने, सरसफाइ गर्ने, गणतन्त्रको उपलब्धिबारे छलफल गर्नेजस्ता कार्यक्रम भने यसपटक हटाएर कन्सर्ट आयोजना गर्ने नयाँ कार्यक्रम राखिएको हो।
यसअघि संविधान दिवसको अवसरमा गत ३ असोजमा संघीय सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा काठमाडौंको दरबारमार्गमा कन्सर्ट आयोजना गरेको थियो।