
एकपटक एक पोथी उल्लुले गरुडलाई विशेष उपकार गर्यो । बदलामा गरुडले उसका बच्चालाई कहिल्यै कुनै हानि नपुर्याउने वाचा गर्यो । पोथी उल्लुले सोध्यो– तपाईंले कसरी ती मेरै बच्चा हुन् भनेर चिन्नुहुन्छ ? आखिर सबै उस्तै त देखिन्छन् नि !
गरुडले भन्यो– त्यसो भए तिमी नै भन न त, आखिर तिम्रा बच्चा कस्ता छन् ? पोथी उल्लुले गर्वले छाती तन्काउँदै भन्यो– मेरा बच्चा निकै मुलायम छन् । छुँदै माया लाग्ने खालका छन् । सबैभन्दा महत्वपूर्ण, ती संसारमै सबैभन्दा सुन्दर छन् । यति सुन्दर कि तपाईंले यसअघि त्यति सुन्दर बच्चा कहिल्यै देख्नुभएको छैन होला ।
एक दिन गरुडले एउटा रुखमा चराको गुँड देख्यो । गुँडमा ससाना बच्चा चिर्बिराइरहेका थिए । तिनलाई देखेर गरुड एकैछिन रोकियो । उसले तिनलाई राम्ररी हेरिसकेपछि मनमनै भन्यो– त्यो पोथी उल्लु त उसका बच्चा दुनियाँकै सबैभन्दा सुन्दर छन् भन्दै थियो । हेर्दै यति घिनलाग्दा बच्चा त पक्कै पनि उसका होइनन् । यिनलाई आहारा बनाउँदा केही फरक पर्दैन । यति भनेर उसले ती बच्चालाई आफ्नो आहारा बनायो र पेट भरिएपछि बाटो लाग्यो ।
पोथी उल्लु जब आफ्नो गुँडमा पुग्यो, तब उसले आफ्ना प्राणप्यारा बच्चाको दुर्दशा देख्यो । ऊ धर्धरी रुन थाल्यो । उसले मनमनै भन्यो– मसँग त्यस्तो प्रतिज्ञा गर्दागर्दै पनि त्यो गरुडले मेरा त्यति सुन्दर बच्चालाई कसरी खान सकेको होला ? केहीबेरमै गरुड पनि त्यहीँ आइपुग्यो । पोथी उल्लुले गुनासो गर्दै भन्यो– आखिर तपाईंले मलाई यस्तो झुटो वचन किन दिनुभएको थियो ? के तपाईंले त्यो वचन बिर्सिनुभयो ? छक्क पर्दै गरुडले भन्यो– तिमीले त तिम्रा बच्चा दुनियाँकै सबैभन्दा सुन्दर छन् भनेका थियौ । तर, यी बच्चा त हेर्दै घिनलाग्दा थिए त !
पोथी उल्लुले शान्त हुँदै भन्यो– कुनचाहिँ आमालाई आफ्ना बच्चा दुनियाँकै सबैभन्दा सुन्दर लाग्दैनन्, होला ? मलाई बताउनुहोस् त !