१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १२ सोमबार
  • Tuesday, 27 May, 2025
जेम्स क्र्याबट्री
२o८२ जेठ १२ सोमबार १o:४१:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

राजनीतिज्ञ र उद्योगपतिबिचको साँठगाँठमा लुकेको स्वार्थ

पछिल्ला दशकमा भारतका राजनीतिज्ञ र औद्योगिक दिग्गजबिचको नाजायज सम्बन्ध बलियो हुँदै गएको छ 

Read Time : > 3 मिनेट
जेम्स क्र्याबट्री
नयाँ पत्रिका
२o८२ जेठ १२ सोमबार १o:४१:oo

सन् २०२४ को अप्रिलमा विश्वका टेक अर्बपति एलन मस्कले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने र विद्युतीय कार निर्माता कम्पनी टेस्लाले भारतमा अर्बौँ डलर लगानीको घोषणा गर्ने कार्यक्रम थियो । तर, उनले अन्तिम समयमा भारत भ्रमण रद्द गरे र चीनतर्फ प्रस्थान गरे । मस्कको सोच परिवर्तनले दुःखित भारतीय सञ्चार माध्यममा आक्रोशको बाढी छायो । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा एक शक्तिको रूपमा उनको उदय हुनुभन्दा पहिले नै भएको यस घटनाले एसियाका उदीयमान औद्योगिक दिग्गजका लागि एक सम्मानित कूटनीतिज्ञको रूपमा मस्कको असामान्य भूमिकालाई पनि प्रकाश पार्‍यो । 

अमेरिकासँगको सम्बन्धबाट भारतले चाहेको धेरैजसो विषयलाई मस्कले मूर्त रूप दिन्छन् : ठुलो लगानीको सम्भावना, बहुमूल्य प्रविधि स्थानान्तरण र अब ह्वाइटहाउसमा नयाँदिल्लीसँगको सञ्चार संवाहकको माध्यम । तर, फरक तरिकाले हेर्दा, अर्बौँ डलरका मालिकसँगको सम्बन्धले भारतले उदीयमान अमेरिकी आर्थिक मोडेललाई बुझ्ने अवसर पाउँछ, जसमा मस्कजस्ता टाइकुनले औद्योगिक नीतिको सहयोगीको रूपमा त काम गर्छन् नै त्यसबाहेक राजनीतिक शक्तिको वाहक पनि बन्छन् ।

पछिल्ला दशकमा भारतका राजनीतिज्ञ र औद्योगिक दिग्गजबिचको सम्बन्ध झन् बलियो हुँदै गएको छ । राष्ट्रिय जीवनका लगभग हरेक क्षेत्रमा संलग्न मुकेश अम्बानी र गौतम अडानीजस्ता अर्बपतिहरू विशाल कर्पोरेट साम्राज्यको शीर्ष स्थानमा छन् । देशका यी प्रसिद्ध उद्यमी जोडीका लागि सामूहिक स्वामित्व आकर्षक रहँदै आएको छ । अम्बानी र अडानी फोब्र्सको अर्बपतिको सूचीमा अटाएका एसियाका दुई धनाढ्य पुरुष हुन् । फोब्र्सले सन् २०२५ का लागि सार्वजनिक गरेको विश्वका अर्बपतिको सूचीमा अम्बानी र अडानी क्रमशः १८औँ र २८औँ स्थानमा छन् । अम्बानीको ९२ दशमलव पाँच अर्ब डलर रहेको छ भने अडानीसँग ५६ दशमलब तीन अर्ब डलर छ । 

मोदीको शासनकालमा सरकार र अति धनीबिचको सम्बन्ध राजनीतिक रूपमा बढी नियन्त्रित र निर्देशित छ । व्यक्तिगत रूपमा पूर्वप्रधानमन्त्री मनमोहन सिंहजस्तै मोदी पनि इमानदारिताका लागि प्रख्यात छन् । देशमा भ्रष्टाचारका घटना देखिए पनि ठुला सार्वजनिक घोटालाको संख्या भने नाटकीय रूपमा घटेको छ। 

भारतमा राजनीतिज्ञ र व्यावसायिक नेताबिचको आर्थिक साँठगाँठ सामान्य छ । उदाहरणका लागि प्रमुख विपक्षी नेता राहुल गान्धीले गत वर्षको आमचुनावमा यस विषयलाई आफ्नो अभियानको प्रमुख मुद्दा बनाएका थिए । यद्यपि, निर्वाचनमा मोदीले सहजै जित हात पारे ।तर, सन् २०१४ मा मोदी प्रधानमन्त्रीमा निर्वाचित भएदेखि भारतीय सरकार र त्यहाँका उद्योगपतिबिचको सम्बन्धमा परिवर्तन आएको छ । मेरो पुस्तक द बिलियनेयर राजमा मैले सन् २००० र २०१० को दशकको सुरुवातमा व्याप्त भ्रष्टाचार र नातावादको युगको विवरण उल्लेख गरेको छु । कमजोर, तर इमानदार प्रधानमन्त्री स्वर्गीय मनमोहन सिंहले ‘घोटालाको मौसम’ भनेर चिनिने उक्त युगको अध्यक्षता गरे, जहाँ अर्बौँ डलरका असंख्य भ्रष्टाचारका घोटाला एकपछि अर्को पर्दाफास भए ।

त्यतिवेला पनि भारतको नातावाद परिष्कृत थियो र खैरो खाम वा मोटा सुटकेसमा नगद भरेर दिइने कच्चा घुसबाट धेरै टाढा थियो । अर्थात्, अप्रत्यक्ष ढंगबाटै व्यापारी र राजनीतिज्ञबिच ठुलो लेनदेन हुन्थ्यो । तैपनि, भ्रष्टाचार भने व्यापक रूपमा नियन्त्रणबाहिर रहेको मानिन्थ्योः सिंहको सरकारमा धेरै राजनीतिक नेताहरू कसरी दूरसञ्चार नियमनदेखि कोइला वा फलामजस्ता खनिजहरूको इजाजतपत्रसम्मका क्षेत्रमा घोटालामा संलग्न भएको आरोप लगाइएको थियो भन्ने बारेमा भारतीय व्यापारीनिकट एक पर्यवेक्षकले एकपटक मलाई भनेका थिए, ‘प्रत्येक क्याबिनेट मन्त्री एक स्वतन्त्र उद्यमी थिए ।’

मोदीको शासनकालमा, सरकार र अति धनीबिचको सम्बन्ध राजनीतिक रूपमा बढी नियन्त्रित र निर्देशित छ । व्यक्तिगत रूपमा पूर्वप्रधानमन्त्री मनमोहन सिंहजस्तै मोदी पनि इमानदारीका लागि प्रख्यात छन् । भ्रष्टाचारका घटना देखिए पनि ठुला सार्वजनिक घोटालाको संख्या भने नाटकीय रूपमा घटेको छ ।भारतको मोडेल पूर्वी र दक्षिणपूर्वी एसियामा हालैका दशकहरूमा सामान्य रूपमा देखिने क्रोनी क्यापटिलिजमजस्तै देखिन थालेको छ । उदाहरणका लागि १९८० को दशकमा मलेसियाली प्रधानमन्त्री महाथिर मोहम्मदको नेतृत्वमा वा १९७० को दशकमा दक्षिण कोरियामा राष्ट्रपति पार्क चुङ–हीको तीव्र वृद्धि र निरंकुश शासनको अवधिमा उद्योगपति र सरकारी अधिकारीबीच हुने गरेको बलियो आर्थिक साँठगाँठ । मोडेल यो हो कि चुनिएका प्लुटोक्र्याटहरूले (पुँजीवादीहरूले) आफ्ना देशलाई राष्ट्रिय विकासका लागि आवश्यक पर्ने विमानस्थल, भवन र दूरसञ्चार नेटवर्क निर्माण गरेको बदलामा राजनीतिक नेताहरूसँग पारस्परिक रूपमा अनुकूल सम्बन्ध विकास गर्छन् ।

राजनीतिज्ञहरूले शक्तिशाली अर्बपतिहरूसँग काम गर्नुको कारण भनेको नेताहरूको सहयोगले उनीहरूले छोटो समयमा ठुला काम छिटो छरितो सम्पन्न गर्न सक्छन् । अनि यदि उद्योगपतिहरूको राजनीतिक सम्बन्धले, उनीहरूको व्यवसायमा व्यक्तिगत रूपमा आर्थिक लाभ प्रदान गर्छ भने (भारतको घोटालाको मुख्य सिजनमा प्रायः यस्तै हुन्छ ) मात्र त्यो स्वीकार्य व्यापार मानिन्छ ।

ट्रम्प प्रशासनमा मस्कले खेल्ने भूमिका अभूतपूर्व छ । उच्च राजनीति, औद्योगिक नीति, र बढ्दो अन्तर्राष्ट्रिय मामिलामा उनको योगदानलाई कम आकलन गर्न मिल्दैन । पक्कै पनि भारतमा कुनै पनि उद्योगपतिले मस्कले जस्तो यति बृहत् वा विश्वव्यापी रूपमा हाई प्रोफाइलको पद प्राप्त गर्दैन । तर, एक अर्थमा, अमेरिका र भारतको वास्तवमा एउटै विन्दुमा मिलन हुनेछ ः मोदीको नेतृत्वमा भारतीय क्रोनी पुँजीवाद कम अराजक र बढी व्यवस्थित छ भने ट्रम्पको नेतृत्वमा संयुक्तराज्य अमेरिका अर्को बाटोमा अघि बढिरहेको छ । खुला बजार र निष्पक्ष प्रतिस्पर्धामा सफल अमेरिकी प्रणालीलाई ट्रम्पनिकट उद्योगपतिहरूले अनुकूल लाभको आनन्द लिने प्रणालीको रूपमा विकसित गरिएको छ । अन्तर्राष्ट्रिय मामिला र आर्थिक नीति दुवैमा अमेरिका नियममा आधारित दृष्टिकोणबाट पछाडि हटिरहेको छ ।

अवश्य पनि, अर्बपति र राजनीतिज्ञ गठबन्धनका दीर्घकालीन समस्या छन् । यस्तो सहयोगले जस्तो सुकै जोखिम पनि निम्त्याउन सक्छ । यस्तै, जोखिम हो कलहको खतरा । यदि ट्रम्पको आर्थिक व्यवस्थापन मोडेलमा राजनीतिक रूपमा निकटव्यावसायिक नेताहरूसँग सम्झौता गरिएको छ र उनी पछि ती व्यावसायिक नेताहरूबाट बाहिरिए भने त्यो मोडेल भत्किन्छ । औद्योगिक र राजनीतिक अभिजात वर्गको कुशल सहयोगमा निर्भर प्रणाली अत्यधिक जोखिमपूर्ण हुन्छ किनकि त्यहाँ अनिवार्य रूपमा झगडा देखापर्नेछ ।

बढ्दो रूपमा निरकुंश संसारभर (चाहे भारत, चीन, रुस, वा ट्रम्पको अमेरिकामा किन नहोस्) अर्बपति टाइकुनहरू सार्वजनिक कल्पनामा ऐन रान्ड उपन्यासका अनियन्त्रित नायकजस्तै देखिए पनि वास्तविकता यो हो कि व्यापारिक नेताहरू सामान्यतया बिन्तीकर्ता हुन् । आफ्नो सबै शक्तिका लागि अडानी र अम्बानी मोदीदेखि निकै सतर्क रहन्छन्, जसरी ज्याक मा चिनियाँ राष्ट्रपति सी जिनपिङबाट वा कुनै रुसी कुलीन व्यक्ति राष्ट्रपति भ्लादिमिर पुटिनदेखि सावधान हुनेछन् । मस्कले पनि हालैका अन्तर्वार्तामा ट्रम्पप्रति विशेष सम्मान व्यक्त गरेका छन्, यस्तो देखिन्छ कि उनको विशेषाधिकार प्राप्त पद कुनै पनि क्षणमा खारेज हुन सक्छ । अन्ततः, निरंकुश र टाइकुनबिचको सम्बन्धमा निरंकुशले वास्तविक शक्तिमाथि पकड कायम राख्छ ।

कम्तीमा भारतमा यो तर्क गर्न सकिन्छ कि आंशिक रूपमा राम्रोका लागि अर्थतन्त्र परिवर्तन हुँदै छ । अराजक र स्वार्थी नातावादको रूपमा सुरु भएको कुरा केही हदसम्म अझ कुशल र कम व्यापक रूपमा भ्रष्ट बन्न पुगेको छ । अन्ततः सायद थप नियममा–आधारित बजार प्रणाली देखा पर्नेछ । ट्रम्प र मस्कको नेतृत्वमा संयुक्तराज्य अमेरिका क्लेप्टोक्रेसीबाट टाढा हुनुको सट्टा झन् त्यसतर्फ बढिरहेको छ । डर यो छ कि अमेरिकी घोटालाको मौसम धेरै टाढा हुने सम्भावना छैन ।
–फरेन पोलिसीबाट