
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सुरुवातमै सेयर बजारप्रति उदार नीति अवलम्बन गरेका छन् । आइतबार गरिएको मौद्रिक नीति ०८१/२ को तेस्रो त्रैमासिक समीक्षामार्फत उनले सेयर धितो कर्जा प्रवाह गर्दा कायम राख्नुपर्ने जोखिमभार एक सय २५ प्रतिशतबाट एक सय प्रतिशतमा झारेका हुन् ।
हालसम्म सेयर धितोबापत कर्जा प्रवाह गर्दा १२५ प्रतिशतसम्म पुँजीमा जोखिम गणना गर्नुपर्ने व्यवस्था थियो । तर, उक्त दर सय प्रतिशतसम्म झारेसँगै आउँदा दिनमा जोखिमभार कम हुने भएपछि पुँजीको दायित्व कम भएर सेयर धितो कर्जा प्रवाह बढाउन मद्दत मिल्नेछ । यो व्यवस्थाले सेयर धितो बैंकबाट कर्जा लिन चाहने लगानीकर्तालाई सहज भएको छ भने बैंकले प्रवाह गर्ने सेयर कर्जा थप बढ्ने आकलन गरिएको छ ।
राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार ०७८ सालसम्म सेयर धितोको जोखिमभार सय प्रतिशत थियो । तर, त्यसपछि पुँजी बजारमा प्रवाह हुने कर्जालाई कडाइ गर्ने नीति अवलम्बन गर्दै जोखिमभार १५० प्रतिशतसम्म पुर्याइएको थियो । चैत मसान्तसम्म सेयर धितो कर्जाबापत बैंक तथा वित्तीय संस्थाले एक खर्ब २४ अर्ब रुपैयाँ प्रवाह गरिसकेका छन् । नयाँ व्यवस्थाले सेयर कर्जा थप वृद्धि हुनेछ ।
न्यूनतम दैनिक अनिवार्य नगद मौज्दातको सीमा वृद्धि
चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षाले लिएको सजगतापूर्वक लचिलो कार्यदिशालाई मध्यावधि समीक्षासम्म यथावत् राखिएको थियो । तर, नयाँ गभर्नरका रूपमा डा. पौडेल आएपछि तेस्रो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले आफ्नो कार्यदिशालाई सजगतापूर्वक सन्तुलित बनाएको छ । प्रवक्ता पौडेलले भने, ‘आर्थिक परिदृश्यलाई मध्यनजगर गर्दै हामीले विगतको सजगतापूर्वक लचिलोबाट सन्तुलित बनाएका छौँ ।’
त्यस्तै, बैंक तथा वित्तीय संस्थाले दैनिक ७० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने सीमा बढाएर ९० प्रतिशत पु¥याइएको छ । यसले तरलता व्यवस्थापन सहज बनाउने प्रवक्ता पौडेलको भनाइ छ । विद्यमान तरलताको अवस्था र पछिल्लो समय बैंकले खुला बजार कारोबार उपकरणहरूमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरूले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिएको त्रैमासिक समीक्षा प्रतिवेदनमा उल्लेख छ ।
आगामी दिनमा बैंकहरूले दैनिक रूपमा ९० प्रतिशत नगद मौज्दात राख्नुपर्छ । यसो गर्दा बैंकहरूले सधैँ राष्ट्र बैंकमा पर्याप्त रकम राख्नुपर्ने हुन्छ । यसले बैंकको दायित्वमा थप कडाइ ल्याउँछ, जसले गर्दा आपत्कालमा बैंकसँग तुरुन्तै नगद उपलब्ध हुन्छ ।
आन्तरिक उत्पादन क्षमता उपयोगमा सुधार भइरहेको दाबी
अघिल्ला दुई आर्थिक वर्ष उत्पादनमूलक उद्योग, निर्माण र थोक तथा खुद्रा व्यापार उपक्षेत्रको वृद्धि ऋणात्मक रहेकामा चालू आर्थिक वर्षमा उक्त उपक्षेत्रहरूको वृद्धि धनात्मक रहने तथ्यांक कार्यालयको अनुमान छ । पर्यटक आगमनमा सुधार भएको केन्द्रीय बैंकले जनाएको छ । त्यस्तै, मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भनिएको छ, ‘थोक तथा खुद्रा व्यापारमा विस्तार आएको छ । चालू आर्थिक वर्षको नौ महिनामा मध्यवर्ती उपभोगका सामानको आयात १७.८ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १०.३ प्रतिशले घटेको थियो । यसबाट समेत आन्तरिक उत्पादन क्षमताको उपयोगमा सुधार हुँदै गएको देखिन्छ ।’
राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल भन्छन्– ०७८ असारसम्म सय प्रतिशत रहेको सेयर धितो कर्जाको जोखिमभार एक सय ५० प्रतिशतसम्म पुर्याइएको थियो । अहिले एक सय प्रतिशतमा झारिएको हो । आर्थिक परिदृश्यलाई मध्यनजगर गर्दै हाल सन्तुलित नीति बनाएका छौँ ।