१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १२ सोमबार
  • Tuesday, 27 May, 2025
टेकराज थामी काठमाडाैं
२o८२ जेठ १२ सोमबार o७:३६:oo
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

तीनकुने घटनामा साढे २० करोड बिगो दाबी, ६१ विरुद्ध मुद्दा दर्ता

दुर्गा प्रसाईं, रवीन्द्र मिश्र, धवलशमशेर राणासहित ५० जनाविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराध कसुरसहित पाँच मुद्दा

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १२ सोमबार o७:३६:oo

गत १५ चैतको तीनकुने घटनाका ६१ प्रतिवादीविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराध कसुरसहित झन्डै साढे २० करोड रुपैयाँको बिगोदाबीसहित अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा दुईवटा छुट्टाछुट्टै मुद्दा दर्ता गरेको हो । 

पहिलो मुद्दामा दुर्गा प्रसाईं, रवीन्द्र मिश्र, धवलशमशेर राणासहित ५० जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराध कसुरसहित पाँच मुद्दा लगाइएको छ । श्रवणकुमार लामा, समीर मगर, रविरञ्जनकुमार सिंहसहितका ११ जनाविरुद्ध आपराधिक उपद्रव मुद्दा मात्रै लगाइएको छ । प्रसाईं, मिश्र र राणासहितका ५० जनाविरुद्ध १९ करोड ६१ लाख ५२ हजार ६१७ रुपैयाँबराबरको बिगो दाबी गरिएको छ । अर्को मुद्दामा लामा, मगर, सिंहसहितका ११ प्रतिवादीविरुद्ध ७७ लाख ८९ हजार ३१८ रुपैयाँ मात्रै बिगो दाबी गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले तीनकुने घटनाका ६१ प्रतिवादीविरुद्ध छुट्टाछुट्टै दुईवटा मुद्दा अदालतमा दर्ता भएको बताए । ‘तीनकुने घटनामा दुईवटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन् ।पहिलोमा ५० र दोस्रोमा ११ जनालाई प्रतिवादी बनाइएको छ । ५० जनाविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराध कसुरमा मुद्दा दर्ता भएका छन् । बाँकी ११ जनाविरुद्ध भने आपराधिक उपद्रव कसुरअन्तर्गतको मुद्दा मात्रै लगाइएका छन्,’ उनले भने ।

तीनकुने हिंसात्मक घटनामा प्रहरीले १७० भन्दा धेरैलाई पक्राउ गरेको थियो । त्यसमध्ये अधिकांशलाई हाजिर जमानीमा छाडेको थियो । घटनामा संलग्नमध्ये १०८ विरुद्ध मुद्दा अभियोजन गरिनुपर्ने प्रहरीले सरकारी वकिल कार्यालयमा राय पेस गरेको थियो । त्यसमध्ये ६५ विरुद्ध मात्रै मुद्दा अभियोजन गर्ने निष्कर्षमा सरकारी वकिल कार्यालय पुगेको थियो । जसमध्ये चारजना नाबालक छन् । उनीहरूविरुद्ध सोमबार मुद्दा पेस हुने वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता काफ्लेले बताए । ‘घटनामा सबै गरी ६५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय भएको छ । चारजना नाबालक छन् । उनीहरूविरुद्ध सोमबार मुद्दा दर्ता हुन्छ । बाँकी ६१ विरुद्ध भने आइतबार नै मुद्दा दर्ता भएको छ,’ उनले भने ।

कसुर प्रमाणित भए पक्राउ परेकाविरुद्ध साढे सात वर्ष कैद र ७५ हजार रुपैयाँसम्मको जरिवाना हुन सक्नेछ । मुलुकी अपराध संहिता ऐन, २०७४ भाग २ को फौजदारी कसुर परिच्छेद १ मा राज्यविरुद्धको कसुरलाई व्याख्या गरिएको छ । उक्त ऐनको दफा ४९ को उपदफा ४ मा सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा प्रादेशिक अखण्डता, राष्ट्रिय वा राष्ट्रिय एकता, नेपालको स्वाधीनता, स्वाभिमान वा संघीय इकाइबिचको सुसम्बन्ध खलल पारिए राज्यविरुद्धको अपराध ठहरिन्छ ।

‘कसैले नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता वा राष्ट्रिय एकता, नेपालको स्वाधीनता, स्वाभिमान वा संघीय इकाइबिचको सुसम्बन्ध खलल पर्न सक्ने गरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरू कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै कामकारबाही गर्न वा गराउन वा त्यस्तो गर्ने उद्योग गर्न वा दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने षड्यन्त्र गर्न वा विभिन्न जात वा सम्प्रदायबिचको सुसम्बन्ध खलल गर्नु वा गराउनु हुँदैन,’ ऐनमा भनिएको छ । यदि कसैले ऐन उल्लंघन गरे कसुरदारलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्मको जरिवाना हुने भनिएको छ । 

 यी हुन् पाँचवटा कसुर चलाइएका ५० प्रतिवादी
दुर्गा प्रसाईं, हरिहर चौलागाईं, तारा राजवादी भनिने सरोज गौतम, सतिश न्यौपाने, अनुप राजवादी भनिने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सन्तोष राजवादी भनिने सन्तोषकुमार सिलवाल, भीम भनिने हेमराज थारू, रवीन्द्र मिश्र, डा. धवलशमशेर राणा, गोपाल मल्ल ठकुरी, पशुपति खड्का, विष्णु पराजुली, पुष्कर खतिवडा, मुनिन्द्र राजभण्डारी, कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दनबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, विष्णु बस्नेत, देवीप्रसाद संग्रौला, प्रेम थापामगर, ओमप्रकाश लुइँटेल, तेजेन्द्र रायमाझी, मनबहादुर काला, नीराजनकुमार गिरी, प्रेमबहादुर श्रेष्ठ, सुशील बराल, रमेश राई, दिवश बोगटी क्षेत्री, दिलकुमार श्रेष्ठ, दुरेन राई, सानु पूर्वछाने, विनञ्जय थापा, प्रेमलाल बैदार, राजेन्द्र जिसी, प्रेमदीप लिम्बू, प्रकाशचन्द्र दाहाल, विष्णुहरि रिमाल, कमलकुमार विष्ट, लोकबहादुर बस्नेत, दिनेश खड्का, केशव बस्नेत, अमित साह, सुनम कार्की, कुमार तामाङ, जितबहादुर श्रेष्ठ, मनोजकुमार सापकोटा ।

 ११ विरुद्ध आपराधिक उपद्रव कसुर
श्रवणकुमार लामा, समीर मगर, रविरञ्जनकुमार सिंह, लक्ष्मी राई, आशिषकुमार महतो, गोविन्दा राय, सुशीला कुमाल, निर्मला कार्की, प्रेमकुमार महतो, राधेश्याम यादव र दिनेश महतो

ज्यान जोगाउन आओ–आओ भनेको हुँ 
दुगाई प्रसाईं, १५ चैतको प्रदर्शनका कमान्डर 

 साइत हेरी दिनको १२:३१ बजे घरबाट निस्किनू भन्ने ज्योतिषीको सल्लाह थियो । आमाको हातबाट दही खाई निस्केँ । म बा.प्र. ०१ ०२७ च. ३६४७ नम्बरको हाइलक्स गाडीको पछाडि चढेँ । साथमा दीपक खड्का, रामकुमार धिमाल, गोपी खड्कालगायत थिए । गाडीमा बसी सर्वसाधारणलाई हात हल्लाउँदै अघि बढेँ । तीनकुनेस्थित कार्यक्रमस्थल १५० मिटरजति दूरीमा थियो । मञ्चतिर अगाडि बढ्दा भागदौड भयो । मञ्चमा धुँवाको मुस्लो उडिरहेको, कोही भुइँमा लडेको देखेँ । कानको नजिकबाट गोली गयो । मलाई लक्षित गरी विभिन्न व्यक्तिहरू घुसपैठ भएको पाएँ । वरपरका घरको छतमा अपरिचित मानिसहरू हतियारसहित देखेँ । मलाई मार्ने योजना बनाएको भन्ने लागेपछि म गाडीको पछाडिको ढालाबाट हामफालेँ । ड्राइभरलाई बाहिर निकाली सिटमा म आफैँ बसेँ । ज्यान जोगाउन सुरक्षाका लागि सबैजना आओ–आओ भन्दै अघि बढेँ । अरूलाई समेत बोलाई प्रहरीको घेराभित्र जान गाडी चलाएको हुँ । 

कार्यक्रमको आयोजक दुर्गा प्रसाईं हो
रवीन्द्र मिश्र, वरिष्ठ उपाध्यक्ष, राप्रपा

मैले कोही–कसैलाई विमानस्थलस्थित हवाई इन्धन डिपो, भन्सार कार्यालय तथा प्रहरी ब्यारेकसमेतमा तोडफोड गर्न लगाएको अह्राएको छैन । सो सम्बन्धमा म अनभिज्ञ छु । म संसद् भवनतर्फ गएको पनि छैन । मैले कोही–कसैलाई संसद् भवन कब्जा गर्न जानू भनी प्रोत्साहन दिने अभिव्यक्ति दिएको पनि छैन । कार्यक्रमको आयोजक दुर्गा प्रसाईं हो । राष्ट्रिय प्रजातन्त्र पार्टी सो कार्यक्रमको आयोजक रहेको भन्ने ब्यानर उहाँहरूले पठाइदिन आग्रह गरेपछि सो ब्यानर पठाइएको हो । सो ब्यानर लगाइएको स्टेज कसरी बनाइयो मलाई थाहा छैन ।

एयरपोर्ट कब्जा गर्नू भन्ने दुर्गा प्रसाईं हो 
धवलशमशेर राणा, महामन्त्री, राप्रपा

मबाट आपराधिक कार्य भए–गरेको छैन । मैले कोही–कसैलाई प्रोत्साहन गर्ने र निर्देशन दिनेसमेत गरेको छैन । संसद् भवन र एयरपोर्ट कब्जा गर्नुपर्छ भनी अभिव्यक्ति दिने व्यक्ति म होइन, प्रतिवादी दुर्गा प्रसाईं हुन् । भिडियोमै देखिन्छ । संसद् भवनलगायतका संवेदनशील संरचना कब्जा गर्न भनी मैले कोही–कसैलाई खटाएको छैन । अन्यले खटायो वा खटाएन सो सम्बन्धमा मलाई थाहा छैन । संसद् भवनमा उक्त व्यक्तिलाई निगरानी गर्न भनी मैले पठाएको होइन, छैन ।