
इंग्ल्यान्डका प्रधानमन्त्री विलियम इवार्ट ग्ल्याडस्टोन एक साधारण किसानका छोरा थिए । उनी अत्यन्त सादा जीवन व्यतीत गर्थे । यहाँसम्म कि उनी आफ्नो लुगा पनि आफैँ सफा गर्थे र बिहान–बिहान साइकलमा झोला झुन्ड्याएर सब्जी किन्न निस्किन्थे ।
एकपटक रेलमा यात्रा गरिरहेका वेला स्टेसनमा एउटा पत्रिकाका सम्पादक उनलाई भेट्नका लागि आए । उनको विचार थियो, प्रधानमन्त्री अवश्य पनि पहिलो श्रेणीको डब्बामा बसेका होलान्, त्यसैले उनले पहिलो श्रेणीका तीनवटा डब्बामा खोजे तर उनी भेटिएनन् । तब पहिलो श्रेणीको एउटा झ्यालमा एउटा महँगो लुगा लगाएको नवयुवक उनले देखे । ती नवयुवकसँग सम्पादकले प्रधानमन्त्रीबारे सोधे । ती नवयुवकले उनलाई जवाफ दिए, ‘उहाँ यो डब्बामा हुनुहुन्न, उहाँ त द्वितीय श्रेणीको डब्बामा हुनुहुन्छ ।’ युवकको कुरा सुन्दा ती सम्पादकलाई विश्वास लागेन । उनले भने, ‘उहाँजस्तो नेता पहिलो श्रेणीको साटो द्वितीय श्रेणीमा यात्रा गर्ने कुरा मलाई अलि विश्वास लागेन ।’ ती पत्रकारको कुरा सुनेपछि ती युवकले भने, ‘मैले झुटो बोलेको होइन, म उहाँको छोरो हुँ ।’
यसपछि सम्पादक दोस्रो श्रेणीको डब्बामा गए । त्यहाँ ग्ल्याडस्टोन सिटमा बसेर पत्रिका पढिरहेका थिए । यो देखेर सम्पादकले सोधे, ‘श्रीमान्, तपाईं प्रधानमन्त्री भएर पनि द्वितीय श्रेणीको डब्बामा यात्रा गरिरहनुभएको छ । तर, तपाईंको छोराचाहिँ पहिलो श्रेणीको डब्बामा यात्रा गरिरहेका छन्, यस्तो किन ?’ ती पत्रकार महोदयको कुरा सुनेपछि मुसुक्क मुस्कुराउँदै ग्ल्याडस्टोनले भने, ‘हेर्नुहोस् म एउटा सामान्य गरिब किसानको छोरो हुँ । त्यसैले दोस्रो श्रेणीको डब्बामा यात्रा गर्दै छु । तर, ऊचाहिँ एक प्रधानमन्त्रीको छोरा हो । त्यसैले ऊ पहिलो श्रेणीमा यात्रा गर्दै छ ।’