
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रम औपचारिकता पूरा गर्न आएको बताए । उनले भने, ‘सरकार आफैँ निराश छ, उत्साह छैन, विधि, नीति तथा कार्यक्रम विधि पुर्याउन ल्याइदिएजस्तो रहेको छ ।’ लिङ्देनले नीति तथा कार्यक्रम विगतभन्दा दुई–चार कुरामा मात्र फरक रहेको बताए । ‘अघिल्लो साल ८१ पेजको थियाे, अहिले ५६, पुरानै राम्रो,’ उनले भने ।
अध्यक्ष लिङ्देनले सरकार आफैँले यो व्यवस्था नै अनिश्चित छ भन्ने देखाएको भन्दै धन्यवाद दिए । उनले गणतन्त्र व्यवस्थाविरुद्ध फरक मत राख्न पाइने बताए । ‘फरक मत राख्नेकाविरुद्ध कानुन बनाउन पाइँदैन, यो संविधानले नै निषेधित गरेको विषय हो,’ उनले भने ।
अध्यक्ष लिङ्देनले संविधानले राजसंस्था आउन सक्ने प्रस्ट पारेको बताए । उनले भने, ‘नेपालको सार्वभौमिकता भौगोलिक अखण्डता, जनतामा निहित सार्वभौमिकताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न सकिनेछैन भनेपछि त्यसदेखि बाहेक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता त जहिल्यै पनि संशोधन गर्न सकिनेरहेछ भन्ने कुरा त यो संविधानले नै प्रस्ट पारेको छ ।’