१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
इन्द्रबहादुर थापा काभ्रेपलाञ्चोक
२o८२ बैशाख २६ शुक्रबार o९:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेको भकुन्डे क्षेत्रमा हेपाटाइटिस संक्रमण फैलिएको आशंका

Read Time : < 1 मिनेट
इन्द्रबहादुर थापा, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार o९:२९:oo

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाको केन्द्र भकुन्डेबेंसी क्षेत्रमा हेपाटाइटिस संक्रमण फैलिएको आशंका गरिएको छ। लक्षण देखिएर मेथिनकाट अस्पतालमा उपचार गराएकामध्ये १८ जनामा संक्रमण देखिएपछि संक्रमण फैलिएको आशंका गरेको हो।

अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाका अनुसार अस्पताल आएका १८ जनामा हेपाटाइटिस संक्रमण देखिएको छ । तीमध्ये एकजना अस्पतालमै कार्यरत चिकित्सकसमेत रहेको झाले जानकारी दिए। ती बिरामीमध्ये एकजना गम्भीर रहेकोमा धुलिखेल अस्पतालमा रिफर गरेको डा. झाले जानकारी दिए । एकजनाकाे मेथिनकाेट अस्पतालमा उपचार भइरहेको छ भने अन्य सामान्य उपचारपछि घर फर्किएको उनको भनाइ छ। 

नमोबुद्ध नगरपालिका वडा नम्बर २, ३, ४ र ६ का बालबालिका र नजिकको विद्यालयमा अध्ययनरत विद्यार्थीमा संक्रमण देखिएको डा. झाले जानकारी दिए । उनका अनुसार, पानी वा खानेकुराबाट संक्रमण भएको हुन सक्ने आशंकामा नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ। हालसालै निर्माण भएको बोरिङको पानीको कारण हो कि भन्ने आकलन गरेर पानीको नमुना परीक्षणका लागि पठाएको झाले जानकारी दिए। 

मंगलबारबाट जन्डिसलगायतका लक्षणसहित बिरामीहरू अस्पताल आउन थालेपछि नमुना संकलन गरी परीक्षण गर्दा हेपाटाइटिस संक्रमण पुष्टि भएको थियो। हेपाटाइटिस ए वा ई के हो भने परीक्षणपछि मात्रै यकिन गर्न सकिने झाले बताए।

संक्रमण फैलिएको जानकारी पाएपछि संघीय सरकारको स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, नगरप्रमुख कुनसाङ लामालगायतले अस्पतालको टोलीसँग छलफल गरेको थियो । उनीहरूले बिरामीको रगत र पानीको नमुना परीक्षणका लागि लगेको र शुक्रबार रिपोर्ट आउने अस्पतालले जानकारी दिए। संक्रमण थप फैलिन नदिन सचेतना अपनाउन आग्रह गर्दै जनस्वास्थ्य कार्यालयले खानेपानी, खानेकुरामा सरसफाइ अपनाउन अनुरोध गरेको छ ।