१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
२o८२ बैशाख २६ शुक्रबार o९:२३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उमागौरी सहकारी ठगी प्रकरण : ऋषिकेशपत्नी अञ्जलासहितको मुद्दाको पेसी एक साता स्थगित

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार o९:२३:oo

सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइरालासमेत ६ जनालाई थुनामै राखेर पुर्पक्ष गर्न माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन गरेको मुद्दाको बिहीबारको पेसी स्थगित भएको छ । मोरङ अदालतबाट २४ पुसमा भएको धरौटीमा छाड्ने आदेशविरुद्ध पुनरावेदन माग गर्दै सरकारी वकिल कार्यालयले फागुनमा उच्चमा निवेदन गरेको थियो । सहकारी ठगी कसुरको मुद्दा बिहीबार लगाउको कारण पेसी स्थगित भएको हो । अब मुद्दाको अर्को पेसी १ जेठमा हुनेछ । 

गत ११ वैशाखमा भएको सुनुवाइमा उच्च अदालतका न्यायाधीशहरू श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बास्तोलको राय बाझिएको थियो । मुद्दाको पेसी बिहीबार न्यायाधीश कृपासुर कार्कीको इजलासमा तोकिएको थियो । तर, निवेदकमध्येकी ज्योति बास्कोटाका कानुन व्यवसायीले बिहीबारको पेसी स्थगित गर्न निवदेशन दिएपछि सुनुवाइ स्थगित भएको उच्च अदालत विराटनगरका रजिस्ट्रार जगदीशप्रसाद भट्टले बताए । अब १ जेठमा तोकिएको पेसी पुनः स्थगित नभएमा पहिले आदेश दिने न्यायाधीश पुडासैनी र बास्तोलामध्ये तेस्रो न्यायाधीशले एउटा रायलाई सही ठहर्‍याएर आदेश गर्नुपर्नेछ । यसैले सरकारी वकिलको निवेदनको माग थुनामा राख्नुपर्ने भए पनि अब अञ्जलासहित सबै अभियुक्त धरौटीमा छुट्न सक्नेछन् । 

मोरङ जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यलयले अञ्जलासहित ६ जना प्रतिवादीलाई थुनामा राखेर आदेश गरिनुपर्ने माग राख्दै २५ फागुनमा उच्चमा निवेदन दिएको थियो । ११ वैशाखमा उच्च अदालतका न्यायाधीशद्वय पुडासैनी र बास्तोलाको राय बाझिएको थियो । पुडासैनीले जिल्लाकै आदेश सदर गर्नुपर्ने आदेश गरेकी थिइन् । बास्तोलाले अभियुक्तहरू अञ्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासको हकमा जनही एक करोड र अन्य प्रतिवादीहरू लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र मनोजकुमार सोनीको हकमा जनही २५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका थिए । सरकारी वकिलको कार्यालयले जिल्लाबाट धरौटीमा छाडिएका अभियुक्तहरूलाई थुनामा राखेर पुर्पक्ष गर्न माग गर्दै मुद्दा पुनरावेदन गरे पनि उच्चका न्यायाधीशद्वय पुडासैनी र बाँस्तोलाको राय भने धरौटी सदर गर्ने वा बदर गरेर बढाउन भन्नेबारे मात्र राय बाझिएको थियो । 

जिल्ला अदालतले बाहिरै बसेर मुद्दा पुर्पक्ष गर्न पाउने गरी २५ पुसमा एमाले सांसद पोखरलपत्नी अञ्जलालाई १० लाख, ज्योतिलाई पाँच लाख, लक्ष्मीदेवीलाई ५० हजार, सुमन लोहनीलाई दुई लाख र मनोजकुमार सोनीलाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । मोरङको धनपालथान गाउँपालिका– ४ स्थित उमागौरी सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार सात सय रुपैयाँ हिनामिना गरी सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारी ऐनअन्तर्गत मोरङ अदालतमा २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो । गत २७ मंसिरमा सहकारीको रकम हिनामिना प्रकरणमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर गरिएको थियो ।