
सद्को संयुक्त सदनमा १९ वैशाखमा नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भयो । नीति तथा कार्यक्रमका सबल र कमजोर पक्षका विषयमा विभिन्न तह र तप्काबाट विश्लेषण भइरहेकै छन् । यसले धेरै कुरा सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ, जसलाई आगामी बजेटले पक्कै पुष्टि गर्ला ।
आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमले युवाका विषयमा धेरै कुरा समेट्ने प्रयास गरेको छ । कुल जनसंख्याको ठुलो हिस्सा युवा रहनु हाम्रा लागि सबल पक्ष हो र यो हाम्रो सामथ्र्य पनि हो । नीति कार्यक्रममा आएका यूवा लक्षित कार्यक्रमका सन्दर्भमा विश्लेषण गर्दा त्यो बढी उपयोगी सिद्ध हुनेमा दुईमत नहोला । उद्यमशीलतामैत्री शिक्षानीति अपनाई श्रम क्षेत्रमा रहेका सीपयुक्त श्रमशक्तिको अभाव र सीपहीन श्रमशक्ति जगेडा रहने अवस्था अन्त्य गर्ने र यसका लागि हालको पाठ्यक्रम, सिकाइ र अध्यापन विधिमा व्यापक सुधार गर्ने विषयले युवामा बाहिर जाने जुन होड छ, यसलाई रोक्न सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । शिक्षा मन्त्रालयका अनुसार आव ०८०/८१ मा एक लाख १२ हजार विद्यार्थीले विदेशमा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिए । सोही आर्थिक वर्षमा उच्च शिक्षामा एक खर्ब २५ अर्बभन्दा बढी रकम बाहिरियो । यो तथ्यांक हाम्रा लागि सोचनीय हो । एकजना पुस्तक प्रकाशक भन्दै थिए– जनसंख्या वृद्धि छैन । १२ पढेपछि विदेश जाने मोह छ । विश्वविद्यालयमा तालाबन्दी र चरम राजनीति छ । ०७० सालपछि प्लस टुपछिको पाठ्यपुस्तक व्यवसाय ५० प्रतिशतले घट्यो । यस्तोमा नीति तथा कार्यक्रमले बोलेका विषयले युवामा रहेको विदेशमोह घटाउन केही सहयोग गर्ने आशा गर्न सकिन्छ ।
सबै उद्यममा ‘बिजनेस प्लान’ र त्यसको ‘इकोसिस्टम’ निश्चित गरी ‘जेन जी’ पुस्तालाई विशेष प्राथमिकतामा राखी युवाकेन्द्रित स्टार्टअप कार्यक्रम सुरु गर्ने भनिएको छ । चालू १६औँ योजनाले औँल्याएका चुनौतीमध्ये आन्तरिक रोजगारीका सीमित अवसरका कारण वैदेशिक रोजगारीका लागि युवा जनशक्ति पलायनलाई रोक्न पनि यसले ठुलो सहयोग गर्ने आशा गर्न सकिन्छ । उद्योग मन्त्रालयले निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा स्टार्टअप नीति ल्याएर नवप्रवर्तनमा लागेका युवालाई २५ लाखसम्म व्यवसाय ऋण दिन थालेको छ । अहिले भर्खर ६६१ जना नवप्रवर्तनमा लागेका युवा उद्यमी त्यसका लागि अन्तिम छनोटमा परेको समाचार आएको छ । यसले एउटा बलियो आशा जगाएको छ । यसबाट मुलुकभित्र बढ्दै गएको बेरोजगारी समस्या समाधान गर्न र मुलुकमा उपलब्ध युवा जनशक्तिको लाभलाई ‘क्यास’ गर्न सहयोग गर्ने विश्वास गर्न सकिन्छ । युवाकेन्द्रित स्टार्टअप कार्यक्रमलाई थप विस्तार गर्न बजेटमा विश्वास लाग्दा कार्यक्रम आउने आमअपेक्षा छ ।
निर्वाहमुखी कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै कृषि उपजमा देशलाई आत्मनिर्भर तुल्याउन यान्त्रिकीकरण तथा विशिष्टीकरण गरिनेछ । कृषिमा युवालाई आकर्षित गर्न भूमि, कृषि सामग्री, बिमा, खरिद सम्झौता र बजारको बलियो इकोसिस्टम कायम गरिनेछ । कृषि क्षेत्रको जुनसुकै विधामा उद्यम गर्न चाहनेलाई यस प्रणालीमा आबद्ध गरी पाइलट प्रोजेक्ट सुरु गरिने कुरा नीतिमा छ । यो स्वागतयोग्य छ, तर कृषिमा युवालाई आकर्षित गर्ने नाउँमा दिइने सुविधा बिचौलियाले उपभोग नगरून् भन्नेतर्फ सरकार सजग हुनुपर्छ ।
सोह्रौँ योजनाका रूपान्तरणकारी रणनीतिमा बाँझो र सार्वजनिक जमिनमा सामूहिक र सहकारी खेती प्रवद्र्धन गर्न वैदेशिक रोजगारीबाट फर्केका युवाको मनोबल वृद्धि हुने वातावरण निर्माण गर्ने भनिएकाले यसलाई तादाम्य गरेर जान सकियो भने अपेक्षाकृत परिणाम आउन सक्छ । तर, चालू आर्थिक वर्षको बजेटमा पर्यटन, कृषि, आइटीलगायत क्षेत्रमा एक हजार युवालाई फेलोसिप प्रदान गरिने, कृषि पढेका विद्यार्थीलाई इन्टर्नका रूपमा कृषिसँग जोड्ने कुरा थियो । चालू आवको १० महिना बित्न लाग्यो, तर यतिलाई ‘फेलोसिप इन्टर्नसिप’मा लगाइयो भन्ने सुन्नमा आएको छैन । उपलब्धि भएको छ भने त्यसबाट लक्षित युवा लाभान्वित भए भने सरकारले भन्न सक्नुपर्छ । अनि मात्र सरकारप्रति विश्वास बढ्छ । नीति, कार्यक्रम र बजेटमा राख्छौँ, तर त्यसको कार्यान्वयन हुँदैन भने त्यसले झन् उल्टो परिणाम दिनेतर्फ सरकार सजग हुनपर्छ ।
नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमीलाई प्रोत्साहित गर्न स्टार्टअप कर्जा कार्यक्रम विस्तार गरिने र प्रदेश तथा स्थानीय सरकार एवं निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा स्टार्टअप उद्यमीलाई व्यवसाय संवद्र्धन, क्षमता अभिवृद्धि, सेवा, बजारीकरण र मूल्य–शृंखला निर्माण गर्न सबै प्रदेशमा व्यवसाय संवद्र्धन केन्द्र स्थापना र सञ्चालन गरिने नीतिमा समेटिएको छ । स्टार्टअप नवप्रवर्द्धनलाई सहुलियत दरमा ऋण उपलब्ध गराउन सार्वजनिक सूचना जारी गर्नेबित्तिकै सरकारले तोकेका मापदण्ड पूरा गरेका ६ हजारभन्दा बढीले आवेदन दिए । अन्तर्वार्ता र उनीहरूको प्रोजेक्ट सोकेसका लागि दोस्रो चरणमा करिब १७ सय मात्र छानिए र अन्तिममा ६ सयजति स्टार्टअप अन्तिम ऋणका लागि स्वीकृत भए । ६ हजार हाराहारी स्टार्टअपको आवेदनबाट के निष्कर्षमा पुग्न सकिन्छ भने युवाहरू केही न केही नयाँ सोचसाथ व्यवसायमा लागेका छन् । तिनलाई सरकारको बलियो सहयोग आवश्यक छ । ऋणका लागि योग्य नठहरिएका स्टार्टअपका सम्बन्धमा पनि सरकार त्यत्तिकै सहयोगी बन्न सक्नुपर्छ र उनीहरूका लागि कुनै न कुनै सहयोगका कार्यक्रम ल्याउन जरुरी छ ।
चालू आवको बजेटमा युवाको उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न प्रत्येक प्रदेशमा बिजनेस इन्क्युवेसन सेन्टर सञ्चालन गरिने कुरा आएको थियो । हजारौँको संख्यामा रहेका स्टार्टअपलाई राम्रो वातावरण दिएर उनीहरूलाई सानो मात्र सहयोग गर्न सकियो भने पनि उनीहरूको वृद्धि सम्भव देखियो । इन्क्युवेसन सेन्टर सञ्चालनलाई प्राथमिकता दिई कमजोर स्टार्टअपलाई सहयोग गर्न सरकारले तदारुकता देखायो भने नेपालमा स्टार्टअप प्रवद्र्धनमा ठुलै फड्को मार्न सकिन्छ ।
नीति तथा कार्यक्रममा देशभित्रै उद्यमशीलता विकास गरी युवा रोजगारी सिर्जना गरेर आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रूपमा मनाइने भनिएको छ । स्वरोजगारी तथा ज्याला रोजगारी दुवैका माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरिने परिकल्पना पनि गरिएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या तीव्र वृद्धि भइरहेको छ । श्रमका लागि अधिकांश युवा समूहकै जनशक्ति बाहिर गइरहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार हालसम्म करिब ७८ लाख नेपालीले वैदेशिक रोजगारीका लागि श्रम सम्झौता नवीकरण गरेका छन् । स्वदेशमा पर्याप्त रोजगारी नहुँदा नै यो स्थिति आएको हो । हरेक वर्ष कम्तीमा पनि सात लाख युवा कामको खोजीमा बिदेसिने गरेका छन् । सरकारले नीति तथा कार्यक्रममा स्वदेशमै उद्यमशीलता विकास गरी युवा रोजगारी सिर्जना गर्ने जुन प्रतिबद्धता गरेको छ, यसलाई मूर्तरूप दिन आगामी बजेट कति सफल होला, त्यो हेर्न बाँकी नै छ ।
नीति कार्यक्रममा युवालाई आर्थिक र सामाजिक रूपान्तरणका प्रमुख बाहकका रूपमा परिचालन गरिने भनिएको छ । युवामा स्वयंसेवी र सदाचारी भावना विकास गरिने, युवाको शारीरिक र मानसिक विकासका लागि नियमित खेलकुद प्रतियोगिता आयोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताको आयोजना, विद्यालय तहदेखि नै खेलकुद तालिम, प्रशिक्षक र खेलाडी प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने स्पष्ट पारिएको छ । भनिएअनुसार कार्यक्रम सम्पन्न गर्न खेलकुदका लागि भौतिक पूर्वाधारको ठुलो भूमिका हुन्छ । संघीय राजधानी काठमाडौंमा रहेको एक मात्र रंगशालाको भौतिक अवस्था नाजुक छ । सोही कारण गत वर्ष एसियन कप छनोट प्रतियोगितामा मलेसियाविरुद्धको होम म्याच नेपालले आयोजना गर्न पाएन ।
क्रिकेट, फुटबललगायत खेलका लागि म्याच आयोजना गर्न हाम्रा पूर्वाधार अन्तर्राष्ट्रियस्तरका छैनन् । नीति कार्यक्रम र बजेटमा उल्लेख गरिन्छ, तर पूर्वाधार निर्माणका काम समयमै सकिँदैनन् । हालै कीर्तिपुरको क्रिकेट स्टेडियममा फ्लड लाइट जडान कार्य समयमै सम्पन्न नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिनुपर्यो । अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडीका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाइने कुरा पनि बडो सुन्दर ढंगमा नीति कार्यक्रममा आएको छ । झट्ट सुन्दा कति राम्रो लाग्छ, तर वर्षौंदेखि खेलकुदमै जीवन दिएका खेलाडी राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिको हालीमुहालीले आफ्नो भविष्य नै अन्योल देखी बिदेसिएका समाचार हामी सबैले पढेकै हाँै । खेलाडी भविष्य सुनिश्चित हुने नदेखेर बिदेसिन थालेका वेला तिनका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्ति कार्यक्रम कति प्रभावकारी होला ? बरु खेलाडी पलायन रोक्ने विश्वासिला कार्यक्रम बजेटमा ल्याउँदा बढी प्रभावकारी हुन्थ्यो कि ?
हाम्रो शिक्षा जीवनोपयोगी भएन, डिग्री दिएर बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणाली भयो भन्ने नै आम ठम्याइ छ । बाहिर शिक्षासँगै रोजगारीको अवसर पनि दिइने हुँदा हाम्रा युवामा विदेशमोह बढेको हो । यसका लागि हाम्रा पाठ्यक्रममा व्यापक परिवर्तन गरी पढ्दै कमाउँदै गर्न सक्ने खालको व्यावहारिक शैक्षिक कोर्स विकास गर्नुपर्ने सुझाव आइरहेका छन् । यसतर्फ सरकारको आगामी बजेटले विशेष सम्बोधन गर्न आवश्यक छ ।
१६औँ योजनाले आर्थिक वर्ष ०७९/८० मा शून्य दशमलव ९८ प्रतिशत उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम प्राप्त गर्ने युवालाई आर्थिक वर्ष ०८५/८६ मा ५० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । त्यस्तै स्वरोजगार उद्यम व्यवसाय सञ्चालन गर्ने १०४ युवाको संख्यालाई योजनाको अन्त्य अर्थात् आर्थिक वर्ष ०८५/८६ मा एक हजार पुर्याउने लक्ष्य राखेको छ । यसलाई पूरा गर्न पनि सरकारको नीति तथा कार्यक्रममा आएका युवालक्षित कार्यक्रमलाई आगामी बजेटले स्पष्ट रूपमा सम्बोधन गर्नैपर्छ । हरेक साल नीति तथा कार्यक्रम आउँछन् । हाम्रा नीति तथा कार्यक्रम निकै राम्रा पनि हुन्छन् । हाम्रो सबैभन्दा कमजोर पक्ष कार्यान्वयनको हो । हरेक वर्ष सरकार परिवर्तन हुने र एउटा सरकारले ल्याएको बजेट कार्यान्वयनमा अर्को सरकारले देखाउने उदासीनताले लक्षित उद्देश्य हासिल गर्न नसकिने अवस्था छ । यसपालि दुईतिहाइ हाराहारीको सरकारले ल्याएको नीति कार्यक्रम सफल पार्न आगामी बजेटले सहयोग गर्ने अपेक्षा अलि बढी नै छ ।
कलेज जाने उमेर समूहका युवामा ठुला आकांक्षा र सपना हुन्छन् । युवा शब्दको उल्टो ‘वायु’ हुन्छ । वास्तवमा युवा वायुझै प्रवाहवान् एवं गतिशील हुन्छन् । युवा शक्ति मुलुकको वर्तमान र भविष्य दुवै हुन् । राष्ट्र निर्माणको प्रमुख स्रोत पनि हो । राष्ट्रिय जनगणना ०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूह अर्थात् युवाको जनसंख्या ४२.५६ प्रतिशत छ । यो शक्ति देश विकासको बलियो आधार पनि हो, सम्पत्ति पनि हो । युवा परिचालनमार्फत देश विकास गर्ने अवसर हामीसँग लगभग तीन दशक छ । त्यसपछि हाम्रो समाज बुढ्यौलीतर्फ जानेछ । तसर्थ, यो वायुरूपी युवा शक्तिलाई देश निर्माणमा लाग्ने र देशमै केही गर्न सकिन्छ भन्ने आशा जगाएर उनीहरूलाई टिकाउने कार्यक्रम आगामी बजेटमा ल्याउन अर्थमन्त्रीलाई सुझाव छ ।