
विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले हेटौँडा महिला गोल्डकप उपाधि उचालेको छ । ०७९ यता घरेलु फुटबलमा अपराजित एपिएफले आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको छ । चार महिनाभित्र छैटौँपटक उपाधि जित्ने क्रममा उसले चिरपरिचित विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई हेटौँडामा पनि निराश बनाएको हो ।
एपिएफले हेटौँडामा पहिलोपटक आयोजना भएको महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुलिसलाई टाइब्रेकरमा ३–१ ले पराजित गरेको छ । १९ वैशाखबाट सुरु भएको प्रतियोगिता एपिएफलाई जिताउन गीता राना, कप्तान अनिता बस्नेत र निशा थोकरले गोल गरेका थिए । रश्मिकुमारी घिसिङको प्रहार भने पुलिसकी गोलकिपर उषा नाथले बचाउ गरिन् । यस्तै, पुलिसका लागि गोलकिपर उषाले मात्रै गोल गर्न सकिन् । पुलिसकी कप्तान निरु थापाको प्रहार एपिएफकी गोलकिपर अञ्जना रानामगरले बचाउ गर्दा रेविका पाण्डेको प्रहार गोलपोस्टमा ठोक्किएर बारिएको थियो । यस्तै, सुष्मा तामाङको प्रहार पनि बाहिरिएको थियो ।
विजेता भएसँगै एपिएफले सात लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने पुलिसले पाँच लाख रुपैयाँ पायो । यस्तै, प्रतियोगिताभर नै उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी गोलरक्षक अञ्जना प्लेयर अफ दी म्याच घोषित भइन् । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् ।
निर्धारित समयको खेल बराबरी
खेलको निर्धारित समय बराबरीमा टुंगिएको थियो । दुवै टोलीले केही गोल गर्ने राम्रा अवसर सदुपयोग गर्न नसक्दा खेलको नतिजा टाइब्रेकरसम्म पुगेको थियो । खेलको १५औँ मिनेटमा पुलिसकी मीना देउवाले पाएको राम्रो अवसर फितलो प्रहारका कारण एपिएफकी गोलकिपर अञ्जना रानामगरले सजिलै बचाएकी थिइन् ।
पहिलो हाफकै २७औँ मिनेटमा एपिएफकी रश्मिकुमारी घिसिङको प्रहार गोलपोस्टमा लागेर बाहिरिएको थियो । सविता रानामगरले दिएको बललाई रश्मिले पोस्टको दिशा दिएकी थिइन् । त्यसपछि पनि दुवैतर्फबाट गोलको प्रयास भए पनि गोल भने हुन सकेन ।
एपिएफलाई लगातार छैटौँ उपाधि
०७९ देखि अपराजित एपिएफले चार महिनाभित्र लगातार छैटौँपटक उपाधि जितेको छ । जारी सिजनमा एपिएफ र पुलिसबिच हेटौँडासहित चौथोपटक फाइनलमा भेट भएको छ । र चारैपटक एपिएफले पुलिसलाई निराश बनाउँदै उपाधि उचालेको छ ।
अघिल्लो साता मात्रै नुवाकोटमा भएको बागमती गोल्डकप र नेपालगन्जमा भएको लुम्बिनी कपको फाइनलमा एपिएफले पुलिसलाई समान १–० ले हराएको थियो । पुलिसले खेलभर एपिएफलाई रोके पनि इन्जुरी समयमा गोल व्यहोरेको थियो । यता, इलाम र चितवनमा भएको गोल्डकपमा भने एपिएफले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएको थियो । त्यसअघि भएको राष्ट्रिय महिला लिगको फाइनलमा एपिएफले पुलिसलाई नै हराउँदै उपाधि उचालेको हो ।
रश्मि सर्वोत्कृष्ट खेलाडी
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेकी एपिएफकी रश्मि घिसिङले स्कुटर प्राप्त गरेकी छिन् । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी रश्मिले क्वार्टरफाइलनमा वीरगन्जविरुद्धको खेलमा ह्याट्रिकसहित पाँच र सेमिफाइनलमा संकटाविरुद्ध एक गोल गरेकी थिइन् । उनलाई कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले स्कुटर प्रदान गरे । प्रदेश सभा सदस्य बानियाँले नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि स्कुटर पुरस्कार प्रायोजन गरेका हुन् ।
प्रतियोगितामा एपिएफकै गोलरक्षक अञ्जना रानामगर, मिडफिल्डर रेनुका नगरकोटी र प्रशिक्षक जीवेशकुमार पाण्डे उत्कृष्ट घोषित भए । यस्तै, पुलिसकी मीना देउवा उत्कृष्ट फरवार्ड र समीक्षा घिमिरे उत्कृष्ट रक्षक घोषित भइन् । विधागत उत्कृष्ट भएका सबैले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा छैटौँ संस्करणसम्म सहिद स्मृति स्थानीय तह राष्ट्रिय गोल्डकप फुटबल प्रतियोेगिताका रूपमा पुरुष फुटबलका रूपमा हुँदै आएको प्रतियोगिता यसपटकबाट महिला फुटबल प्रतियोगिताका रूपमा आयोजना गरिएको हो ।