
पत्रकार महासंघ मोरङ शाखाले प्रदान गर्दै आएको षष्टिका सूचनाको हक पुरस्कारबाट दुईजना तथा अग्रज पत्रकार सम्मानबाट यज्ञ शर्मा सम्मानित भएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मोरङ शाखाले शनिबार आयोजना गरेको कार्यक्रममा एक लाख रुपैयाँ राशिको षस्टिका बस्नेत सूचनाको हक राष्ट्रिय पुरस्कारबाट मोरङका पत्रकार किशोर बुढाथोकी र २५ हजार रुपैयाँ राशिको प्रादेशिक पुरस्कारबाट झापाका पत्रकार सुरेन्द्र भण्डारी पुरस्कृत भएका हुन। ६० वर्ष पूरा भएका अग्रज सक्रिय पत्रकार सम्मानबाट विराटनगरका यज्ञ शर्मा सम्मानित भएका हुन्।
सूचनाको हकबाट पुरस्कृत पत्रकार बुढाथोकी र भण्डारीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नगदसहित तथा अग्रज पत्रकार शर्मालाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरे।
विराटनगरका समाजसेवी केदार बस्नेतले आफ्नी श्रीमतीको नाममा स्थापना गरेको षस्टिका बस्नेत सूचनाको हक राष्ट्रिय पुरस्कार पत्रकार महासंघ मोरङ शाखाले २०७३ सालदेखि हरेक वर्ष प्रदान गर्दै आइरहेको छ। शाखाले हरेक वर्ष ६० वर्ष पुगेका क्रियाशील पत्रकारहरूमध्येबाट एकजनालाई अग्रज पत्रकार सम्मान प्रदान गर्दै आएको छ।