१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Sunday, 04 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २० शनिबार १७:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले भ्रष्टाचारका काण्डहरू दबाउने काम गरिरहेको छ : सोबिता गौतम

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको विकल्प छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार १७:o४:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सरकार भ्रष्टाचारका काण्ड दबाउन उद्यत रहेको बताएकी छिन्। रास्वपाले सरकारमा गएर भ्रष्टाचारका फाइल खोल्दै कारबाही अगाडि बढाएपछि हतारमा कांग्रेस–एमाले सरकार बनेको र भ्रष्टाचारका काण्डहरूको अनुसन्धान रोकिएको गौतमले दाबी गरिन्।

शनिबार रास्वपा रूपा गाउँपालिका कास्कीको कार्यालय उद्घाटन गर्दै सांसद गौतमले हिजोको दिनमा भ्रष्टाचारका काण्डको सूचना आमजनतासम्म नपुगेको र रास्वपाले सदन र सरकारमा रहेर उजागर गरेको दाबी गरिन्। विगतमा संसदमा के हुन्छ भनेर जनतालाई थाहा नहुने, तर अहिले रास्वपा सांसदले कुन भ्रष्टाचारको मुद्दा उठायो भनेर घरघरमा चर्चा हुने गरेको उनको भनाइ छ।

‘रास्वपा आएपछि के भयो भन्दा भ्रष्टाचार गरेको थाहा भयो, कहाँ भयो भन्ने थाहा भयो। पोखरामा १० अर्ब बढी भ्रष्टाचार भएको थाहा भयो। वाइडबडीमा भ्रष्टाचार भयो भन्ने छर्लंग आएको छ। अनि त्यो वर्षौँदेखिको गिरीबन्धुको भ्रष्टाचारमा अब संसदीय छानबिन समितिको नजिर बसालिहालियो। अब हाम्रो पनि पालो आउँछ भनेर त्यसलाई ढाकछोप गर्ने काम भएको छ। भुटानी शरणार्थी काण्डको फाइल खोलिएको थियो। प्रक्रिया धेरै अगाडि बढिसकेको थियो। अब हामीलाई छोड्दैनन् भनेर त्यसलाई पनि दबाउने काम गरिएको छ,’ उनले भनिन्।

राजनीति पैसा कमाउने पेसा नभएको भन्दै गौतमलै नेताहरूले जनताको करको दुरुपयोग गरिरहेको बताइन्।

साना दलले साह्रै दुःख दिए भनेर संविधान संशोधन गर्ने नाममा कांग्रेस–एमाले सरकार बनेको भन्दै उनले थपिन्, ‘सरकार बनेपछिका हरेक दिनको पत्रिका पल्टाएर हेर्नुभयो भने कुनै न कुनै मुद्दा, घोटाला, जनतालाई दुःख दिने खालको प्रयत्न भइरहेका छ। संविधान संशोधन त परको कुरा भयो। आजसम्म एउटा कमिटी बनाएर काम गरेका छैनन्। देखाउने एउटा जनतालाई, गर्ने काम अर्को।’

सांसद गौतमले पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध साधेर मुद्दा लगाइएको बताइन्। लामिछानेमाथि गरिएको दमनको हिसाब जनताले गर्ने उनको भनाइ थियो। सभापति लामिछानेलाई न्यायालयले न्याय दिने उनले विश्वास व्यक्त गरिन्।

मिसन ०८४ कुनै दलको विशेष कुराभन्दा पनि नेपाली जनताले निर्णायक इच्छा व्यक्त गर्ने अभियान रहेको गौतमले प्रस्ट पारिन्। देश बनाउनका लागि कोही नआउने भन्दै उनले आफैँ प्रत्यक्ष रूपमा सक्रिय हुन अपिल पनि गरिन्। ‘अबको नेपालको निकास भनेको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीबाट नै हो। नेपाली जनताले प्रत्यक्ष रूपमा फलानो प्रधानमन्त्री भयो भने मात्र परिवर्तन हुन्छ भनेर अपेक्षा गरिरहनुभएको छ। त्यसले मात्र नेपाललाई विकासको गतिमा अगाडि बढाउन सक्छ,’ उनले भनिन्। संविधान संशोधनको बहस चलिरहेको भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको विकल्प नरहेको बताइन्।