मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १९:३८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वनहराको भूमिहीन शिविरमा भएन तिहारको रौनक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:३८:oo

तिहार आए पनि शुक्लाफाँटा नगरपालिका– ११, वनहराको भूमिहीन शिविरमा कुनै रौनक छैन। मजदुरी गरेर जीविका चलाउने शिविरका बासिन्दालाई साँझ बिहानको छाक टार्नै समस्या छ।  ‘त्रिपालको झुपडीमा दुई दशकदेखि जसरी दिन बित्दै आएका छन्, त्यसरी नै तिहारमा पनि दुई छाक खानका लागि संघर्ष गर्नुपरेको छ,’ शिविरका दलबहादुर बोहराले भने, ‘दसैँ-तिहार जे आए पनि कष्ट उस्तै छ।’

टीका लगाउन आएका दिदीबहिनीलाई मिठो मसिनो खानेकुरा दिने नभएकाले दक्षिणा दिन साहुसँग काम गरिदिने वाचा गरी पेस्की पैसा लिएको उनले बताए। ‘साहुले काम नगरी कसरी पैसा दिने भनेर नाइनास्ती गरेका थिए। अनुनय - विनय गर्दा रु. ६ सय मागेर ल्याएँ,’ उनले भने।सात वर्षपहिले दातृ निकायले दिएका त्रिपाल ठाउँ-ठाउँमा च्यातिँदा वर्षातको पानी त चुहिन्छ नै। हिउँदमा शीतका थोपा झुपडीभित्रै खस्छ। ‘मजदुरी नगरे चुल्होमा आगो बल्दैन,’ अमृता साउदले भनिन्, ‘मजदुरी पाउन कठिन छ, पाए पनि थोरै ज्यालामा काम गर्नुपर्छ, अरूसँग मागेर ल्याएका लुगाफाटो लगाएर चाडपर्व मनाउनुपरेको छ।’

६ महिनाअघि कमाउन भारततर्फ गएका शिविरका केशव ताम्राकार घर फर्किएका छन्। ‘चार महिना काम पाइयो,’ उनले भने, ‘बाँकीका दुई महिना काम खोज्नमै बित्यो, चार महिना कमाएको पैसा जहानसँगै हुँदा खान र लुगाफाटोमै सिद्धियो। अहिले रित्तो फर्किएका छौँ।’

तिहारका वेला शिविरनजिकैका बस्तीहरू बत्तीले झकिझकाउ छन्। ‘दिउँसो त उज्यालो हुन्छ,’ शिविरका दीपेन्द्र सोबले भने, ‘रातमा उज्यालो बाल्ने नहुँदा अध्याँरोमै रात काट्नुपर्छ।’ शिविरका देवकी विष्टलाई छोराले भारतबाट ल्याइदिएको मोबाइल चार्ज गर्न समस्या छ। एकपटक चार्ज गरेबापत छिमेकी गाउँको पसलमा १० रुपैयाँ बुझाउनुपर्छ।

 सौर्य ऊर्जा खरिद गर्ने चाहना भए पनि आर्थिक अभावले सम्भव छैन। दाताले  उपलब्ध गराइदिए सहज हुने आशामा उनीहरू छन्। शिविरमा दातृ निकायले गाडेका नल्का छन्। नल्काबाट आर्सेनिक र आइरन आउने भएकाले शिविरका धेरैजना पत्थरी र छालासम्बन्धी रोगबाट पीडित छन्। शुद्ध पिउने पानी व्यवस्था नहँदा उनीहरू समस्यामा छन्। 
    
सामुदायिक वनछेउकै शिविर भएकाले हात्तीले उत्तिकै दुःख दिने गरेको छ। झुपडीमा मजदुरी गरेर जोहो गरेको अन्न हात्तीले खाइदिने भएकाले कयौँ दिन भोकै बस्नुपरेको कलावती दमाईंले सुनाइन्। शुक्लाफाँटा नगरपालिकाकै बासिन्दा भए पनि पीडा सुनिदिने जनप्रतिनिधि नपाएको उनी बताउँछिन्। 

‘यसअघिका जनप्रतिनिधिले शिविरमै आएर हालखबर बुझ्थे, सहयोग गर्थे,’ प्रेमबहादुर साउदले भने, ‘अहिले कोही जनप्रतिनिधि शिविरमा आउनुभएको छैन, कुनै सहायता पाएका छैनौँ।’ सुरक्षित स्थानमा शिविर सार्नुपर्ने उहाँहरूको माग छ।
    
‘सुरक्षित आवाससँगै रोजगारीको माग उठाउँदै आएका हौँ,’ राधिका सोबले भनिन्, ‘सुकुमवासीको फाराम पनि भरेका छौँ, हालसम्म पुनर्स्थापनाले गति नलिँदा कष्टकर जीवन बिताउन बाध्य छौँ।’ सामुदायिक विद्यालयमा बालबालिका पढाउँदा शुःल्क तिर्नुपर्ने हुँदा कक्षा ६/सातसम्म पढाएर बिचमै विद्यालय छुटाई मजदुरीमा लैजानुपर्ने बाध्यता शिविरका बासिन्दाको छ।
    
पहिरोले घरखेत लगेपछि सुरक्षित बासस्थानको खोजीमा केही त्यस क्षेत्रमा पुगेका हुन् भने केही पुस्तौँदेखि अर्काको घरमा काम गर्नेहरूलाई विसं २०६२मा शिविरमा सारिएको हो। शिविरमा पहिले १२ परिवारको बसोबास रहेकामा हाल वृद्धि भई २८ परिवार पुगेका छन्।