१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format o९:१४:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

जसलाई दसैँले छोएन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:१४:oo

न्युरोडको बन्द पसलको अगाडि घमाइलो दिनमा पनि ज्याकेटले छाेपेको शरीर, शिरमा बाक्लो टोपी अनि काँधमा झुन्डिएको नाम्लो । चुरोटको सर्को लिँदै धनबहादुर खत्रीले भने, ‘बिहानदेखि दसैँको खर्च जोहो गरौँ भनेको दिउँसो भइसक्यो अहिलेसम्म गोजी रित्तो छ ।’

अलिक परको टुँडिखेलमा दसैँको फूलपातीको उत्सव मनाइरहँदा खत्री भने न्युरोडमा भारी बोक्ने काम खोज्दै थिए । दसैँ लागेका मानिसहरू गोजीभरि पैसा बोकेर न्युरोडका पसल चहार्दा उनी भने गोजी तातो बनाउने खोजीमा थिए । हामीले उनलाई सोध्यौँ, ‘दसैँ लाग्या छैन दाजु ?’

 ‘खोइ सर, लाग्न त लाग्यो, तर मलाई त्यति स्वाद छैन, बिहान आइपुगेको दिन ढल्न  लाग्दा पनि काम पाइएको छैन, गोजी रित्तो हुँदा दसैँ आयो कसरी भन्नु ?’ उनी बिहीबार बिहानै घरबाट निस्किएका थिए, तर दिनभरि नयाँसडक, असन, भोटेवहालका गल्ली र पसल चहार्दा पनि काम पाइएको छैन । उनी आज रित्तो हात फर्कनुपर्छ कि भन्दै सुस्ताए । ‘हिजोअस्ति त काम जति पनि पाइएको थियो, आज पाइएन, रमाइलो भएन,’ उनले सुनाए । 

धनबहादुरको मन दिनभरि राम्रो आम्दानी नभएपछि खिन्न छ । ‘बिहान परिवारसँग मरमसला, कपडालगायतका सामग्री लिएर आउँछु है भन्दै बजार छिरेको थिएँ, तर आज रित्तो हात फर्कनुको विकल्प भएन,’ उनले भने । 

हरेक दिन भारी बोकेर मजदुरी गर्दै आएका खत्रीले यही कमाइले घरखर्च र परिवारको रेखदेख गर्नुपर्ने दायित्व छ । खत्रीको घरपरिवार पनि दिउँसोको कमाइले दसैँका सामान किन्ने योजनामा बसेको छ । 

विगत २७ वर्षदेखि भारी बोक्ने काम गर्दै आएका खत्रीले केही समय रिक्सा पनि चलाए । त्यो पेसाबाट भनेजस्ताे आम्दानी नभएपछि भारी बोक्न फेरि नाम्लो समाएका रहेछन् । उमेरले ६५ वर्ष कटिसकेका खत्री अहिले पनि ५० देखि ६० किलोसम्मको भारी बोक्दै हिँड्छन् । उनी मात्रै होइन, न्युरोडमा ज्यामी काम गर्ने ओखलढुंगाका ढाकाराज सुनुवारलाई पनि दसैँ लागिसकेको छैन । बन्दै गरेको घरमा मार्बल घोट्दै गरेका उनले पनि खत्रीको जस्तै व्यथा सुनाए ।

फूलपातीको दिन न्युरोड क्षेत्रमा नयाँ कपडा किन्ने ग्राहक र व्यापारीको होहल्ला चलिरहँदा सुनुवारलाई त्यसको कुनै आभास छैन । ‘खोइ, दसैँ आयो भन्छन् हुनेखानेलाई आयो होला । हामीजस्तालाई त आएको छैन । यसरी काम गर्नुपरेको छ, कसरी दसैँ मान्नु, तैपनि परम्परा धान्न भए पनि दसैँ त मान्नै परो,’ उनले भने । 

नेपालीहरूको महान् चाड बडादसैँको फूलपातीका दिन गाउँ तथा सहरमा पर्वको उल्लास छाइरहँदा खत्री र सुनुवारजस्ता भरियालाई दसैँ आयोभन्दा पनि दसैँका लागि खर्च जोहोकै चिन्ता छ । उनीहरू नाम्लो काँधमा हालेर दुई छाक टार्ने हुटहुटीमा न्युरोड, असन, इन्द्रचोक, महाबौद्धलगायत गल्ली र पसलमा चहारिरहेका छन् । 

सीमित आम्दानीले परिवारको खर्च धान्नुपर्ने परिस्थितिका कारण गाउँ जान नसकेका उनीहरूलाई सहरमा बसेर दसैँ मनाउन पनि सास्ती छ । भरियामध्ये कतिपय त गाउँ फर्किसके । परिस्थितिले परिबन्धमा परेका केही भरियालाई भने दसैँले यसपालि घर बोलाएन ।

त्यसैले ओखलढुंगाका २५ वर्षीय सुनुवारले जेनतेन यसपालि सहरमै दसैँ मनाउने निधो गरेका रहेछन् । ‘कमाइ पनि राम्रो छैन, बाटोघाटो पनि त्यस्तै छ, स–साना बालबालिकालाई कच्चीबाटोमा कसरी लैजाने । बरु जे–जसरी हुन्छ यसपटक आफ्नो जेथोअनुसारको दसैँ मनाउँछौँ,’ उनले भने । 

घर बनाउने काम गर्दै आएका अर्घाखाँचीका सुनील रानामगर पनि परिस्थितिले दसैँमा घर जान पाएनन् । ‘दसैँमा घर जान भनेजस्तो पैसा भएन । फेरि दसैँमा अनावश्यक खर्च पनि हुने भएकाले यसपालि घर जान मनले मानेन,’ उनले भने ।

रानामगर मात्रै होइन, दोलखाका माइला भुजेलले पनि यसपालि दसैँका लागि घर जाने बसको टिकट काटेनन् । उनले काम गरिरहेको घरमा भर्खरै ताला लागेको छ । श्रीमती र कान्छा छोरा भारतमा उपचारको क्रममा छन् । दसैँमा काठमाडौंमा मजदुरी गरिरहेका उनले भने, ‘परिवार पनि लाखापाखा छन्, आर्थिक अवस्था पनि त्यस्तै छ, कसरी गाउँ जाने, जे–जसो भए पनि सहरमै दिउँसो मजदुरी गरेर साँझ पेट पाल्नुपरेको छ ।’ सिबी अधिकारी/रासस