१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका दार्चुला
२o८२ असार २० शुक्रबार १३:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुला खलंगाको खानेपानीमा इकोली जीवाणु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार १३:५९:oo

दार्चुला सदरमुकाम खलंगामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि घातक हुने इकोली जीवाणु पाइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाले गरेको परीक्षणमा पाँच स्थानबाट संकलन गरिएको नमुनामध्ये चार स्थानको पानीमा इकोली जीवाणु फेला परेको हो ।

स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख वीरेन्द्रप्रसाद भट्टका अनुसार दूषित पानीकै कारण पानीमा इकोली देखिएको पुष्टि भएको छ । पछिल्लो दुई सातादेखि धमिलो पानी आउने गुनासो बढेपछि मुहान अनुगमन र पानी परीक्षण गरिएको थियो ।

इकोली जीवाणु मानव वा जनावरको मलजन्य दूषित पानीमा पाइने गरेको भट्टको भनाइ छ । खलंगामा वितरण भइरहेको पानी महाकाली नगरपालिका- ३ स्थित गारकुखोलाबाट ल्याइएको हो ।

एक महिनाअगाडि सोही खोलामा मरेको कुकुरको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यही खोलाको पानी सिधै डुंगरीस्थित ट्यांकी हालेर धारामा पठाइएको थियो । तर, ट्यांकीमा क्लोरिन नराखिँदा पानी धमिलो र दूषित देखिएको हो ।

पानीको मूल स्रोत, प्रशोधन युनिट र उपभोक्ताको धारासम्मको पानीमा इकोली पाइएको स्वास्थ्य कार्यालय प्रमुख भट्टको भनाइ छ । पानी प्रयोग गर्दा उपभोक्ता सचेत हुनु आवश्यक रहेको उनले बताए । पानीमा क्लोरिनको मात्रासमेत राष्ट्रिय खानेपानी गुणस्तर निगरानी निर्देशिका, २०७० र प्रथम संशोधन, २०७६ को मापदण्डअनुसार नभएको भन्दै नियमित रूपमा क्लोरिन मिसाएर मात्रै पानी वितरण गर्न खलंगा सहरी खानेपानी आयोजनालाई सुझाव दिइएको छ ।

प्रतिवेदनमा स्वास्थ्य कार्यालयले पानीको मुहान क्षेत्रवरिपरिको सरसफाइ, छेकबार, रेखदेख र वितरण पाइपहरूबाट अन्य दूषित पानी मिसिन नदिन नियमित अनुगमन र निगरानी गर्नुपर्ने सुझाव दिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।

स्वास्थ्य कार्यालयको प्रतिवेदनअनुसार महाकाली नगरपालिकामार्फत खलंगा सहरी खानेपानी आयोजनालाई पानीको गुणस्तर सुधार र सरसफाइमा ध्यान दिन भनिएको उनको भनाइ छ । साथै सरसफाइ सन्देश, उपभोक्तालाई कम्तीमा असार, साउन र भदौको महिनासम्म खानेपानी शुद्धीकरण तथा उमालेर खाने बानीको विकास गर्न सञ्चारमाध्यममार्फत सूचना सन्देश प्रसारण गर्न भनिएको छ ।

यसैगरी, यही असार १५ गते प्रमुख जिल्ला अधिकारी पौडेलले बैठक डाकेर खानेपानीमा देखिएको समस्या समाधान गर्न स्थलगत अनुगमन गर्ने तथा पानीको ‘स्याम्पलिङ’ गर्न निर्देशन दिएका थिए ।

यही असार १६ र १७ गते खानेपानी कार्यालय, उपभोक्ता समिति र स्वास्थ्य कार्यालयको टोलीले संयुक्त रूपमा स्थलगत निरीक्षण गर्दै पानीको नमुना संकलन गरेको थियो । परीक्षणमा राष्ट्रिय खानेपानी गुणस्तर निगरानी निर्देशिका, २०७० (प्रथम संशोधन २०७६) अनुसार पानीको गुणस्तर नपुगेको उल्लेख गरिएको छ ।

खलंगाको महाकाली नगरपालिका ४ र ५ का करिब दुई हजार दुई सय घरधुरीमा गडाकु खोलाबाट ल्याइएको पानी वितरण भइरहेको छ । दूषित पानीका कारण स्वास्थ्यमा गम्भीर असर परेको भन्दै समाधान गर्न आग्रह गरिएको नागरिक समाज दार्चुलाका अध्यक्ष महेशराज भट्टले बताए ।