
जिल्ला खेलकुद विकास समिति जुम्ला लामो समयदेखि खेलाडीविहीन भएको छ । यहाँ न प्रशिक्षक छन् न त खेलाडी नै छन् । जसका कारणले जिल्लाको खेलकुद क्षेत्र निकै सुस्ताएको देखिन्छ । छिटपुट रूपमा खेलकुदका कार्यक्रम हुने गरे पनि खासै पछिल्लो समय जिल्लामा वर्षमा एकपटक फुटबलबाहेक अन्य खेलकुदका कार्यक्रम पनि हुने गरेका छैनन्।
जिल्ला खेलकुद विकास समिति जुम्लामा एकजना खड्क मल्ल कराँतेका प्रशिक्षकबाहेक अन्य विधाका कुनै पनि प्रशिक्षक छैनन् । कराँतेका प्रशिक्षक मल्लसँग एकजना पनि खेलाडी पनि छैनन् । उनी कराँतेका प्रशिक्षक ब्यामिन्टनका खेलाडी बनेका छन् । धावक हरिबहादुर रोकाया एथलेटिक्स र बरमबहादुर महत भलिबलका प्रशिक्षक थिए। उनीहरू उमेरहदले निवृत्त (अवकाश) भइसकेका छन् ।
हरेक वर्ष स्थानीय राष्ट्रपति खेलकुद प्रतियोगिता गर्नुपर्ने हो । यस वर्ष हिमा गाउँपालिकाबाहेक अन्य कुनै पनि पालिकाले राष्ट्रपति खेलकुद प्रतियोगिता गर्न सकेनन् । स्थानीय तह हुँदै जिल्लारीय राष्ट्रपति खेलकुद प्रतियोगिता यस वर्ष हिमा गाउँपालिकाले गर्नुपर्ने हो । तर, हिमा गाउँपालिकाले आफ्नो पालिकास्तरीयबाहेक जिल्लास्तरीय राष्ट्रपति खेलकुद प्रतियोगिता गर्न सकेको छैन ।
अघिल्लो वर्ष तातोपानी गाउँपालिकाले जिल्लास्तरीय राष्ट्रपति खेलकुद प्रतियोगिता गरेको थियो । हरेक वर्ष गरिने नीगित रूपमा गर्नुपर्ने राष्ट्रपति खेलकुद प्रतियोगिता पनि हुने गरेका छैनन् । जसका कारणले खेलाडी हराउँदै गएका छन् । यसअघि कर्णाली प्रदेश सरकारले धनकृष्ण पाण्डेलाई अध्यक्ष र संगीता आचार्यलाई सदस्यसचिवसहित जिल्ला खेलकुद विकास समिति जुम्लाको समिति बनाएको थियो । उनीहरूको कार्यकालमा खेलकुदलाई चलायमान बनाउनुभन्दा पनि विवाद धेरै भयो । समितिका पदाधिकारी र संघका कर्मचारीबिच समन्वय र सहकार्य हुन नसकेपछि कार्यकाल विवादित बन्यो ।
खेलकुद क्षेत्रमा बजेट अभावका कारण जुम्लामा खेलकूद पूर्वाधार निर्माणदेखि प्रतियोगिताहरू हुन सकेका छैनन्। जुम्लाका आठै स्थानीय तहले खेलकुद क्षेत्रलाई उपेक्षा गरेपछि खेल गतिविधि शून्यजस्तै छन् । विश्वकीर्तिमानी धावक हरिबहादुर रोकाया र विश्वप्रसिद्ध धाविका सुनमाया बुढाको जिल्ला जुम्लामा खेलकुदको सम्भावना थुप्रै भए पनि स्थानीय तहहरूले खेल क्षेत्रलाई उपेक्षा गर्ने गरेका छन् ।
जुम्लाका आठ स्थानीय तहले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि जुम्लाका आठ पालिकाले तीन अर्ब ३२ करोडको बजेट ल्याउँदा कुनै पनि पालिकाले खेलकुदमा बजेट छुटाएका छैनन् । खेलकुद क्षेत्रमा स्थानीय तहको उपेक्षाले खेल क्षेत्र सुस्ताउँदै गएको छ । पूर्वाधारको अभावकै कारण जुम्लामा नियमित खेलकुद प्रतियोगितासमेत हुन सकेका छैनन् । लामो समयदेखि सुस्ताएको खेल क्षेत्रलाई चलायमान बनाउन ‘वार्षिक खेलकुद क्यालेन्डर’ बनाउन लागिपरेको जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले अठोट लिएका छन् । उनले भने, ‘खेल क्षेत्रमा लामो समयदेखि खेल क्षेत्रमा काम गरेका व्यक्तिहरूको सुझाव सल्लाह लिएर वार्षिक क्यालेन्डर बनाएर काम गर्नेछौँ ।’
स्रोत अभावबिच पनि खेल क्षेत्रलाई चलायमान बनाउन सक्रिय भएका जिल्ला खेलकूद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले वार्षिक खेलकुद क्यालेन्डर निर्माण गरेर स्रोत खोज्दै विभिन्न प्रतियोगिता आयोजना गर्न सबै जुट्नुपर्ने बताए । उनले भने, ‘जिल्लामा अधुरा अलपत्र अवस्थामा रहेका खेलकुदका संरचना निर्माण गर्नका लागि समन्वय सहकार्य गर्नेदेखि बजेट विनियोजनका लागि पहल गर्दै आएका छौँ ।’
जिल्लामा स्रोत नभए पनि संघ प्रदेशमा गुहारेर पनि आगामी भदौमा जुम्लामा राष्ट्रियस्तरको कुनै पनि खेल प्रतियोगिता गराउने तयारी गरेको कार्यालय प्रमुख न्यौपानेले बताए । उनका अनुसार खेल क्षेत्रमा स्थानीय तहलाई जिम्मेवार र जवाफदेही बनाउन यूवा जनशक्तिहरू सक्रिय हुन आवश्यक छ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले करोडौँ बजेट ल्याउने स्थानीय तहले खेल क्षेत्रलाई निकै उपेक्षा गरेको बताए । खेल क्षेत्रको विकासमा सबै गम्भीर हुनु आवश्यक छ । उनले भने, ‘जुम्लाका आठ पालिकाले करोडौँको बजेट ल्याउँदै गर्दा थोरै भए पनि खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनमा बजेट छुटाउनुपर्थ्याे । तर, कसैले चासो देखाएको पाइँदैन । खेलकुद क्यालेन्डर बनाउने कुरा प्रसंशनीय छ । अब नियमित खेलहरू आयोजना गर्न सबै जुट्नुपर्छ ।’
त्यस्तै, जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष धनकृष्ण पाण्डेले संघ प्रदेशले बजेट नदिने स्थानीय तहले खेल क्षेत्रलाई प्रथामिकतामै नराख्ने प्रवृत्तिले जुम्लाको खेल क्षेत्र सुस्ताउँदै गएको बताए । बजेट अभावकै कारण आफू अध्यक्ष हुँदा अपेक्षाकृत काम गर्न नसकेको उनले भने । अहिले सक्रिय कार्यालय प्रमुख आएका कारण खेल गतिविधि अघि बढ्ने अपेक्षा गरेका उनले बताए ।
विश्वकीर्तिमानी धावक हरिबहादुर रोकायाले आफूले खालीखुट्टा अभ्यास गरेर विश्वकीर्तिमान राखेको सम्झिँदै देश संघीयतामा गइसक्दा पनि खेल क्षेत्रको अवस्था दयनीय रहेको दुखेसो पोखेका छन् । उनले भने, ‘जिल्लामा खेलकुद पूर्वाधार पनि छैनन् । नियमित प्रतियोगिता पनि हुँदैनन् । नियमित अभ्यास गर्ने ठाउँको अभाव उस्तै छ । निर्माण हुन लागेका संरचना अलपत्र छन् । खेलाडीलाई सामान्य चनाअण्डा खानेसम्म बजेट कतै छैन । कसरी खेल क्षेत्रको विकास हुन्छ । अब सरोकारवालाहरू गम्भीर हुनैपर्छ ।’
बजेट अभावले खेल सम्भावना ओझेलमा पर्दै गएको हुँदा सबैको समन्वय सहकार्यमा नियमित प्रतियोगिता गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कार्यालय प्रमुख कविदत्त न्यौपाने आएपछि जुम्लामा खेलकूद गतिविधि बढ्ने आशा पलाएकोसमेत खेलकुदप्रेमी व्यक्तिहरूले बताएका छन् ।
जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले सबैको समन्वय र सहकार्यमा जुम्लालाई खेलकुदकाे हब बनाउन सकिने सम्भावना रहेको बताए । खेल गतिविधिलाई अघि बढाउन ‘वार्षिक खेलकुद क्यालेन्डर’ बनाउने तयारी थालेको उनको भनाइ छ।जुम्लामा सुस्ताएको खेलकुद गतिविधिलाई चलायमान बनाउन खेलकुद क्यालेन्डर बनाउन आवश्यक छ ।
उनले भने, ‘पूर्वाधार विकास करोडौँ खर्चिने पालिकाले लाखमा मात्रै खेलकुद क्षेत्रमा खर्चिए पनि जुम्ला खेलकुदमय बन्छ । तर, धेरैले चासो दिएका छैनन् । स्रोत नभए पनि खेल क्षेत्रलाई चलायमान बनाउन लागिपर्ने अठोट छ ।’ बजेट अभावकै कारण खेलकूद विकास समितिकै आडमा निर्माण भइरहेको भलिबल प्याराफिट अलपत्र परेको छ । पातारासीमा जग्गा विवादले करोडौँ खर्च भइसकेको हाइअल्टिच्युट ट्रेनिङ सेन्टर अस्तव्यस्त छ । प्रतियोगिता गर्नका लागि मैदानसमेत छैन ।