
गृहमन्त्री रमेश लेखक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात मजदुर संगठनबिच बाढीपहिरो, डुबानलगायतका प्राकृतिक विपतबाट अवरुद्ध सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउनेबारे छलफल भएको छ।
बुधबार गृह मन्त्रालयमा भएको छलफलमा यातायातको सहज र सुरक्षित सञ्चालनका बारेमा यातायात व्यवसायी, यातायात मजदुर संघ-संगठनका पदाधिकारीबिच विपतमा अवरुद्ध सडक सञ्चालन गरी चाडबाडका वेला सुरक्षित यात्राका विषयमा सकारात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।
‘विपतको स्थितिमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ,’ वरिष्ठ उपाध्यक्ष सिटौला भने, ‘बिपी राजमार्गअन्तर्गत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ।’
गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरहरूलाई तत्काल राहत उपलब्ध गराउन मातहतलाई निर्देशन दिएको सिटौलाले जानकारी दिए।
‘अवरुद्ध यातायात सञ्चालनदेखि मजदुरलाई राहत र चाडपर्वका वेला सुरक्षित यात्रालगायतका विषयमा छलफल भयो,’ उनले भने, ‘हामीले सवारी चेकजाँचलगायतका विषयमा पनि मन्त्रीज्यूसित आफ्नो कुरा राखेका छौँ।’
गृहमन्त्री लेखकले विपतका कारण अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मीसमेत सक्रिय रहेको बताए।
‘पृथ्वी राजमार्गको झ्याप्ले खोलालगायत पहिरोको जोखिम रहेका क्षेत्रमा ट्राफिक प्रहरी र अन्य सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने, ‘चाडबाडका वेला आएको विपतको सामना गर्दै सहज र सुरक्षित यात्राका लागि गम्भीर भएर लागेका छौँ।’