१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ जेठ १० शुक्रबार १७:४८:००
Read Time : > 1 मिनेट
समाचार

खैराँते विचारले पार्टी चल्न सक्दैन : पोखरेल

Read Time : > 1 मिनेट
२०७६ जेठ १० शुक्रबार १७:४८:००

नेकपाका नेता ईश्वर पोखरेलले दुई पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको विचारलाई चाँडै व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । विचारका आधारमा मात्र पार्टीको संगठानिक जीवन अगाडि बढ्न सक्ने उनले बताए ।

‘कम्युनिस्ट पार्टीलाई लैबरी हुने छुट पटक्कै छैन,’ शुक्रबार बिर्तामोडमा नेकपाको एक सय ७७ सदस्यीय झापा जिल्ला कमिटीलाई सपथ ग्रहण गराएपछि उनले भने, ‘हामीसँग विचार त छ तर, अलिअलि खैराँत–खैराँते हुँदैछ । विचार त चहकिलो पो हुनुपर्छ ।’ उपप्रधान तथा रक्षामन्त्री समेत रहेका नेता पोखरेलले ‘खैराँते’ विचारले पार्टी चल्न नसक्ने उल्लेख गरे ।

पोखरेलले बितेका दिनका कुरा कोट्याएर वर्तमानलाई घाइते नबनाउन कार्यकर्तालाई आग्रह गरे । पहिलेका कुरा समातेर हिँड्न थालेमा वर्तमानमा अघि बढ्न नसकिने उनको भनाइ थियो । ‘अब कोही पनि एमाले वा माओवादी केन्द्र हुन सक्दैन, हामी नेकपा भएर अगाडि बढिसक्यौँ,’ उनले भने, ‘पहिले एमाले वा माओवादी केन्द्र रहँदाका रहलपहल कुरा अब ननिकालौँ ।’ अलग मनोविज्ञान भएका दुई पार्टी एक ठाउँमा आउन केही ढिला भएको पोखरेलको स्वीकारोक्ती थियो । दुईवटा पार्टीका धेरैथरी कुरा मिलाउनुपर्दा ढिला भएको उनले बताए ।

पोखरेलले कम्युनिस्ट पार्टी फुट्न मात्र होइन, जुट्न पनि जान्दछन् भनेर विश्वलाई देखाइएको बताए । देशभरका कम्युनिस्ट कार्यकर्ता र नेपाली जनताको चाहना तथा राष्ट्रिय आवश्यकताको परिणामस्वरुप पार्टी एकता भएको उनको धारणा थियो । ‘अब ६/६ महिनामा सरकार ढल्ने दिन गए,’ उनले भने, ‘राजनीतिक स्थायित्व भएन भने विकासले पनि गति लिन सक्दैन ।’

तत्कालीन एमाले र माओवादीको सम्बन्ध पहिलेदेखि नै बहुआयामिक रहेको उनले बताए । द्वन्द्वकालमा माओवादीसँग वार्ता र छलफल गर्न आफू स्वयम् लखनउ र सिलिगुढीसम्म पुगेको उनले स्मरण गरे । ‘त्यतिबेलैदेखि हामीबीच एकताको विषयमा कुराकानी हुन्थ्यो,’ उनले भने, ‘अहिले पार्टी एकता कुनै रहस्यमा वा कसैको दवावमा भएको होइन, संवाद र मित्रताको पाटो नै एकताका लागि निर्णायक बन्यो ।’