१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
युएईमा मृत्यु भएका रेसुंगा नगरपालिका– १२ का २६ वर्षीय अनिल विकको शव बाकसमा ।
Invalid date format o७:o३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ऋण लिएर परदेशको सपना : डेढ दशकमा १९० गुल्मेलीले परदेशमा ज्यान गुमाए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:o३:oo

गाउँमा नियमित काम नपाएपछि रेसुंगा नगरपालिका–१२ का २६ वर्षीय अनिल विक तीन महिनाअघि मात्र युएई पुगेका थिए । तर, तीन लाख ऋण काढेर युएई पुगेका अनिल ऋण तिर्नसमेत नपाई उतै अस्ताए । रंगीन सपना बोकेर परदेश गएका अनिलको आठ दिनपछि शव घर ल्याएर दाहसंस्कार गरिएको छ । उनी १० साउनमा सडक दुर्घटनामा परे । साइकलमा कम्पनीमा काम गर्न जाँदा उनलाई गाडीले ठक्कर दियो । 

अनिलकी श्रीमती सरस्वती मुर्छा परिरहन्छिन् । सरस्वतीका अनुसार अनिलले पहिलो महिनाको पारिश्रमिक पनि घर पठाएका थिए । उनी युएईमा सामान लोड–अनलोडको काम गर्थे । पाँच भाइमध्येका कान्छा अनिलले यसअघि गाउँमै मजदुरी गर्थे । गाउँमा काम नपाएपछि उनी वैदेशिक रोजगारी गएका थिए । 

रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारका बालकृष्ण थापाले दुई दशक परदेशी जीवन बिताए । गत वर्ष १४ असारमा कार दुर्घटनामा युएईमै ज्यान गुमाए । सीता पनि पोहोर मात्र श्रीमान्सँगै युएई पुगेकी  थिइन् । तर, श्रीमान्लाई सेता बाकसमा लिएर स्वदेश फर्कनुपर्‍यो ।

बालकृष्णका  बुवा प्रेमबहादुर थापाले भने, ‘घटनाले सबैलाई विक्षिप्त बनाएको छ । आँखामा सपना बुनेका छोराछोरीको बिचल्ली भएको छ । बुहारी पनि शव बोकेर घर फर्किनुपर्‍यो ।’ बालकृष्णका १७ वर्षीय छोरा आयुष कक्षा १२ र १३ वर्षीया छोरी अदिति सात कक्षामा पढ्छन् । 

चन्द्रकोट गाउँपालिका– ३ हर्राचौरका टीकाबहादुर गुरुङ पनि युएईमै काम गर्थे । २३ जेठमा एक्कासि बिरामी परेका उनी पनि युएईमै अस्ताए । उनकी श्रीमती अनिताका अनुसार अस्पताल भर्ना भएको केहीबेरमै ज्यान गएको थियो । २६ जेठमा शव घर ल्याइएको हो । ‘अहिलेसम्म केही सोच्न सकेकी छैन । साना छोराको मुख हेरेर दिन बिताएकी छु,’ उनले भनिन् । गुरुङका दुई छोरा ८ वर्षीय अश्विन र २ वर्षीय अविन छन् । 

गुल्मेलीको रोजीरोटी वैदेशिक रोजगारी बनेको छ । तर, परदेश सजिलो छैन । देखेका सबै सपना नहुन पनि सक्छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार १० वर्ष (०६५/६६ देखि अहिलेसम्म) एक सय ९० गुल्मेलीले परदेशमा ज्यान गुमाएका छन् । एक सय ९० जना परदेशमै र चारजना बिरामी भएर फर्किएपछि नेपालमा मृत्यु भएको बोर्डले जनाएको छ ।

वैधानिक प्रक्रियाबाट परदेश जानेहरूको कुनै घटना वा दुर्घटना भएमा विभिन्न खाले सहायता छन् । मृत्यु भएकाको लागि सात लाख बिमाबापतको रकम, छोराछोरीलाई शैक्षिक छात्रवृत्ति, परिवारका सदस्यलाई पाँच प्रकारका गम्भीर रोग लागेमा ५० हजार सहयोग उपलब्ध हुने जिल्ला प्रशासन कार्यालय गुल्मीमा रहेको सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता शिव भण्डारीले जानकारी दिए । 

अंगभंग हुनेको हकमा अवस्था हेरेर ५० हजारदेखि सात लाखसम्म आर्थिक सहायता प्राप्त हुने गर्छ । अहिलेसम्म मृत्यु भएका एक सय ९४ र अंगभंग भएका ४४ जनाले आर्थिक सहायता पाएको भण्डारीले बताए । उनले केन्द्रले मनोसामाजिक परामर्श, आर्थिक तथा कानुनी सहायता सहजीकरण र उद्धारको काम गर्ने बताए ।

एक वर्षमा १२ हजार दुई सय ७३ राहदानी सिफारिस
गुल्मीमा राहदानी बनाउनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार आव ०८०/८१ मा १२ हजार दुई सय ७३ राहदानी सिफारिस भएका छन् । त्यसअघिल्लो आव ०७९/८० मा १५ हजार ८६ राहदानी सिफारिस भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । राहदानी बनाउने अधिकांशको उद्देश्य वैदेशिक रोजगारी, शिक्षा र भेटघाट एवं भ्रमण रहेको गैरेले बताए । प्रशासन कार्यालयहरूमा राहदानी बनाउने निम्न र मध्यम वर्गीय व्यक्ति तेस्रो मुलुक, महिलाहरू अधिकांश जापान र आर्थिक स्रोत बलियो भएका युरोप जानेहरू छिटो राहदानी सिफारिस माग्न आउने गरेको गैरेले बताए ।