
नेपाली राजनीतिमा बिपी र पुष्पलाललाई कसरी सम्झिनु ठीक हुन्छ ?
दुवै नेता देश र जनहितमा प्रतिबद्ध हुनुहुन्थ्यो । पुष्पलालजी त्यतिवेलैदेखि आफूलाई गणतन्त्रवादी हुँ भन्नुहुन्थ्यो । बिपी प्रतिबद्ध प्रजातन्त्रवादी हुनुहुन्थ्यो । पुष्पलालजी कम्युनिस्ट पार्टीहरू टुक्राटुक्रा हुँदा पनि गणतन्त्रको लाइनबाट विचलित हुनुभएन । उहाँलाई गद्दार भन्नेहरू पनि थिए । तर, त्यस्तो अवस्थामा पनि उहाँ आफ्नो विचारबाट डगमगाउनुभएन । दुवै नेताको त्याग, तपस्या र योगदान नेपाली राजनीतिमा निकै ठूलो छ ।
बिपीको बाटोमा कांग्रेस र पुष्पलालको बाटोमा वामपन्थी शक्तिहरू हिँडेका छन् त अहिले ?
पुष्पलालजीको पनि बाटो संसदीय राजनीतिकै हो । उहाँले ०१५ सालको संसदीय निर्वाचनमा भाग लिनुभएकै हो । गणेशमानजीसित पराजित हुनुभए पनि उहाँमा संसदीय राजनीतिप्रति विश्वास थियो । ०१७ सालपछि भारत निर्वासित भए पनि उहाँले संसद् पुनस्र्थापनामै जोड दिनुभएको थियो । कम्युनिस्ट शक्तिलाई बहुदलीय राजनीतिमा ल्याउने बाटो उहाँले नै बनाउनुभएको हो । उहाँले नक्सलवादी आन्दोलनलाई चाहिँ समर्थन जनाउनुभएन । कांग्रेसमा आदर्श भन्ने केही बाँकी रहेन । पार्टी बिपीको विचारबाट टाढिए पनि अहिलेका नेताहरूले नै देशमा राजतन्त्र अन्त्य गरी गणतन्त्र ल्याएका हुन् । सत्ता सञ्चालन र सुशासनमा चाहिँ यिनीहरू असफल देखिएका छन् । उनीहरू सत्तामुखी भएर परिवारवादमा लागे पनि पार्टी भने ट्र्याकमै छ ।
बिपी र पुष्पलालबाट अहिलेको राजनीतिक पुस्ताले के सिक्नुपर्छ ?
दुवै नेता राजनीतिक निष्ठा, जनताप्रतिको प्रतिबद्धता, स्वार्थरहित राजनीति, कर्तव्यपरायणताका लागि चिनिनुहुन्थ्यो । उहाँहरूबाट अहिलेको पुस्ताले पनि तिनै गुण सिक्न सक्नुपर्छ । त्याग, तपस्या र निष्ठा नै अहिलेको पुस्ताले उहाँहरूबाट सिक्नुपर्ने गुण हुन् ।