मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
२o८२ भदौ २३ सोमबार १९:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बोक्सीको आरोपमा रौतहटमा एक महिलालाई छिमेकीले मानव मलमूत्र खुवाए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १९:२३:oo

रौतहटमा एक महिलालाई बोक्सीको आरोपमा मानव मलमुत्र खुवाइएको घटना सार्वजनिक भएको छ। गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडियामा बसोबास गर्ने रामएकवाल साह बानियाकी ५५ वर्षीया श्रीमती सुशिला देवीलाई छिमेकीहरुले निर्घात कुटपिट गर्दै कपाल मुण्डन गरी मानव मलमूत्र खुवाएका हुन्।

४० वर्षीय दिनेश साह कानु, उनका छोरा २२ वर्षीय गोलु साह कानु र ३५ वर्षीय विक्रम साह कानुलगायत मिलेर आइतबार सुशिला देवीमाथि बोक्सीको आरोप लगाउँदै सामूहिक कुटपिटसमेत गरेका छन्। घटनाको सुरुवात बिहान भएको हो, जब दिनेश साह कानुकी श्रीमती ३७ वर्षीया संगिता देवी अकस्मात बिरामी परिन्। उनलाई उपचारका लागि गरुडास्थित रोमा अस्पताल पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्ज लैजाने क्रममा दिउँसो २ बजे बाटोमै मृत्यु भएको थियो।

संगिता देवीको मृत्यु भएपछि छिमेकी सुशिला देवीले टुनामुना गरेको आरोप लगाउँदै मृतकको परिवारजनले आक्रोश पोख्दै सुशिला देवीलाई कुटपिट गर्दै कपाल मुण्डन गरी मलमूत्र खुवाएका हुन्। घटनाबारे जानकारी पाउना साथ दिउँसो करिब ३ बजे प्रहरी टोली घटनास्थल पुगेको थियो।

इलाका प्रहरी कार्यालय गरुडाका सई ज्ञानेन्द्र ढकालको कमाण्डमा पुगेको टोलीले पीडित महिलालाई उद्धार गरेको हो। तर, उक्त अमानवीय कार्यमा संलग्न तीनैजना फरार छन्। पीडित परिवारले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन्।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटनाको पुष्टि गर्दै बोक्सीको आरोपमा कुटपिट गर्ने ७ जनामाथी पीडितको तर्फबाट जाहेरी परेको जानकारी दिए। ‘कुटपिट गरेको टाउको मुण्डन गरेको त स्पष्ट छ। मलमूत्र खुवाएको हो कि होइन त्यसबारे अनुसन्धान भइरहेको छ,’ डिएसपी कार्कीले भने।

घटना लगत्तै आरोपीहरु घर छोडेर फरार भएकाले उनीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए।