
सोमबार भएको ‘जेन–जी’ आन्दोलनमा घाइते भएका व्यक्ति र मृतक परिवारलाई सहयोगार्थ पाँच लाख रुपैयाँ प्रदान गर्ने घोषणा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले गरेको छ।
घाइतेहरूको उपचार र मृतकका परिवारको राहतका लागि गाउँपालिकाले स्थापना गरेको सामाजिक उत्तरदायित्व कोषबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै गाउँपालिकाले अन्य आवश्यक सहयोगको प्रतिवद्धता पनि व्यक्त गरेको छ। जेनजी आन्दोलनमाथि भएको दमन र आक्रमणप्रति गहिरो चिन्ता, आक्रोस र दुःखसमेत गाउँपालिकाले प्रकट गरेको छ।
‘लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा जेनजी पुस्ता र नागरिकहरूले आफ्ना आवाज शान्तिपूर्ण रुपमा उठाउने अधिकारलाई दबाउने जुनसुकै प्रयास पनि अस्वीकार्य छ,’ गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनमा सहभागी नागरिकमाथि गरिएको बल प्रयोग, दमन र अवरोधप्रति गहिरो समवेदना प्रकट गर्दछौं।’
आन्दोलनका क्रममा भएका सबै घटनाको तत्काल, निष्पक्ष छानविन गर्न, दोषीहरूलाई कान्नी दायरामा ल्याउन तथा पीडितलाई न्याय दिलाउन, घाइतेहरूको उपचार खर्च र पुनस्र्थापनाको जिम्मा लिन र आन्दोलनमा बल प्रयोग तुरुन्त अन्त्य गर्न पनि गाउँपालिकाले माग गरेको छ।