१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 03 May, 2025
प्रेमलकुमार खनाल
Invalid date format o७:४१:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पुष्पलाल स्मृति र वामपन्थी एकताको प्रश्न

पुष्पलालले देखाएको सिद्धान्त, संघर्ष र संगठनको बाटोबाट एकताबद्ध भई अगाडि बढ्न नेपालका वामपन्थीहरूले ध्यान दिनुपर्छ

Read Time : > 5 मिनेट
प्रेमलकुमार खनाल
नयाँ पत्रिका
Invalid date format o७:४१:oo

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ७ साउनको स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइन्छ । नेपालमा कम्युनिस्ट विचार फैलाएर कम्युनिस्ट पार्टी स्थापना गर्ने पहिलो व्यक्ति पुष्पलालबाट यति वेला नेपालका कम्युनिस्ट पार्टी तथा वामपन्थीले पाठ सिकेर कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाई समाजवादी क्रान्ति सम्पन्न गरी नेपालमा समाजवाद स्थापना गर्नुपर्ने ऐतिहासिक युगीन अभिभारा आइलागेको छ । 

जहानियाँ राणा शासनले आफ्ना दाजु गंगालाललाई मृत्युदण्ड दिएपछि नेपालको कम्युनिस्ट आन्दोलनका शिखर व्यक्तित्व पुष्पलालमा राणा शाहीविरुद्ध घृणा, आक्रोश र विद्रोहको भावना जागृत भयो  । अत्याचारी, सामन्ती राणा शासन अन्त्य गर्नुपर्छ भन्ने भावनाका साथ राजनीति सुरुवात गर्ने क्रममा पुष्पलाल सुरुमा नेपाली कांग्रेसका सचिव पदमा रहेर काम गरे । तर, क्रान्तिकारी स्पिरिटअनुसार कांग्रेसले राणाविरुद्ध संघर्ष गर्न सक्तैन भन्ने निष्कर्ष निकालेर पुष्पलाल कांग्रे्रेसबाट अलग भए । र, राणा शासन फालेर जनता सार्वभौमसत्ता सम्पन्न भएको गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने दृढ अठोटसाथ माक्र्सवादको अध्ययन गर्दै उनले पहिलोपटक भूमिकासहित कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद गरेर प्रकाशन गरे । देशभित्र राणा शासनको दबदबा भएका कारण भारतको कलकत्तामा गएर वि.सं. २००६ वैशाख १० मा पुष्पलालले आफूसहित निरन्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी रहेको नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे ।

पुष्पलालको अगुवाइमा सुरुवात भएको सामन्तवाद एवं साम्राज्यवादविरोधी ५७ वर्ष लामो आन्दोलनको परिणामस्वरूप ०६३ मा मुलुकमा गणतन्त्र स्थापना गर्न सम्भव भयो । पुष्पलाल नेपालमा मार्क्सवादी  विचार फैलाउने पहिलो व्यक्तित्व थिए  । पुष्पलालले नेपाली कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको योगदान विशिष्ट रहेको छ । पुष्पलालका योगदान निम्नअनुसार रहेका छन् ।

नेपालका कम्युनिस्ट पार्टी तथा वामपन्थीले पुष्पलालबाट पाठ सिकेर कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाई समाजवादी क्रान्ति सम्पन्न गरी नेपालमा समाजवाद स्थापना गर्नुपर्ने ऐतिहासिक युगीन अभिभारा आइलागेको छ
 

पहिलो, पुष्पलालले नै पहिलोपटक विसं २००५ मा कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरेर माक्र्सवादी विचार फैलाउने काम गरेका थिए । दोस्रो, पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टी स्थापना गरेर शोषित, पीडित जनताको मुक्तिका लागि वैज्ञानिक समाजवाद स्थापना गर्ने बाटो देखाए । तेस्रो, पुष्पलालले नेपाली समाजको ऐतिहासिक भौतिकवादी दृष्टिकोणका आधारमा विश्लेषण गरेर सामन्तवादविरोधी आन्दोलनलाई अगाडि बढाउन नेपाली समाजको चरित्र निरूपण गर्दै आधारभूत अन्तरविरोध र प्रधान अन्तरविरोधको निर्धारण र नेपाली क्रान्तिको बाटो, क्रान्तिका शत्रु र मित्र शक्ति, सामन्तवादविरुद्धको संयुक्त जनआन्दोलनको कार्यनीतिबारे नीति निर्धारण गरेर नेपाली क्रान्तिको सिद्धान्त प्रतिपादन गरी सामन्तवादविरोधी आन्दोलनलाई दिशाबोध गर्दै वैचारिक नेतृत्व प्रदान गर्ने काम गरे ।

चौथो, पुष्पलालले नेपाली क्रान्तिलाई अगाडि बढाउन निरंकुश राजतन्त्र अन्त्यका लागि वाम एवं लोकतान्त्रिक शक्ति मिलेर संयुक्त जनआन्दोलनको कार्यनीति अवलम्बन गर्ने जुन विचार अगाडि सारेका थिए, त्यसैको परिणामस्वरूप ०६२/६३ मा सर्वहारा श्रमजीवी वर्गको अग्रदूत कम्युनिस्ट पार्टी र लोकतान्त्रिक राजनीतिक शक्तिहरूको संयुक्त आन्दोलनबाट नेपालमा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना गर्न सम्भव भयो ।

पाँचौँ, पुष्पलालले कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी पार्टीका रूपमा अगाडि बढाउन तीन ‘स’ अर्थात् ‘सिद्धान्त, संगठन र संघर्ष’ को सिद्धान्तबाट निर्देशित भएर पार्टी सञ्चालन गर्न हमेसा जोड दिएका छन्  । उनी कम्युनिस्ट पार्टीले माक्र्सवाद–लेनिनवादका सार्वभौम सिद्धान्त र सत्यतालाई दृढतापूर्वक आत्मसात् गर्ने र कार्यकर्तालाई तदनुरूप माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट प्रेरित गर्नुपर्छ भन्ने मान्यतामा दृढ थिए  । कुनै पनि वस्तु स्थायी छैन, सबै गतिशील छन्  ।

दुनियाँमा निरन्तर प्रगति भइरहन्छ  । उत्पादनका साधनमा प्रगति भएपछि विचारधारामा पनि क्रान्ति हुन्छ  । यसले गर्दा नयाँ र पुरानो विचारधाराका क्षेत्रमा पनि संघर्ष हुन्छ  । यसको सही समाधान मार्क्सवाद–लेनिनवादले मात्र गर्छ  । पार्टीको सिद्धान्त, नीति, विचारमा कार्यकर्ता अस्पष्ट भएमा पार्टीको क्रान्तिकारीपन भुत्ते हुन्छ  । अतः पार्टीले मार्क्सवादी –लेनिनवादी सिद्धान्तलाई दृढतापूर्वक आत्मसात् गर्दै कार्यकर्तालाई दीक्षित गरे मात्र पार्टी सैद्धान्तिक, वैचारिक हिसाबले क्रान्तिकारी बन्छ भन्ने पुष्पलालको विचार अहिले पनि सामयिक छ । 

छैटौँ, पुष्पलालले कम्युनिस्ट पार्टी निर्माणबारे महत्वपूर्ण विचार प्रदान गरेका छन् । पुष्पलालले पार्टीले सही सिद्धान्त मात्र अवलम्बन गरेर हुँदैन, पार्टीका नीति र विचारलाई आमजनताबीच पुर्‍याउन र पार्टीभित्र जनतालाई संगठित गर्न आधारभूत तहसम्म पार्टी संगठनको संरचना विस्तार गर्नुपर्छ भन्ने विचार अगाडि सारेका छन्  । यस्तै, पार्टीमा आधारभूत तहका मानिस, मजदुर, किसान, सुकुमवासी, गरिब किसान एवं निम्न मध्यम वर्गका मानिसलाई भर्ती गर्न सकिएन भने तथा पार्टीभित्र पुँजीवादी, धनी किसान र सहर बजारका मध्यमवर्गका मानिसको बोलवाला बढ्न थाल्यो भने नेतृत्वमा उनीहरू नै चाँडो पुग्छन् र पार्टीमा अवसरवादी र संशोधनवादीको बाहुल्य बढ्न थाल्छ भन्ने विषयमा पुष्पलालले स्पष्ट विचार अगाडि सारेका छन् ।

सातौँ, पुष्पलाल ‘नेता प्रधान होइन, नीति प्रधान हो’ भन्नेमा हमेसा जोड दिन्थे । कम्युनिस्ट पार्टीमा प्रायः व्यक्तिहरू पार्टीको नीति वा सत्यका पक्षमा भन्दा पनि शक्ति र नेता (नेतृत्व) को पछि लाग्ने गरेका छन्  । पार्टीभित्र गुटबन्दी बढ्दै गएपछि व्यक्तिहरू नेताको पछि लाग्ने र अमुक नेतालाई देवत्वकरण गर्ने प्रवृत्ति छ । यो वास्तवमा गलत प्रवृत्ति हो  ।

आठौँ, पुष्पलाल कम्युनिस्ट पार्टीलाई जनवादी केन्द्रीयताका आधारमा सञ्चालन गर्न र पार्टीभित्र आलोचना–आत्मालोचनाको परिपाटीलाई स्थापित गर्न हमेसा जोड दिने नेता थिए । साथै, पिठ्युँपछाडि पार्टी र नेतृत्वको कुरा काट्ने कदापि गर्नुहुन्न, विचार र पद्धति तथा पार्टी परम्पराबाट पार्टी सञ्चालन हुनुपर्छ भन्ने मान्यतामा अडिग पुष्पलालले पार्टी पद्धति भनेको जनवादी केन्द्रीयताको पद्धति हो, जनवाद र केन्द्रीयता पार्टी संगठनका दुई पहलु हुन्, यी तराजुका दुई पल्लाझैँ हमेसा यिनको बराबर सन्तुलित अभ्यास पार्टीभित्र गरिनुपर्छ, यसमा बेथिति वा असन्तुलन आएमा पार्टी जीवनमै बेथिति देखापर्छ र यसले पार्टीमा निरंकुशता, स्वेच्छाचारिता र अराजकता सिर्जना गर्छ भन्ने विचार पुष्पलालले अगाडि सारेका थिए ।

नवौँ, पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरेर नेपाली क्रान्ति गर्ने जुन विचार नीति, कार्यक्रम अगाडि सारे, तर पार्टी स्थापना महाधिवेशनदेखि नै पुष्पलालका विचारविरुद्ध पार्टीभित्र संशोधनवाद हाबी हुन थाल्यो । परिणामस्वरूप उनी संस्थापक महासचिव भएर पनि २०१० मा भएको पहिलो महाधिवेशनबाट महासचिवमा निर्वाचित भएनन् ।

दोस्रो महाधिवेशनमा पुष्पलालको गणतन्त्रको कार्यदिशा पारित भयो, तर नेतृत्व केशरजंग रायमाझीले हत्याउन सफल भए र उनले राजावादी लाइन लिएर पार्टीलाई दक्षिणपन्थी बाटोबाट अगाडि बढाउन थाले । पुष्पलालले पार्टीभित्र देखापरेको दक्षिणपन्थी अवसरवाद र राजापरस्त लाइनको दृढतापूर्वक विरोध गर्दै तेस्रो महाधिवेशनबाट विद्रोह र पुनर्गठन गरेर पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउन नेतृत्व गरे । पुष्पलालले पार्टीभित्र दक्षिणपन्थी अवसरवाद र राजापरस्त नीतिसामु आत्मसमर्पण नगरीकन विद्रोह र पुनर्गठनको बाटोबाट कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाएकै परिणामस्वरूप आज नेपालमा कम्युनिस्ट आन्दोलनको जुन विकास र विस्तार भएको छ, यसमा पुष्पलालको ठूलो योगदान रहेको छ ।

पुष्पलालले स्थापना गरेको एउटै मात्र कम्युनिस्ट पार्टी ७५ वर्षमा आइपुग्दा साना–ठूला गरी दुई दर्जनभन्दा बढी चिरामा विभाजित भएको छ । कम्युनिस्ट पार्टी स्थापना र सञ्चालनको सैद्धान्तिक वैचारिक आधार भनेको माक्र्सवाद र लेनिनवादी सिद्धान्त नै हो । तैपनि, आज कम्युनिस्टहरू विभाजित छन् । कम्युनिस्ट आन्दोलनमा उग्रवामपन्थी भड्काव तथा दक्षिणपन्थी अवसरवादी चिन्तनकै कारण आज नेपाली कम्युनिस्ट विभाजित अवस्थामा छन् ।

पुष्पलालले फैलाएको विचारका आधारमा झन्डै दुईतिहाइको जनमत वामपन्थी जनमतको रूपमा विकास र विस्तार भएको छ । तर, नेपालका कम्युनिस्टहरू विभाजित अवस्थामा रहँदा अल्पमतमा झर्दै गएको बुर्जुवा शक्तिले नै संसदीय राजनीतिमा तथा राज्यसत्ताको नेतृत्व गर्ने अवसर पटक–पटक प्राप्त गरेको छ । यसबाट भाइ फुटे गवार लुटे भन्ने उक्ति यति वेला चरितार्थ भएको छ । एमाले र माओवादी मिलेर बनेको नेकपालाई अदालत लगाएर पुनः विभाजन गराउने काम भयो । नेकपाभित्र भएको अन्तरसंघर्षको सही ढंगबाट व्यवस्थापन हुन नसक्दा अर्थात् पुष्पलालले अगाडि सारेको विचारअनुसार पार्टी सञ्चालन हुन सकेन । परिणामतः एकीकृत भएको कम्युनिस्ट पार्टी पुनः विभाजित भयो । यो नेपालको वाम आन्दोलनका लागि दुःखद घटना हो ।

यतिखेर पुष्पलालले मुलुकको वाम एवं लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको विशद व्याख्या विश्लेषण गरेर त्यसको निष्कर्षअनुरूप असंवैधानिक गतिविधि गर्ने, सर्वसत्तावादी ढंगबाट शासन सञ्चालन गर्ने र मुलुकलाई प्रतिगमनको बाटोमा लैजाने शक्ति र प्रवृत्तिविरुद्धको संघर्षलाई अझ तेज बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्दै समाजवादी क्रान्ति गरेर वैज्ञानिक समाजवाद स्थापना गरी नेपाली क्रान्तिलाई पूर्णता प्रदान गर्न पुष्पलालबाट सिक्नुपर्ने थुप्रै विषय छन्  ।

यसैगरी, कम्युनिस्ट आन्दोलनमा देखापरेको दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद, व्यक्तिवाद, अहंकारवाद र सर्वसत्तावादी सोच र चिन्तनविरुद्ध दृढतापूर्वक वैचारिक संघर्ष गरेर पुुुष्पलालले अगाडि सारेको कम्युुुनिस्ट पार्टीको कार्यपद्धति तीन ‘स’को ‘सिद्धान्त, संघर्ष र संगठन’को नीतिअनुरूप सञ्चालन गरी पार्टीलाई वैचारिक, सांगठनिक एवं क्रान्तिकारी ढंगबाट पार्टी सञ्चालन गर्न आवश्यक छ । र, एकीकृत कम्युनिस्ट आन्दोलनको विकासका लागि पुष्पलालले देखाएको सिद्धान्त, संघर्ष र संगठनको बाटोबाट अगाडि बढ्न नेपालका वामपन्थीहरूले ध्यान दिनु जरुरी छ  ।

नेपालका कम्युनिस्ट पार्टीहरूबीच तत्काल एकता वा एकीकरण सम्भव देखिँदैन । तर पनि विचार मिल्ने कम्युनिस्ट पार्टीहरूबीच सहकार्य गरेर अगाडि बढ्न सक्ने प्रचुर सम्भावना छ । यति मात्रै होइन समाजवादी विचार बोक्ने अन्य राजनीतिक शक्तिसहितको बृहत् ‘समाजवादी केन्द्र’लाई पुनर्गठन गरेर अगाडि बढ्ने विषय सार्वजनिक भएको छ । यो सकारात्मक हो । 

यति वेला मुलुकसामु राष्ट्रियताको संरक्षण र संवद्र्धन गर्ने अभिभारा रहेको छ । यस्तै, मुलुकमा गरिबी र बेरोजगारीलाई न्यूनीकरण गरी समृद्धि हासिल गर्ने, स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने अभिभारा र चुनौती पनि छन् । यस्तै, आर्थिक–सामाजिक रूपान्तरण गरेर समाजवादको आधार निर्माण गर्ने अभिभारा पनि यथावत् छन् । यसलाई सामना गर्दै अगाडि बढ्नका लागि वामपन्थीले समाजवादी क्रान्ति गर्ने स्पष्ट नीति कार्यक्रम तय गरेर यसका आधारमा एकता र सहकार्य गर्नका लागि बृहत् वाम मोर्चा वा समाजवादी केन्द्र बनाएर अगाडि बढ्न आवश्यक छ ।

(खनाल नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन्)