Skip This
बढी वर्षाले डेंगु बढाउने : सचेत रहन सरकारको आग्रह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १० सोमबार
  • Tuesday, 23 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १० सोमबार o६:o९:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बढी वर्षाले डेंगु बढाउने : सचेत रहन सरकारको आग्रह

६ महिनामा ७२ जिल्लामा १२ सय ६८ जनामा डेंगु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १० सोमबार o६:o९:oo

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान आइरहेका वेला त्यसले डेंगु संक्रमण बढाउने देखिएको छ । स्वास्थ्य मन्त्रालयले मौसम परिवर्तनसँगै डेंगु संक्रमण बढ्ने सम्भावना देखिएको भन्दै सजग रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ । 

पछिल्लो ६ महिनायता देशका ७२ जिल्लामा एक हजार २६८ जनामा डेंगु देखिइसकेको र पानी पर्न थालेपछि जोखिम झन् बढ्ने अनुमान गरिएको छ । ‘मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र संक्रमितको संख्यामा समेत बढोत्तरी हुन सक्ने देखिन्छ,’ मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने । 

उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनुजस्ता लक्षण डेंगु संक्रमणका हुन् । यस्ता लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनुपर्ने डा. बुढाथोकीको भनाइ छ । 

संक्रमण गम्भीर हुँदै जाँदा एक्कासि उच्च ज्वरो आउने, बान्तामा रगत देखापर्ने, नाक वा गिजाबाट रगत, रक्तस्राव, धेरै पेट दुखाइ, श्वास–प्रश्वासमा समस्या र बेहोस हुनेजस्ता लक्षणसमेत देखिने गर्दछन् । संक्रमणको गम्भीर लक्षण देखिएमा अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लैजानसमेत मन्त्रालयले आग्रह गरेको हो । 

यसबाहेक, संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नसमेत आग्रह गरिएको छ । लामखुट्टे फैलिने वातावरण बन्न नदिन सफा पानी भरिएका खाल्डाखुल्डी वा भाँडाहरू सफा गर्ने, पानी जम्न नदिने गर्नुपर्छ । साथै, शरीर छोपिने लुगाहरू लगाउन र घरमा बस्दा झुल वा अन्य लामखुट्टे धपाउने वस्तुको प्रयोग गर्नसमेत मन्त्रालयले आग्रह गरेको हो ।