
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजनामा आजदेखि काठमाडौंको सुन्धारास्थित सिनेडी सेफ चलचित्र भवनमा तीनदिने ‘१२औँ नेपाल–अफ्रिका चलचित्र महोत्सव २०२४’ सुरु भएको छ।
असार ९ गतेसम्म चल्ने महोत्सवमा १० देशका २८ चलचित्र, वृत्तचित्र र लघुचलचित्र प्रदर्शन हुँदै छन्। महोत्सवमा नेपालसहित साउथ अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, जिम्बाबे, क्यामरुन, मोरिसस, जमैकालगायत देशका चलचित्र प्रदर्शन हुने महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए।
उद्घाटन समारोहका प्रमुख अतिथि अभिनेता शिव श्रेष्ठले यस्ता गतिविधिमा चलचित्र क्षेत्रसँग जोडिएका सरोकारवाला संस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिए। महोत्सवमा अभिनेता श्रेष्ठसँगै अभिनेता धीरेन शाक्य, गजित विष्ट, निर्देशक माधवराज खरेल, अभिनेत्री तथा गायिका सरिता भारतीलगायत सहभागी थिए।
महोत्सवमा विदेशी चलचित्रतर्फ ‘फुल्स’, ‘द चेस्लर’, वृत्तचित्रतर्फ ‘वि ह्याभ नेभर विन किड्स’, ‘ह्वाइट पोसन’ तथा लघु चलचित्रतर्फ ‘डाइनिज’, ‘अफस्प्रिङ’, ‘सर्भाइभर’ र ‘इग्नोरेन्स इज अ लाइफस्टाइल’ सहभागी छन्।
यस्तै, नेपालबाट चलचित्र र आदिवासी चलचित्रतर्फ ‘सरी मम’, ‘काँडेतार’, ‘गोर्खा वारियर’, ‘सनाखत’, ‘आफ्नै कर्म’, ‘लोजिमा’ र ‘रित’, वृतचित्रतर्फ ‘जर्नी टु गोक्यो’, ‘काँचो वायु’ र ‘चेसिङ द ड्रिम’ तथा लघु चलचित्रतर्फ ‘सिगरेट’, ‘आमा’, ‘ऐना’, ‘ढुकढुकी’, ‘घटेरो’, ‘हे दैव’, ‘जुत्ता’, ‘म्यारिज डे’, ‘मातृत्व’ र ‘रोटेन ब्लड’ सहभागी छन्।