
कर्मचारीको आन्दोलनले प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
अतिरिक्त समय काम गरेको भत्ता पाउनुपर्ने माग गर्दै विगत साता दिनदेखि आन्दोलनमा रहेका संसद् सेवाका कर्मचारीले प्रतिनिधिसभा चलिरहेका वेला 'ब्ल्याक आउट' अर्थात् जिम्मेवारी अवज्ञा गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।
बुधबार बिहान प्रतिनिधिसभाको पहिलो बैठकमा विनियोजन विधेयकअन्तर्गत खेलकुद मन्त्रालयको शीर्षकमा छलफल भएको थियो। तीन बजे छलफल सकिएपछि १५ मिनेटलाई स्थागित गरिएको थियो।
तर, दोस्रो बैठक झन्डै चार बजे सुरु भएको थियो। निर्धारित कार्यसूचीअनुसार स्वास्थ्यमन्त्री प्रदीप यादवले झन्डै एक घण्टा विनियोजन विधेयकअन्तर्गत आफ्नो मन्त्रालयको शीर्षकमा उठेका प्रश्नको जवाफ दिएका थिए।
यति वेला पाँच बजिसकेको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्रीको जवाफमा पूरक प्रश्न सोध्न सांसदहरूलाई समय दिए।
१० भन्दा बढी सांसदले पूरक प्रश्न सोधे। तर, संसद्बाट लाइभ हुने भिडियोमा सभामुख मात्रै देखिइरहे। सांसदहरूले पूरक प्रश्न गर्दा करिब १२ मिनेट जति सभामुख मात्रै भिडियोमा देखिने र सांसदहरूले नदेखिने भएपछि कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति जनाए।
'कर्मचारीहरूको विरोधका कारण सांसदहरूले बोलेका अभिव्यक्तिहरू प्रसारण बन्द भएको छ। सम्पूर्ण कुरा बन्द गरेर सदन चलाउने कि नचलाउने सभामुखज्यू? यो ब्ल्याक आउट गरेर सदन नचलाऊँ। यो हुँदैन,' सांसद खतिवडाले भने।
सभामुख घिमिरेले ध्यानाकर्षण भएको भन्दै कार्यसूचीमा रहेका बाँकी कार्यक्रम हटाउँदै बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरे।
बैठक स्थगित भएपछि स्वास्थ्यमन्त्री यादवले पूरक प्रश्नको जवाफ दिन पाएनन्। आज अन्य सात मन्त्रीले पनि जवाफ दिने कार्यसूची पनि प्रभावित भयो।