करिब आठ करोड रुपैयाँबराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी काठमाडौंमा पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले युगान्डाका दुई र भारतका एक नागरिकलाई पक्राउ गरेको हो।
लागुऔषध लिएर आएका युगान्डाका केभिना मुलागा र लिलियन सुसन वानिन्जे पक्राउ परेका हन्। मुलागाको साथबाट एक केजी दुई सय ६० ग्राम कोकिन भेटिएको छ। उनले क्याप्सुलका रूपमा निलेर कोकिन तस्करीको प्रयास गरेकी थिइन्।
गत ३० वैशाखमा नेपाल आएकी उनलाई प्रहरीले शंका लागी नियन्त्रणमा लिएको थियो। अस्पतालमा लगेर उपचार पद्धतिबाट उनको पेटमा रहेको कोकिनका क्याप्सुल निकालिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी रामेश्वर कार्कीले बताए।
त्यस्तै, २ जेठमा धोबीचौरको होटेलबाट पक्राउ परेकी लिलियनसँग एक केजी तीन सय ९४ ग्राम कोकिन बरामद भएको छ। स्निकर चकलेटको खोलभित्र लुकाएर उनले कोकिन तस्करी गरेकी थिइन्। उनले सो कोकिन भारतीय नागरिक दिवा पाललाई दिन लागेकी थिइन्। त्यही क्रममा पाललाई पनि प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।
उनीहरूबाट बरामद कोकिनको अवैध बजार मूल्य सात करोड ६ लाख रुपैयाँ भएको प्रहरीले जनाएको छ। दक्षिण अमेरिकी देशमा उत्पादन हुने कोकिन तस्करीमा नेपाल ट्रान्जिट हुँदै आएको छ।
नेपालमा पक्राउ परे पनि धेरै सजाय नहुने र खुला सीमाका कारण भारत लैजान सहज हुने भएकाले यसरी ट्रान्जिट बन्दै आएको प्रहरी अधिकारी बताउँछन्।