३ जेठ अर्थात् दासढुंगा दुर्घटनालाई एमाले बिर्सिसक्यो कि सम्झँदै छ ?
नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको विचार, योगदान र नेतृत्वलाई कसैले पनि बिर्सिन सक्दैन । उहाँहरूले पुर्याएको योगदानले नै आजको नेपाली राजनीतिमा हामीलाई सामयिक बनाइरहेको छ । त्यसैले, हामी सबैले उहाँहरूलाई सदैव सम्झिरहनेछौँ । उहाँहरूले नेपाली कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको सम्मान गर्दै त्यसलाई अझ समृद्ध बनाउने दिशामा हामी अघि बढिरहेका छौँ । त्यसैले, उहाँहरूलाई गुमाएको दिन ३ जेठलाई एमालेले बिर्सिने कुरै छैन ।
एमालेले मदन भण्डारीको विचार जनताको बहुदलीय जनवाद (जबज) लाई बिर्सिसक्यो भन्ने आरोप छ नि ?
हामी पार्टीको आन्तरिक जीवन र नेपाली राजनीतिमा प्रतिस्पर्धात्मक विधिबाट अघि बढिरहेका छौँ । जबजले अघि सारेका विचारलाई बिर्सिने होइन, त्यसलाई समृद्ध गर्ने दिशामा सिंगो पार्टी पंक्ति निरन्तर लागिपरेको छ । कमरेड भण्डारीको नेतृत्वमा अघि सारिएको जबजलाई बिर्सेर होइन, त्यसलाई समृद्ध बनाएर लैजाने कार्यमा पार्टीले सशक्त भूमिका खेल्छ र खेल्दै आएको पनि छ ।
एमालेमाथि सत्ताबाहिर रहँदा दासढुंगा दुर्घटनालाई उचाल्ने र सत्तामा पुगेपछि यसलाई बिर्सने गरेको आरोप पनि छ नि ?
नेपालमा मात्र होइन, विकसित देशमा पनि यस्ता कैयौँ घटना सदा सर्वदा रहस्यकै गर्तमा रहेका उदाहरण धेरै देखिन्छन् । नेपालकै सन्दर्भमा पनि त्यस्तै भएको मात्र हो । हामी सरकारमा जाँदा या प्रतिपक्षमा हुँदा यो घटनालाई समान रूपमा हेरिरहेका छौँ । जहाँ रहे पनि हामीले यस घटनालाई चासोसाथ हेर्दै आएका छौँ । तर, सोचेजस्तो परिणाम नआएको हुनाले हामीमाथि त्यस्तो आरोप लगाइएको हुन सक्छ ।