
- निर्णय फिर्ता नभए मुठभेड हुन्छ : चिनीकाजी महर्जन, वडाध्यक्ष, कामनपा–२२
- पैदलयात्रुमैत्री बनाउन खोजिएको हो, यसका अनेक लाभ छन् : सुरज शाक्य, सडक विभाग प्रमुख, काठमाडौं महानगर
न्युरोड क्षेत्रको पैदलमार्ग विस्तार गर्ने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध जनप्रतिनिधि नै विरोध प्रदर्शनमा उत्रिएका छन् । सडक मासेर पैदलमार्ग विस्तारको निर्णय फिर्ता लिनुपर्ने भन्दै आइतबारदेखि सुरु भएको विरोध प्रदर्शनमा जनप्रतिनिधिले पनि साथ दिइरहेका छन् ।
प्रदर्शनमा उत्रिएका स्थानीयवासीले निर्णय फिर्ता नहुन्जेल विरोध प्रदर्शन जारी रहने बताएका छन् । स्थानीय अमृत मानन्धरका अनुसार महानगरले छलफल नै नगरी पैदलमार्ग विस्तार थालेकोमा विरोध सुरु गरेको हो । ‘ऐतिहासिक र मौलिक क्षेत्रलाई मास्ने नियतले महानगरले काम गर्यो,’ उनले भने, ‘यो क्षेत्रलाई त जस्ताको तस्तै राख्न पहल हुनुपर्नेे हो । विकासको नाममा जे पनि गर्न त भएन नि ।’ स्थानीयसहित जनप्रतिनिधिले ‘नयाँ सडक बचाऔँ, न्युरोड साँघुरो गर्न पाइँदैन...’लगायत नारा लगाउँदै दुई दिनदेखि विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूको प्रदर्शनमा वडा नम्बर २१, २२ र २३ का जनप्रतिनिधि उपस्थित छन् । महानगरले गत ९ माघदेखि व्यापारिक क्षेत्र न्युरोड क्षेत्रको दायाँ–बायाँ पार्किङ हटाएको थियो । अब उक्त स्थानमा फुटपाथ विस्तार गर्ने तयारी गरेको हो ।
फुटपाथ विस्तारबारे छलफल हुन थालेदेखि नै विरोधमा गर्दै आएका वडा नम्बर २२ का अध्यक्ष चिनिकाजी महर्जनले महानगरले उक्त निर्णय फिर्ता नलिए मुठमेडको स्थिति आउने बताए । ‘मेयर बालेनको यो योजना सडक मास्ने तयारी हो,’ उनले भने, ‘उहाँको राम्रो काममा जहिल्यै समर्थन गर्यौँ । तर, यो काममा समर्थन हुँदैन । अहिले भइरहेको विरोध सांकेतिक मात्रै हो । मेयरबाट सकारात्मक जवाफ आएको छैन । स्थानीयको माग पूरा नभए मुठभेड हुन्छ ।’ उनका अनुसार निर्णय फिर्ता नलिएसम्म स्थानीयलाई साथ र समर्थन रहनेछ । ‘यो निर्णय लागू गर्नुभन्दा अघि सम्बन्धित वडाका अध्यक्ष, सदस्यसँग छलफल गरिएन । २५औँ बोर्ड बैठकमै मेयर बालेनले यो हाम्रो इच्छविपरीत काम गर्दिनँ भन्नुभएको थियो, त्यो कार्यान्वयन भएन । र, विकास निर्माण स्थानीयको माग आधारमा हुने हो, लाद्ने होइन,’ अध्यक्ष महर्जनले भने ।
पार्किङस्थल पैदलयात्रीका लागि उपलब्ध गराउन लागिएको हो : महानगर
महानगरपालिकाअन्तर्गत सार्वजनिक निर्माण विभागका अनुसार न्युरोड क्षेत्रमा पहिला सवारीसाधन पार्किङ गर्ने गरिएको भाग पैदलयात्रीका लागि उपलब्ध गराउन लागिएको हो । भित्री सहरी क्षेत्रको व्यवस्थापन महानगरपालिका आफैँले गरिरहेको छ । न्युरोड मर्मत, सुधार, सडक कालोपत्रे गर्ने काम पहिले पनि महानगरपालिकाले गरिरहेको थियो । पैदलयात्रीको सुरक्षाका लागि बार महानगरपालिकाले नै राखेको हो । यस क्षेत्र भएर बग्ने ढल पनि महानगरपालिकाले नै राखेको हो । पूर्वाधार निर्माण र सहरी सुविधा वितरणका लागि यसअघि पनि काम गरिसकेको क्षेत्रमा अहिले पैदलमार्ग सुधार गर्ने योजना सुरु भएको हो । योजना कार्यान्वयन गर्ने सन्दर्भमा सडक विभागलाई डिजाइनसहित र गत ४ असोजमा पत्राचारसमेत भइसकेको विभाग प्रमुख सुरज शाक्यले बताए ।
उनका अनुसार पैदलमार्ग सुधार गर्दा आवागमन, व्यापार तथा स्थानीयलाई कुनै पनि असर गर्दैन । जहाँ पैदल यात्रा धेरै छ, त्यो ठाउँको जीवन्तता अझ थपिन्छ । व्यापार झन् बढ्छ । ‘पैदलमार्गको स्वरूपमा भएकाले न्युरोडमा भन्दा असनमा मानिस बढी जान्छन् । धेरै सामान खरिद गर्छन्,’ शाक्यले भने, ‘पहिले पार्किङ हुन्थ्यो । अब पैदलयात्री हिँड्छन् । सवारीसाधनका लागि दुईतर्फी सडक हुन्छ । दमकल, एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारीसाधन सञ्चालनमा कुनै अवरोध हुँदैन । यत्ति मात्र हो कि यस क्षेत्रमा निजी सवारीसाधन रोकेर राख्न पाइँदैन । सुरु–सुरु गन्तव्यमा जानुपर्छ ।’
कुन ठाउँमा बन्न लागेको हो पैदलमार्ग ?
चालू आर्थिक वर्षको बजेटमार्फत पैदलमार्ग विस्तार सुरु भएको हो । यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गत २१ असोजमा स्वीकृत भएको थियो । प्रतिवेदनका आधारमा ८ मंसिरमा बोलपत्र आह्वान भएको थियो । तीन करोड १९ लाख लागत अनुमान गरिएको कामका लागि दुई करोड ५६ लाख रुपैयाँ (२०.११%) घटी रकममा काम सम्पन्न गर्न प्रस्ताव गर्ने आरोग्य साइटेक जेभीलाई मूल्यांकन समितिले ६ वैशाखमा छनोट गरेको थियो । निर्माण पक्षलाई सार्वजनिक निर्माण विभागले ३ जेठमा कार्यादेश दिएको छ । योजनाअनुसार नयाँ सडक, धर्मपथ, शुक्रपथ, खिचापोखरीसहितका सडकखण्डका पैदलमार्ग फराकिला हुनेछन् । यी क्षेत्रहरू वडा २२, २३ र २४ मा पर्छन् । किनारालाई हरियाली बनाइनेछ । ठाउँ–ठाउँमा विश्रामस्थल बनाइनेछ ।
महानगरको योजनाअनुसार फुटपाथ विस्तारपछि न्युरोड गेटदेखि जुद्ध सालिक र इन्द्रचोकसम्मको सडक ११ मिटरको हुनेछ । हाल भइरहेको सडकको चार मिटर चौडाइ घट्नेछ । यस्तै, जुद्ध सालिकदेखि धर्मपथतर्फको सडक ११ मिटरको हुनेछ । यहाँ ६ मिटर सडकको चौडाइ घट्नेछ भने पाको आरबी कम्प्लेसतर्फको सडक ११ मिटरको हुनेछ भने यहाँ पनि चार मिटर सडकको चौडाइ घट्नेछ । यसपछि ६० प्रतिशत फुटपाथ र ४० प्रतिशत सडक हुनेछ ।