१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
कमलराज भट्ट काठमाडाैं
२o८१ जेठ १५ मंगलबार o६:२६:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

जसपा विभाजनलाई आयोगको वैधानिकता, यादव पक्ष अदालत जाने

Read Time : > 3 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार o६:२६:oo

पार्टी अध्यक्ष उपेन्द्र यादव विदेशमै रहेका वेला भएको सत्तारूढ दल जनता समाजवादी पार्टी नेपालको विभाजनलाई निर्वाचन आयोगले वैधानिकता दिएको छ । आयोगले नयाँ राजनीतिक दलका रूपमा जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ । 

आयोगको सोमबार बसेको बैठकले उक्त दल दर्तासम्बन्धी निर्णय गरेको सहायक प्रवक्ता रामदत्त पाण्डेयले बताए । तर, यादव नेतृत्वको जसपा नेपालले दल विभाजनसम्बन्धी निर्वाचन आयोगमा दिएको निवेदन नै अवैधानिक भएको दाबी गरेको छ । जसपा नेपालले अवैधानिक निवेदनको आधारमा गरिएको दल दर्ता अदालतको विषय हुन सक्ने बताएको छ । 

केन्द्रीय सदस्य वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए हुने नियमावलीअनुसार नयाँ दल दर्ताको निवेदन प्राप्त भएको र अशोक राई नेतृत्वको जसपालाई नयाँ दलको मान्यता दिएको आयोगको भनाइ छ । आयोगका सहायक प्रवक्ता पाण्डेयका अनुसार आयोगले दल दर्ताको सूचना संसद् सचिवालयलाई समेत पठाइसकेको छ । 

आयोगको बैठकले जनता समाजवादी पार्टीले पेस गरेको विधान अभिलेख गर्ने र उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिनेसमेत निर्णय गरेको थियो । सोहीअनुसार नयाँ दलले प्रमाणपत्रसमेत लिइसकेको छ । त्यसैगरी, संघीय संसद् सचिवालय, सबै प्रदेश सभा सचिवालय र सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई दल दर्ताको जानकारी दिने निर्णय आयोगले गरेको छ । 

‘नेपालको संविधान, २०७२ राजनीतिक दलसम्बन्धी ऐन, २०७३ राजनीतिक दलसम्बन्धी नियमावली २०७४, तथा प्रचलित संघीय कानुनबमोजिमका प्रावधान पालना गर्ने सर्तमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको छ,’ पाण्डेयले भने । 

राईको नेतृत्वमा जसपा नेपालका सातजना सांसदले नयाँ दल दर्ताका लागि हिजो आइतबार निर्वाचन आयोगमा निवेदन दिएका थिए । राईसँगै संघीय सांसदहरू वीरेन्द्र महतो, प्रदीप यादव, सुशीला श्रेष्ठ, हसिना खातुन, रञ्जु ठाकुर र नवलकिशोर साह सुडी नयाँ दर्ता भएको दलमा छन् । 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नयाँ दल दर्ता भएको जानकारी आयोगबाट प्राप्त भएको बताए । नयाँ दललाई कार्यकक्ष, सुविधा र सिट व्यवस्थापन गरिने उनको भनाइ छ । 

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादव अमेरिका भ्रमणमा रहेको वेला जसपा विभाजन भएको हो । यादव भ्रमण छोट्याएर सोमबार राति फर्किएका छन् । उनी फर्किएपछि छलफल थालेको प्रवक्ता मनीष सुमनले बताए । ‘निर्वाचन आयोगको काम विवादित भयो । ठोस परिस्थितिको विश्लेषण गरेर अगाडि बढ्छौँ । अदालतको विषय हुन सक्छ,’ उनले भने । सुमनले यसअघि केही विभाजित मनस्थितिका व्यक्तिले निर्वाचन आयोगमा दिएको निवेदन अवैधानिक भएको दाबी गरेका थिए । 

पार्टीको संरचना
सोमबार दर्ता भएको राई नेतृत्वको जसपाको निर्वाचन चिह्न टुंगिएको छैन । पार्टीका उपमहासचिव प्रदीप यादवका अनुसार चुनावचिह्न हातको मुक्का मागेकोमा अर्काे दलले छोडेको एक वर्ष नपुगेकाले आयोगले अर्काे चिह्न लिन भनेको छ । नयाँ प्रस्ताव गर्न सल्लाह भइरहेको छ । पार्टीको झन्डामाथि पहँेलो रंग, बीचमा पाँच तारा र तल रातो रंगको स्क्वायर तय गरिएको छ । 

आयोगमा दर्ता भएको पार्टीमा सातजना सांसदसहित ३१ सदस्यीय केन्द्रीय समिति तय भएको छ । केन्द्रीय समिति अध्यक्ष अशोक राई र संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ चयन भएका छन् । रेणुकुमारी यादव सह–अध्यक्ष, नवलकिशोर साह सुडी, रणध्वज लिम्बू, परशुराम बस्नेत र सुशीला श्रेष्ठ उपाध्यक्ष छन् । मोहम्मद इस्तियाक राई महासचिव, प्रदीप यादव उपमहासचिव, रञ्जु ठाकुर सचिव र वीरेन्द्र महतो कोषाध्यक्ष छन् । प्रदेश र देशव्यापी रूपमा संगठन विस्तारका लागि गृहकार्य भइरहेको उनको भनाइ छ ।

केन्द्रीय समितिमा आङ्काजी शेर्पा, मोहनलाल चौधरी, कृष्णबहादुर घजू, लालबहादुर तामाङ, राधा तिमिल्सिना, सीमा सिंह, कमला विश्वकर्मा, शोभा बज्राचार्य, प्रमोद गुप्ता, पारस साह, पञ्चलाल महर्जन, केशव पौडेल, मनिकर कार्की, राजेशमान सिंह, हसिना खान, नानु थामी, हेमन्तराज भण्डारी, पिंकीदेवी यादव र नवीन सुनुवार सदस्य छन् । उपमहासचिव यादवले संसदीय दल चाँडै गठन गरिने बताए । प्रदेश र देशव्यापी रूपमा संगठन विस्तारका लागि गृहकार्य भइरहेको उनको भनाइ छ ।

उपमहासचिव यादवले उपेन्द्र यादवको हुकुमी शैली, तानाशाही कार्यशैली र एकल निर्णयको कारण नयाँ दल बनाउनुपरेको बताउँदै विचार मिल्ने सबै शक्तिहरूसँग कार्यगत एकता गरेर अगाडि बढ्ने बताए । ‘जति पार्टी फुटेका छन्, एक गरेर एकता गर्ने गरी अगाडि बढ्छौँ । विचार मिल्ने पार्टीहरू नागरिक उन्मुक्ति, लोसपा, जनमतसँग एकता गरी हिमाल, पहाड र तराई मधेशमा उत्पीडनमा परेका जनताको पक्षमा, संघीयता र पहिचानको पक्षमा काम गर्छाैँ,’ उनले भने । 

यादव पक्षले कानुनी उपचार खोज्ने
अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका वेला पार्टी विभाजन गरिँदा जसपा नेपालले कुनै निर्णय लिन सकेको छैन । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादव सोमबार साँझ काठमाडौं आइपुगेका छन् । यादव फर्किएसँगै अब केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर कारबाहीदेखि कानुनी उपचारसम्मको निर्णय लिइने सांसद प्रकाश अधिकारीले बताए । ‘पार्टी आफ्नो नीति कार्यक्रमअनुसार अगाडि बढ्छ । केही मान्छेले छोडेका हुन् । १०/२० प्रतिशत पुर्‍याउन नसक्नेले विभाजन गरेको भन्न मिल्दैन । अध्यक्षज्यू फर्केपछि पार्टी केन्द्रीय कार्यकारिणीको बैठक बस्छ । आवश्यक परे पार्टी कानुनी उपचारमा जान्छ । शुभलाभ गरेर पार्टी र राजनीतिलाई धोका दिन अवसरवादीहरूलाई सबक सिकाउँछौँ,’ उनले भने । 

सांसद अधिकारीले सत्तापक्षकै केही व्यक्तिहरूले विभाजनमा भूमिका खेलेको र अवसरवादीहरू प्रयोग भएको आरोप लगाए । ‘जसपा फुटाउने र कमजोर बनाउने षड्यन्त्र पहिलेदेखि चल्दै आएको, भोग्दै आएको कुरा हो । अहिले कसले के गरेको भन्ने छर्लंग छ,’ उनले भने, ‘यथास्थितिवादी, दक्षिणपन्थी, प्रतिगामीहरूको लहैलहैमा धोका दिने साथीहरूको राजनीति धरापमा परेको छ ।’ अधिकारीले जसपा सत्तागठबन्धनमै रहेको बताए । ‘साझा न्यूनतम कार्यक्रमको आधारमा सहभागी भएकाले अहिले नै फेरबदल हुँदैन,’ उनले भने । 

मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य 
नयाँ दल दर्ता भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तारूढ एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रिपरिषद् पुनर्गठनको छलफल अगाडि बढाएका छन् । सत्तारूढ माओवादी केन्द्रका एक उच्च नेताका अनुसार अशोक राई नेतृत्वको नयाँ दललाई सरकारमा सामेल गराउन उपेन्द्र यादव र दीपक कार्कीलाई बर्खास्त गर्ने विकल्पमा छलफल भइरहेको छ । यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री र कार्की वन राज्यमन्त्री छन् ।

वनमन्त्री नवलकिशोर साह सुडी नयाँ दलमा लागेका छन् । सरकारका एक मन्त्री उपेन्द्रको आगामी कदमका आधारमा मन्त्रिपरिषद् पुनर्गठनको कोर्स अगाडि बढ्ने बताउँछन् । ती मन्त्रीले भने, ‘नयाँ दल आएपछि स्वाभाविक रूपमा मन्त्रिमण्डल फेरबदल हुन्छ । अब उपेन्द्र यादवले के स्टेप लिन्छन्, त्यसका आधारमा निर्णय हुन्छ ।’ तर, नयाँ दल जसपाका उपमहासचिव प्रदीप यादवका अनुसार सोमबार बसेको पार्टीको बैठकले अहिलेकै सरकारलाई निरन्तरता दिने औपचारिक निर्णय गरेको छ । 

राई नेतृत्वको जसपाबाट प्रदीप यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो र रन्जु झा मन्त्री बन्ने लाइनमा छन् । माधव नेपाल सरकारबाट बाहिरिए चारैजना मन्त्री बन्नेछन् भने नागरिक उन्मुक्तिबाट एकजना मन्त्री बन्नेछन् । एकीकृत समाजवादी सरकारमै रहे जसपाबाट दुई मन्त्री र एक राज्यमन्त्री बनाउने गरी छलफल अघि बढेको नेताहरू बताउँछन् । सञ्चारमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् पुनर्गठनबारे अहिले नै कुनै छलफल नभएको बताइन् । ‘उहाँहरूले सरकारलाई समर्थन गर्ने कुरा स्वागतयोग्य छ । तर, सरकारमै सहभागी गराउने कुरा भएको छैन । सहभागी गराउन मन्त्रीको सिट पनि खाली छैन,’ उनले भनिन्, ‘मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल भइसकेको छैन ।’

ad
ad