१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका नयाँ दिल्ली
२o८१ जेठ ६ आइतबार १o:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

‘सिख हत्यामा भारतलाई दोष दिनु क्यानडाको बाध्यता’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:२८:oo

 भारतका विदेशमन्त्री एस जयशंकरले गत वर्ष क्यानडाको भ्यानकुभरमा एक सिख पृथक्तावादीको हत्यामा कथित भारतीय संलग्नताबारे क्यानडाको अनुसन्धान ‘राजनीतिक बाध्यता’ भएको टिप्पणी गरेका छन् । हत्या मामिलामा तीनजना भारतीय नागरिक पक्राउ परेपछि विदेशमन्त्रीको सो टिप्पणी आएको हो ।

क्यानडेली प्रहरीले शुक्रबार हरदीप सिंह निज्जरको हत्या आरोपमा तीनजनालाई पक्राउ गरेको थियो । ‘क्यानडामा भारतलाई दोष दिनु उनीहरूको राजनीतिक बाध्यता हो,’ विदेशमन्त्री जयशंकरलाई उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई)ले लेखेको छ । प्रहरीले भारत सरकारसँग उनीहरूको सम्बन्ध भए–नभएको विषयमा अनुसन्धान गरिरहेको बताएको छ । 

क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय गुप्तचरलाई अपराधसँग जोड्ने ‘विश्वसनीय आरोप’ रहेको बताएपछि उक्त हत्याले गत ओटावा र नयाँदिल्लीबीचको कूटनीतिक सम्बन्धमा चिसोपन ल्याएको छ । भारतले आरोपलाई ‘अर्थहीन’ भन्दै अस्वीकार गर्‍यो र कडा प्रतिक्रिया दियो । साथै, क्यानडेली नागरिकका लागि भिसामा केही समयका लागि रोक लगायो भने ओटावालाई आफ्ना कूटनीतिज्ञलाई फिर्ता ल्याउन बाध्य पार्‍यो । 

सन् १९८० को दशकमा खालिस्तान नामक सिख पृथक्तावादी विद्रोहका क्रममा हजारौँ मानिस मारिएका थिए । उक्त आन्दोलन भारतभित्र केही हदसम्म कम भएको छ, तर क्यानडामा रहेका करिब सात लाख ७० हजारसहितको सबैभन्दा ठूलो सिख आप्रवासीको समुदायले अल्पसंख्यक स्वरको समर्थनलाई कायम राखेको छ । 

‘नयाँदिल्लीले ओटावासँग सिख पृथक्तावादीलाई भिसा वा राजनीतिक वैधता नदिनका लागि मनाउन खोजेको छ किनकि तिनीहरूले क्यानडा, हाम्रा लागि समस्या निम्त्याउँदै छन्,’ विदेशमन्त्री जयशंकरले भने, ‘क्यानडाले केही मामिलामा हामीसँग कुनै प्रमाण सेयर गर्दैन र प्रहरी एजेन्सीले हामीलाई सहयोग गर्दैन ।’

सन् १९९७ मा क्यानडा बसाइँ सरेका निज्जरले १८ वर्षपछि त्यहाँको नागरिकता लिएका थिए । उनी कथित आतंकवाद र हत्याको षड्यन्त्र गरेको आरोपमा भारतीय अधिकारीहरूको खोजीमा थिए । पक्राउ परेका तीनैजना भारतीय नागरिक २० वर्षको आसपासका रहेका र उनीहरूमाथि ‘फस्र्ट डिग्री’ हत्या तथा षड्यन्त्रको आरोप लगाइएको थियो ।

उनीहरूमाथि गत जुनमा निज्जरको हत्यामा गोली चलाउने, चालक र जासुस भएको आरोप लगाइएको थियो । क्यानाडेली प्रहरीले हत्यामा ‘अन्य मानिसले पनि भूमिका निर्वाह गरेको’ थाहा भएको बताएको छ । नोभेम्बरमा अमेरिकी न्याय विभागले चेक गणतन्त्रमा बस्ने एक भारतीय नागरिकमाथि कथित रूपमा अमेरिकी भूमिमा अर्का सिख पृथक्तावादी नेतामाथि यस्तै प्रकारको हत्या प्रयासको योजना बनाएको आरोप लगाएको थियो । 

ad
ad