१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
कविता कृष्णन
२o८१ बैशाख २३ आइतबार १o:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

मंगलसूत्रको सहारा लिइरहेका मोदी

Read Time : > 2 मिनेट
कविता कृष्णन
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:o६:oo

प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले मंगलसूत्रको सहारा लिइरहेका छन् । के उनी म डुब्दै छु भनेर भयग्रस्त भएका हुन् ? कंग्रेसको घोषणापत्रमा गरिब, वञ्चित र बेरोजगारका लागि सामाजिक–आर्थिक न्याय र समावेशीकरणको प्रस्ताव गरिएको छ । यसलाई लिएर प्रधानमन्त्रीको प्रतिक्रिया सार्वजनिक शौचालयको भित्ताको अश्लील लेखाइभन्दा तल्लो स्तरको छ । उनको प्रतिक्रिया भय सञ्चारका दुई ठूला विषयमा केन्द्रित छन्– ‘मुसलमान तिमी र तिम्रा महिलाको अस्मिता लुट्न आउँदै छन् !’ कंग्रेस पार्टीको घोषणापत्रको यो विकृत व्याख्या एकदमै बेतुके छ, यहाँसम्म कि मोदीभक्तले पनि यो विश्लेषणलाई सजिलै पचाउन सक्दैनन् ।

आर्थिक एवं सामाजिक हितको विषय उनका लागि यति डरलाग्दा किन भए ? किन उनले यति घृणित जवाफ दिनुपर्‍यो ? के उनले आफ्ना दुई कार्यकालमा यी क्षेत्रमा भएका उपलब्धिका प्रमाणको खोजी गर्दा केही पनि फेला नपारेका हुन् ? भिडियोमा विपक्षीले मासु खाएको देख्दा प्रधानमन्त्रीले ‘मुगल मानसिकता’ भएको आरोप लगाएका छन् ।

त्यसपछि उनले कंग्रेसको घोषणापत्रमा मुस्लिम लिगको मोहर लागेको बताएका थिए । उनले घोषणापत्रमा माओवादी/अर्बन नक्सलको मोहर लगाइएको पनि बताए, जसबाट प्रभावित भएर कंग्रेसले जनताको सम्पत्ति लुट्ने र मुसलमानलाई सुम्पने योजना बनाएको छ भन्ने आरोपसमेत लगाए । र, अहिले उनले कंग्रेसले मंगलसूत्र (हिन्दू परम्पराअनुसार विवाहित नारीत्वको प्रतीक भएको पवित्र धागो वा माला) लाई पनि छोड्नेछैन भन्ने अभिव्यक्ति दिएका छन् । उनको भाषणको सार कंग्रेसले हिन्दू महिलाको घाँटीबाट मंगलसूत्र खोस्नेछ भन्ने थियो । उनकै भाषामा ‘के तपाईं आफ्नो मंगलसूत्र यी ‘धेरै सन्तान जन्माउने’ ‘घुसपैठिया’लाई हस्तान्तरण गर्न चाहनुहुन्छ ?’

उनले गरेको भाषणको चिरफार गरी हेरौँ । २०औँ शताब्दीको सिनेमाको कथामा मंगलसूत्र हिन्दू असल पत्नीलाई विधवा वा चरित्रबाट च्यूत हुनबाट रोक्ने एक अनिश्चित सुरक्षाकवच अथवा हिन्दू नारीलाई जोगाउने र अपमानबाट सभ्य घरेलुपनमा उकास्ने प्रतीकका रूपमा बुझिन्थ्यो । यद्यपि २१औँ शताब्दीमा मंगलसूत्र (वा एक चुट्की सिन्दुर) केही हदसम्म पुरातन प्रतीकका रूपमा विकसित भइसकेको छ । यसलाई हालको समयमा एक सामान्य ठट्टा वा व्यंग्यका रूपमा मात्रै प्रयोग गरिन्छ ।

सत्ता पुनः प्राप्त गर्ने प्रयासमा मोदीले खुला एवं विभाजनकारी इस्लामद्वेषी बयानबाजीलाई प्रयोग गर्ने रणनीति लागू गरेका छन् 

तर, प्रधानमन्त्रीले योभन्दा पनि धेरै विचलित पार्ने काम गरेका छन् । उनले मुसलमानलाई मंगलसूत्रविरोधीका रूपमा परिचय गराएका छन् । यो स्पष्ट छ कि उनले लोककल्याण र पुनर्वितरणमा केन्द्रित कंग्रेस नीतिले महिलालाई तिनको सबैभन्दा व्यक्तिगत र प्यारो गहनाको अधिकार पनि गुमाउन बाध्य पार्नेछ भन्ने कमजोर तर्कलाई इमानदारीपूर्वक प्रस्तुत गरेका छैनन् ।

‘कंग्रेसले मंगलसूत्र खोस्दै छ’ भन्नु मुसलमानले हिन्दू नारीत्वको पवित्रता नष्ट गर्दै छन् भन्नु हो । वर्तमान गृहमन्त्री अमित शाहले उत्तर प्रदेशमा सन् २०१३ को चुनावी भाषणमा मुसलमानलाई संकेत गर्दै ‘जसले हाम्रा दिदीबहिनी र छोरीचेलीको इज्जत लुट्छन्’ भनेका थिए । अमित शाहको यो अभिव्यक्तिलाई मोदीको मंगलसूत्रवाला अभिव्यक्तिसँग तुलना गर्न सकिन्छ । 

मोदीले मुसलमानलाई उल्लेख गर्न ‘धेरै बच्चा जन्माउनेहरू’ भन्ने द्वेषी अभिव्यक्ति पहिलोपटक प्रयोग गरेका होइनन् । गुजरातको मुख्यमन्त्रीका रूपमा मोदीले सन् २००२ मा दंगापछिको चुनावी भाषणमा ‘तीव्र गतिमा जनसंख्या वृद्धि गर्नेले पाठ सिक्नुपर्ने हुन्छ’ भनेका थिए । उनले दंगाबाट विस्थापित मुसलमानका लागि बनाइएको राहत शिविरलाई ‘बच्चा उत्पादन केन्द्र’को संज्ञा दिएका थिए । ‘हम पाँच, हमरे २५ (हामी पाँच र हाम्रा २५)’ भन्ने खिसीट्युरी गर्दै उनले मुसलमानमा बहुविवाहका कारण तिनमा छिटो प्रजनन हुने जनाएका थिए ।

भारतीय जनता पार्टी (भाजपा) का नेता स्वभावतः मुसलमानलाई गैरभारतीय देख्छन् । अमित साहले सिएए कानुनले मुसलमानलाई छुटाएपछि भाजपाले मुलुकलाई सिध्याइरहेका ‘धमिरा’रूपी ‘घुसपैठिया’लाई बंगालको खाडीमा मिल्काउने अभिव्यक्ति दिएका थिए । ‘अर्बन नक्सल’ भाजपाले सामाजिक र आर्थिक न्याय एवं मानवअधिकारको खोजी गर्ने बुद्धिजीवी, विद्यार्थी र अभियन्ता वास्तवमा देशद्रोही एवं आतंकवादी हुन् भनेर प्रयोग गरेको शब्दावली हो ।

मोदीको बढ्दो भड्काउ स्वरले उनको बढ्दो असुरक्षालाई प्रकट गर्छ । बेरोजगारी र मुद्रास्फीति सन् २०२४ मा प्रमुख चिन्ताका रूपमा रहेको छ । बाँच्नका लागि धेरैले सामना गर्नुपरेको कठिनाइ र मोदीका साझेदारले देखाएको उल्लेखनीय सम्पत्तिबीचको स्पष्ट असमानता मतदाताका लागि अविस्मरणीय भएका छन् । त्यतिवेला विशेषतः जब मिडिया र सामाजिक सञ्जालका मञ्च भव्य अपव्ययका छविले भरिएका छन्, उदाहरणका लागि अम्बानीको उत्तराधिकारीको इंगेजमेन्ट उत्सवलाई लिन सकिन्छ ।

इडी–इलेक्टोरल बन्डको जबर्जस्ती असुलीको ‘कालक्रम’लाई एक बालकले समेत सहजै बुझ्न सक्छ । इडी संरक्षण धन्धामा एक ढाँचा देखिन्छ, जहाँ धेरै विपक्षी राजनीतिज्ञले सम्भावित इडी भ्रष्टाचार आरोपको सामना गर्छन् । तर, ती आरोप भाजपामा सामेल भएपछि सहजै गायब हुने गर्छन् । यस्तो धन्धाको प्रतिरोध गर्नु भनेको तपाईंको पार्टीलाई आर्थिक पहुँचबाट वञ्चित हुनु वा आफूलाई जेल सजायका लागि निम्त्याउनु हो, चाहे तपाईं भारतको राजधानीको वर्तमान मुख्यमन्त्री नै किन नहुनुहोस् ।

प्रधानमन्त्रीले भाष्यमाथिको नियन्त्रण गुमाइसकेका छन् । सत्ता पुनः प्राप्त गर्ने प्रयासमा मोदीले खुला एवं विभाजनकारी इस्लामद्वेषी बयानबाजीलाई प्रयोग गर्ने रणनीति लागू गरेका छन्, जसलाई उनले ‘गोदी मिडिया’ले भ्रामक रूपमा विस्तार गर्ने अपेक्षा गरेका छन् ।
(कृष्णन महिला अधिकारकर्मी तथा अभियन्ता हुन्) द क्विन्टबाट

ad
ad