१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तस्बिर : अर्जुन श्रेष्ठ/नयाँ पत्रिका
Invalid date format १८:२१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खानेपानी माग्दै नीलकण्ठका स्थानीय गाग्री बोकेर नगरपालिका कार्यालयमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२१:oo

वर्षाैँदेखि खानेपानीको समस्या भोग्दै आएका धादिङको नीलकण्ठ नगरपालिका–४ भैरवी टोलका स्थानीय आन्दोलित बनेका छन्।

खानेपानी समस्या समाधानको आश्वासन मात्रै पाएको भन्दै गाग्री, बाल्टिन, जर्किनलगायत पानी थाप्ने भाँडासहित स्थानीयवासीले नगर कार्यालय पुगेर आन्दोलन गरेका हुन्। आफूहरूले पछिल्लो दुई–तीन वर्षदेखि खानेपानीको चरम अभाव खेपिरहेको प्रदर्शनमा सहभागी साबित्री कँडेलले बताइन्।

‘पहिले ९ घरधुरीले खाएको पानी अहिले ९३ घरधुरी भयो। न धारा थपिएको छ, न अन्य भौतिक संरचना व्यवस्थापन भएको छ। त्यही धारामा पनि पानी आउँदैन,’ उनले भनिन्, ‘कुवा धाएर खानेपानी जोहो गर्नुपरेको छ। कुवा जान–आउन ४० मिनेट लाग्छ। कुवामा उस्तै लाइन हुन्छ। खानेपानी व्यवस्थापन गर्दिन्छौँ भनेर आश्वासन मात्रै पायौँ। मासिक एक सय रुपैयाँ पनि तिर्छाैँ, तर पानी पाइएन।’

पानी खान नपाए पनि हरेक महिना त्यसको शुल्क तिर्दै आएको धनमाया तामाङ बताउँछिन्। ‘पानी खान नपाएपछि के पैसा तिर्नु भनेर बसेको, उल्टै जरिवाना पो गरे,’ उनले भनिन्, ‘सधैँ भोलि नै पानी आउँछ भन्छन्। वर्षाैँ भयो, तर सहज रूपमा पानी खान पाइएन। सधैँ टाढादेखि पानी बोकेर त कसरी चल्छ र?’

आफ्नो बस्तीनजिकैको पानी अन्यत्रै लगिएको, तर आफूहरू भने भरिएको सोही ट्यांकी हेरेर बस्नुपर्ने अवस्था रहेको सबिना वस्तीले बताइन्। ‘हामीलाई देखाएर पानी खानुहुन्छ, हामी टुलुटुलु हेरेर प्याक-प्याक पर्नुपरेको छ। पानी सबैले बाँडेर खानुपर्छ। आज दिन्छु, भोलि दिन्छु भनेर टार्ने मात्र काम भएको छ। खानेपानी कार्यालय र नगरपालिकाले हाम्रो समस्या नसुनेका कारण गाग्री बोकेर आन्दोलन गर्न बाध्य भएका हौँ,’ उनले भनिन्।


आफूहरूको समस्या समाधान नभएसम्म घर नफर्कने आन्दोलनमा सहभागी अर्का स्थानीय तीर्थबहादुर दुवाडीले बताए। ‘हाम्रो धारामा पानी आउँदैन। हामीले खान पाएका छैनौँ,’ उनले भने, ‘विरोधका लागि विरोध होइन। पानी खान नपाएर तड्पिएर आन्दोलनमा आएका हौँ। खानेपानी पाइने पक्का भएपछि निकासा लिएर मात्रै घर फर्किन्छौँ।’

खानेपानी माग गर्दै भाँडाकुँडा बोकेर शान्तिपूर्वक र्‍याली गर्दै नगरपालिका कार्यालय पुगेका स्थानीयसँग नगर उपप्रमुख दीपक विश्वकर्मा र खानेपानी तथा सरसफाइ उपभोक्ता समिति धादिङका कार्यालय प्रमुख रमेश पौडेलले छलफल गरेका छन्।

छलफलका क्रममा उपप्रमुख विश्वकर्माले मंगलबार फिल्ड अनुगमन गरी खानेपानीको समस्या तत्काल समाधान गर्ने आश्वासन दिएका छन्।