१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:३२:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

अमेरिका रहेन मध्यपूर्वको ठूलो शक्ति

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३२:oo

सन् १९७९ को इस्लामिक क्रान्तिपछि अमेरिका र उसका समर्थकलाई सैतानी शक्ति घोषित गरेको इरानले पहिलोपटक इजरायलमाथि सीधा मिसाइल आक्रमण गर्‍यो । यसले मध्यपूर्वमा बृहत्तर युद्धको सम्भावना बढेको छ । इजरायलले केही दिनअघि सिरियास्थित आफ्नो वाणिज्य दूतावास ध्वस्त पारेको जवाफमा इरानले जुनसुकै वेला इजरायलविरुद्ध कारबाही गर्ने चिन्ता व्यक्त गरिएको थियो । त्यो चिन्ता मिसाइल आक्रमणको रूपमा आयो । तर, इरानले यसलाई द्वन्द्वको आमन्त्रणभन्दा पनि थप आक्रमण गरे गम्भीर स्थिति भोग्नुपर्ने चेतावनी दिएको छ । तथापि इजरायल केही समयदेखि नै मध्यपूर्वको वर्चस्वशाली शक्तिको रूपमा उदाइरहेको थियो ।

अमेरिकी नेतृत्वको पश्चिमी नौसेनाले गत जनवरीमा यमनका इरान–समर्थित हुथी विद्रोहीमाथि हवाई आक्रमण ग¥यो । झट्ट हेर्दा बल प्रदर्शनको यो घटना खासमा भने मध्यपूर्वमा पश्चिमी नीति असफलताको लामो शृंखलाको अर्को निराशाजनक घटना थियो । मध्यपूर्वको पश्चिमी शक्तिको सबैभन्दा ठूलो असफलता निश्चित रूपमा दशकौँदेखि सुल्झिन नसकेको इजरायल–प्यालेस्टाइनको मुद्दा हो । ‘लाल सागर समुद्री जलमार्ग’का व्यापारिक ढुवानीमाथि हुथी आक्रमणविरुद्ध एक अप्रत्याशित वास्तविकतालाई प्रतिबिम्बित गर्छ : मध्यपूर्वमा वासिंगटनको राजनीतिक लाभ घट्दै छ, उसको कूटनीति अप्रभावकारी हुँदै छ र उसको प्राधिकारले धक्का खाँदै छ । यो कुरा अमेरिकी आक्रमणपछि पनि हुथीले हमला जारी राख्ने वाचा गरेबाट पनि प्रस्टियो ।

मध्यपूर्वको अनिश्चित र खुला तनावले अर्को एक अप्रिय तथ्य प्रकाश पारेको छ । मध्यपूर्वमा प्रभुत्वशाली शक्तिका रूपमा अब अमेरिका मात्र होइन, पश्चिमी गठबन्धनमा रहेका इजिप्ट, साउदी अरेबिया वा इजरायल पनि रहेन । त्यो उपाधि हुथीको प्रमुख सहयोगी इरानको पोल्टामा गएको छ । हुन त गाजामा इजरायलको हिंसात्मक आक्रमण चलिरहेको समयमा विजेता र हरूवाको कुरा गर्नु फोस्रो हुन्छ, तथापि रणनीतिक रूपमा यस संकटमा को अगाडि बढिरहेको छ भन्ने स्पष्ट देखिन्छ । मध्यपूर्वमा इरानको उचाइ उसको पक्षमा लड्न तयार समर्थकले इंगित गर्छ । प्यालेस्टाइनका हमास, लेबनानका हिजबुल्लाह, इराक र सिरियाका सरकार नै इरान समर्थक हुन् । यमनका हुथीले पनि त्यहाँको राजधानी सानामा आधा दशकभन्दा लामो सयमदेखि कब्जा गरिराखेका छन् ।

मध्यपूर्वमा प्रभुत्वशाली शक्तिका रूपमा अब अमेरिका मात्र होइन, पश्चिमी गठबन्धनमा सामेल इजिप्ट, साउदी अरेबिया वा इजरायल पनि रहेन । त्यो उपाधि इरानको पोल्टामा गएको छ ।

उसो त अरब विश्वमा अमेरिका कहिल्यै प्रिय रहेको थिएन, उसलाई ‘पन्छाउन नसकिने दुष्ट(नेसेसरी इभिल)’को रूपमा सहन गरिएको थियो । तर, अब उप्रान्त त्यो सम्भावनाको अन्त्य हुने देखिँदै छ । गैरअरबको बसोवास रहेको (फारसी बहुल) इरान अरब विश्वको चालक शक्ति बनेको छ । अक्टोबर ७ को घटनापछि इजरायलले पनि रणनीतिक ‘खतरा’ सामना गरेको छ, भलै यसका चरमपन्थी राजनीतिज्ञ अझै यसमा सहमत भएका छैनन् । गाजाको भयावहतापछि इजरायलप्रतिको धारणामा समेत स्थायी परिवर्तन सुरु भएको छ । पश्चिमी सरकारसँग अरब देशले नै इजरायललाई विशेष दर्जा दिएर विशिष्ट व्यवहार बन्द गर्न माग गर्न थालेका छन् ।

पछिल्लो घटनाक्रम इरानको धार्मिक अतिवादी सरकारकै पक्षमा विकसित भइरहेको छ । इरानका मुल्लाहरूका विदेश नीति सम्बन्धमा मुख्यतः तीन उद्देश्य छन् । पहिलो, सन् १९७९ को क्रान्तिपछि उदाएको इस्लामिक शासकले सैतानी शत्रु ठहर गरेको अमेरिकालाई मध्यपूर्वबाट बाहिर निकाल्ने, दोस्रो क्षेत्रीय वर्चस्व स्थापना कायम राख्ने र तेस्रो चीन– रुससँगको बढ्दै गएको गठबन्धनस्तरको सम्बन्धलाई थप बलियो बनाउने । यी तीनबाहेक चौथो उद्देश्य पनि छ भने त्यो इजरायलको विनाश हो ।

इरानको सहयोगमा मध्यपूर्वमा सञ्चालित अर्धसैनिक (मिलिसिया) सञ्जाल (जसलाई एक्सिस अफ रेसिसटेन्स नाम दिएको छ) निरन्तर ऊसँग प्रत्यक्ष सम्पर्कमा हुन्छन् । यसका लागि तेहरानद्वारा प्रशिक्षित र हतियार दिएको सशस्त्र विद्रोही समूहकै उदाहरण लिऊँ । यस समूह इरानबाट निर्देशित भए–नभएको विषयमा आमविश्वास विभाजित छ । केही विश्लेषकको विचारमा हुथी समूहले इरानको सहयोग लिए पनि उसको निर्देशनमा चल्दैनन् । अर्थात्, सो समूह प्रत्यक्ष इरानी नियन्त्रणमा छैनन् । उता लेबनानका हिजबुल्लाहले पनि स्वायत्तताको दाबी गर्दै आएको छ । तर, गाजामा हमास, प्यालेस्टाइनको पश्चिम किनारामा सञ्चालित अन्य गुट र इराक तथा सिरियामा सक्रिय मिलिसिया इरानको चाहनाअनुरूप अमेरिकालाई मध्यपूर्वबाट बाहिर्‍याउने मुद्दा एक ठाउँमा उभिएका छन् । अर्थात्, ती इरानबाट टाढैबाट नियन्त्रित खुकुलो गठबन्धनजसरी काम गर्छन् ।

यस्तो परिस्थितिमा पश्चिमले यमनमा वर्षौंदेखि चलिरहेको गृहयुद्धमा युद्धविरामका लागि जोड दिनुको सट्टा हुथी आधारमा बमबारी गरेर वास्तविकता परिवर्तन हुँदै छ । झन् तेहरानको पश्चिमी र इजरायलविरोधी क्षेत्रीय प्रतिरोधको कथ्यले ऊर्जा पाउनेछ । विगतको उग्रताको कदमविपरीत गत वर्ष इरानले साउदी अरबसँग कूटनीतिक सम्बन्ध पुनस्र्थापित गर्दै प्रतिद्वन्द्वी देशसँगको कटुता कम गर्ने व्यावहारिक कदम चाल्यो । यस सम्झौताको सबैभन्दा महत्वपूर्ण पक्ष सम्बन्ध पुनस्र्थापनामा चीनको मध्यस्थता थियो ।

चीन र रुस इरानका नयाँ मित्र देश भएका छन् । यो सम्बन्ध इरानका लागि पछिल्लो समय निकै महत्वपूर्ण सावित हँुदै गएको छ । यही सम्बन्धको बलमा इरान थप विश्वसनीय शक्तिको रूपमा उदाइरहेको छ । युक्रेनमाथि रुसी आक्रमण र यसअघिको चीन–रुसबीचको ‘सीमाहीन’ सहयोग सम्झौताको परिपे्रक्ष्यमा इरान यी दुई मुलुकसँग नजिकियो । सन् २०२१ मा दुई देशले २५ वर्षे रणनीतिक लगानी र ऊर्जा सम्झौतामा हस्ताक्षर गरे । चिनियाँकै चाहनाअनुरूप इरान ब्रिक्स र सांघाई सहयोग संगठनमा सामेल भइसकेको छ । पश्चिमले आफ्ना तेल बिक्रीमा लगाएको प्रतिबन्धको असर कम गर्न पनि इरान चीनतर्फ फर्किएको छ । इरानले हाल प्रतिमहिना चीनलाई लाखौँ ब्यारेल कच्चा तेल बेच्छ । 

उता इरान–रुस सम्बन्ध हातहतियारतर्फ मोडिएको छ । युक्रेनमा लडिरहेको रुसलाई इरानले सस्तो खालको सशस्त्र ड्रोनहरू आपूर्ति गरिरहेको छ । अमेरिकी गुप्तचर निकायका अनुसार रुसको भाडाको सेना वाग्नर समूहले लेबनानमा सक्रिय इरान समर्थित हिजबुल्लाहलाई मध्यम दूरीको वायु रक्षा प्रणाली प्रदान गर्ने योजना बनाएको विश्वास गरेको छ । यदि यो सत्य हो भने यसले इजरायललाई पनि असर गर्नेछ । इरानले रुसलाई ड्रोन दिएर त्यसबापत चाँडै नै उन्नत रुसी सुखोई एसयू–३५ युद्धक विमान तथा आक्रमणमा प्रयोग हुने हेलिकोप्टर लिने चर्चा छ । यी विकासक्रम रुस–इरानबीच बढ्दै गएको ‘अभूतपूर्व रक्षा साझेदारी’को प्रतिफल हो । इरानमा रुसी निर्यात बढ्दै गएको छ । मस्कोले इरानको प्राकृतिक ग्यास क्षेत्र विकास गर्न ४० अर्ब डलर सहयोगको वाचा गरेको छ ।

४५ वर्ष लामो प्रयासपछि इरान अन्ततः मध्यपूर्वको वर्चस्वशाली शक्ति बनेको छ । तेहरानले पश्चिमी प्रतिबन्ध, बहिष्कार र धम्कीका बाबजुद यो स्थिति हासिल गरेकाले थप धम्की र प्रतिबन्धले काम गर्नेछैन । शक्तिशाली मिलिसिया र विश्वका दुई आर्थिक शक्तिको समर्थन पाएर इरान अमेरिका, बेलायत र इजरायलका लागि खतरनाक प्रतिद्वन्द्वीको रूपमा खडा भएको छ । अब यसबाट उत्पन्न हुन सक्ने बृहत्तर द्वन्द्वबाट जोगिने हो भने विश्वलाई नयाँ कूटनीतिक दृष्टिकोण अत्यावश्यक भइसकेको छ ।
(द गार्जियनका लागि साइमन टिस्डलको आलेख)

ad
ad