
फलफूलतर्फको स्याउ र ओखर खेतीको निकै प्रसिद्ध क्षेत्र हो जुम्ला । यहाँको रैथाने बाली कालिमासी धान (चामल), चिनो, कानुनो, फापर, सिमीको बजारमा उत्तिकै महत्व रहेको छ । बजारमा महत्व र राम्रो मूल्य पाउने रैथाने बाली भने अहिले जुम्लामा निकै कम उत्पादन हुने गरेको छ ।
उत्पादन वृद्धिसँगै कृषि क्षेत्रको महत्व प्रचारप्रसार गर्न बृहत् कृषि पर्यटन सांस्कृतिक महोत्सव हुने भएको छ । आगामी १२ वैशाखदेखि २३ गतेसम्म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको आयोजना र एकेइभेन्ट बहुउद्देश्यीय प्रालि सुर्खेतको सहयोगमा कृषि पर्यटन महोत्सव हुने भएको हो ।
कृषि पर्यटन प्रवद्र्धन र स्थानीय कलाकारको खोजीका लागि महोत्सव सञ्चालन गर्न थालिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्ण बुढथापाले बताए । व्यापारीका सटर बन्द हुने अवस्थामा पुगेका वेला महोत्सवले व्यापार, प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।
महोत्सवमा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकार जुम्ला आउनेछन् । प्रत्येक दिन दुईजना राष्ट्रिय कलाकारको महोत्सवमा सहभागी रहने अध्यक्ष बुढथापाको भनाइ छ । स्थानीय कलाकारलाई विशेष प्राथमिकता दिइने उनले बताए । प्रतिष्ठानका सचिव विश्वराज खत्रीले पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षण गर्नका लागि महोत्सवको आयोजना गर्न थालिएको बताए ।