१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
हुम्लामा पाठ्यपुस्तक पुगेपछि पुस्तक पसलबाट सदरमुकाम सिमकोटका विद्यार्थी पुस्तक बोकेर विद्यालयतर्फ जाँदै । तस्बिर : दाने बोहरा/रासस
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

७३ जिल्ला पुग्यो पाठ्यपुस्तक, चैतभित्रै देशभर पुग्ने 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:o२:oo

विगतमा शैक्षिक सत्र सुरु भएको महिनौँसम्म पनि विद्यार्थीले पुस्तक नपाउने समस्या गत वर्षदेखि सुधार भएकोमा यसपालि समयमै छपाइ र ढुवानीले अझ छिटो भएको छ

समयमा विद्यार्थीले पाठ्यपुस्तक नपाउने समस्या अघिल्लो वर्षदेखि सुधार भएकोमा यसपालि अझै छरितो भएको छ । जनक शिक्षा सामग्री केन्द्रका अनुसार आइतबारसम्म ७३ जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ । बाँकी चारमध्ये सोलुखुम्बु र बर्दियामा सोमबार र मंगलबारसम्म तथा बाँके र कैलालीमा २८ र २९ चैतमा ढुवानी हुने केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले बताए । 

‘यो वर्ष विद्यालयले नयाँ शैक्षिक सत्र सुरु नगर्दै अधिकांशमा पाठ्यपुस्तक पुगिसकेको छ, बाँकी रहेका जिल्लामा पनि चार दिनभित्र पुगिसक्छ,’ उनले भने, ‘समयमै पाठ्यपुस्तक छपाइ र ढुवानी हुँदा वेलैमा पाठ्यपुस्तक पुर्‍याउन सम्भव भएको हो ।’ 

विगतका वर्षहरूमा शैक्षिक सत्र सुरु भएको महिनौँसम्म पनि कैयौँ जिल्लामा पाठ्यपुस्तक पुग्दैनथ्यो । गत वर्षदेखि यो समस्यामा सुधार भएको थियो । अघिल्लो वर्ष १५ चैतदेखि ढुवानी थालिएकोमा यसपालि अझै छिटो ७ चैतदेखि नै ढुवानी थाल्दा समयमै पाठ्यपुस्तक पुगेको केन्द्रको दाबी छ । 

पाठ्यक्रम विकास केन्द्रको तथ्यांकअनुसार हाल सरकारी विद्यालयको बालविकास तहदेखि कक्षा १२ सम्म ५६ लाखभन्दा बढी विद्यार्थी छन् । केन्द्रले सोही परिमाणमा पाठ्यपुस्तक छापेर ढुवानी भइरहेको हो । यसपटक एकदेखि चार कक्षासम्मको पाठ्यपुस्तक निजी छापाखाना र त्यसभन्दा माथिल्लो तहको पाठयपुस्तक जनक शिक्षालाई छाप्न दिइएको थियो । पाठ्यक्रम विकास केन्द्रसँगको समन्वयमा जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक ढुवानी तथा छपाइ सुरु गरेको थियो । केन्द्रले ढुवानी थालेको १५ दिनमा देशका अधिकांश जिल्लामा पाठ्यपुस्तक पुर्‍याइसकेको छ ।

यस वर्ष एकदेखि १० कक्षासम्मको पुस्तक छपाइमा झन्डै दुई अर्ब रुपैयाँ खर्च हुने अनुमान छ भने सो तहमा दुई करोड ६० थान किताब प्रकाशन गरिएको छ । तर, आर्थिक खर्चको यथेष्ट विवरण भने आउन बाँकी रहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । 

स्कुल–स्कुलमा पुग्यो पाठ्यपुस्तक
केन्द्रबाट समयमै ढुवानी भएपछि जिल्लामा पुगेको पाठ्यपुस्तक स्कुलहरूमा पनि पुग्न थालेको छ । हाल पाठ्यपुस्तक पुगेको जिल्लाका अधिकांश विद्यालयले लगिसकेका छन् । 

जनक शिक्षा सामग्री केन्द्रले आफ्नो प्रादेशिक डिपोहरूमार्फत विक्रेतालाई पुस्तक दिने गरेको छ भने विद्यालयको मागअनुसार विक्रेताले विद्यालयमा पुस्तक पुर्‍याउने गरेका छन् । पाठ्यक्रम विकास केन्द्रले सबै जिल्लामा पाठ्यपुस्तक पुगेकाले डिपो तथा विक्रेताहरूसँग सम्पर्क गरेर पाठ्यपुस्तक लैजान देशभरका विद्यालयलाई निर्देशन दिएको छ । त्यस्तै, समयमै पाठ्यपुस्तक विवतरण गर्न पनि भनेको छ । 

पुस्तक ढुवानी र छपाइको खर्च सरकारकै 
पुस्तक विद्यालयसम्म पुर्‍याएको सबैखाले खर्च र ढुवानी सरकारकै हो । विद्यालय तहसम्मको शिक्षा प्रणाली स्थानीय तहको जिम्मेवारीमै रहने भएकाले आ–आफ्नो स्थानीय तहमा आएको पाठ्यपुस्तकको शुल्क सम्बन्धित स्थानीय तहले पाठ्यक्रम विकास केन्द्रलाई पठाउनुपर्छ । केन्द्रले जनक शिक्षा सामग्री केन्द्रको खातामा सो रकम पठाउँछ । सामुदायिक विद्यालयले विद्यार्थीबाट पाठ्यपुस्तकको शुल्क लिन पाउँदैनन् । 
 

ad
ad