१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:o२:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

खोटाङ सेवा समाज बेलायतको बृहत् स्वास्थ्य शिविर 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o२:oo

स्वास्थ्य शिविरबाट छ हजार ६ सय ३८ जना जिल्लावासी लाभान्वित

खोटाङ सेवा समाज बेलायत (युके)ले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ। ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ भन्ने नाराका साथ समाजले जिल्लाका विभिन्न ११ ठाउँमा आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा छ हजार ६सय ३८ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्।

खोटाङ घर भई बेलायतमा बसोबास गर्दै आएका खोटाङेहरूको संस्था ‘खोटाङ सेवा समाज बेलायत’ले यही चैत–१६ गतेदेखि २३ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले हरेक ठाउँमा दुई-दुई दिन नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराएका थिए।

समाजले आयोजना गरेको पहिलो चरणको शिविर जिल्लाका पाँच स्थानमा एकैसाथ सञ्चालन भएको थियो। साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पतालमा आयोजित शिविरमा ५ सय ११ जना, खोटेहाङ गाउँपालिकाको खोटाङबजार स्वास्थ्य चौकीमा आयोजित शिविरमा ७ सय ३ जना, जन्तेढुंगा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा आयोजित शिविरमा ४ सय ८३ जना, रावाबेँसी गाउँपालिकाको हरमटारमा आयोजित शिविरमा ५ सय ६० जना र ऐँसेलुखर्क गाउँपालिकाको ऐँसेलुखर्क बजारमा आयोजित शिविरमा ६ सय ५८ जनाले नि:शुल्क स्वास्थ्य सेवा लिएको आयोजक खोटाङ सेवा समाज बेलायतका महासचिव राजेन रामजङ राईले जानकारी दिए ।  

चैत–२० र २१ गते हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिममा आयोजना गरिएको शिविरमा ५ सय ३१ जना, बराहपोखरी गाउँपालिकाको धर्तुङमा आयोजना गरिएको शिविरमा ३ सय ७४ जना, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ओख्रेडाँडागाउँमा आयोजित शिविरमा ७ सय ९१ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा आयोजित शिविरमा ५ सय १ जनाले सेवा लिएका छन् । 

यस्तै, चैत–२२ र २३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै वडा नं. १४ बुइपामा आयोजित शिविरमा ८ सय ४० जना र केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा आयोजित शिविरमा ६ सय ८६ जनाले सेवा लिएका छन् । 

शिविरमा गाइनोक्लोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजी लगायत रोगको नि:शुल्क उपचार र औषधि वितरण गरिएको आयोजक खोटाङ सेवा समाज बेलायतका अध्यक्ष डा. प्रमोद कोयी राईले जानकारी दिए। 'शिविरमा सहभागी भएका बिरामीलाई नि:शुल्क उपचारका साथै औषधिसमेत नि:शुल्क वितरण गरिएको छ । शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकसहित १३० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो,' उनले भने, 'जिल्लाका ११ ठाउँमा आयोजना गरिएको शिविरमा करिब रु तीन करोड दश लाखबराबरको रकम खर्च भएको छ। जिल्लामा आयोजना गरिएको बृहत् स्वास्थ्य शिविर सफल पार्न सहयोग गर्नुहुने सबैलाई आयोजकको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौँ।'

जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन गरिएको बृहत् स्वास्थ्य शिविर नेपाल सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चैत–१४ गते काठमाडौँमा उद्घाटन गरेका थिए। जिल्लामा सञ्चालित बृहत् स्वास्थ्य शिविरको औपचारिक समापन चैत–२४ गते दिक्तेलस्थित शुभम् फाउन्डेसनमा गरिने आयोजकले जनाएको छ। 

प्रतिनिधिसभा सदस्य एवं कोशी प्रदेश सरकारका पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले औपचारिक रूपमा समापन गर्ने कार्यक्रममा आयोजकले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार–२०८०’समेत वितरण गर्ने जनाएको छ। समाजले यस वर्ष शिक्षाविद् एवं समाजसेवी चतुरभक्त राईलाई खोटाङ नागरिक सम्मान र कविचन्द्र रानोहँछालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। 

नगद  एक लाख रुपैयाँ राशि र ताम्रपत्रसहितको नागरिक सम्मान तथा ५० हजार राशि र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार आगामी चैतमा दिक्तेलमा कार्यक्रम गरेर हस्तान्तरण गर्ने निर्णय गरिएको खोटाङ नागरिक सम्मान तथा प्रतिभा पुरस्कार कोष विभागका संयोजक डिल्लीराम राईले जानकारी दिए। 

शिक्षा, समाजसेवा र साहित्यका माध्यमबाट आफ्नो माटो, समाज र राष्ट्रलाई पुर्‍याएको योगदानको कदरस्वरूप समाजसेवी चतुरभक्त र साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप कवि रानोहँछालाई सम्मान एवं पुरस्कृत गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। 

रोजगारीको सिलसिलामा बेलायतमा बसोबास गरे पनि आफूहरू खोटाङे भएकाले खोटाङेको समस्यालाई समाधान गर्न आफूहरूको पनि उत्तिकै जिम्मेवारी हुने उनीहरूले बताउँदै आएका छन्। जिल्लाका विभिन्न ठाउँमा स्थायी घर भई बेलायतमा बसोबास गर्दै आएका खोटाङहरूले चन्दा संकलन गरेर वि.सं. २०७३ चैत्र–२६ गते खोटाङलाई सातवटा एम्बुलेन्स नि:शुल्क उपलब्ध गराएको थियो।