१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

इलाम २ मा कांग्रेसका उम्मेदवार खड्का, ६ जना मैदानमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१३:oo

एमाले उम्मेदवार सुहाङलाई माओवादीको समर्थन, कांग्रेसले पनि खुला गर्‍यो ढोका 

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले उम्मेदवार टुंग्याएसँगै इलाम २ मा ६ उम्मेदवार निश्चित भएका छन् । निर्वाचन आयोगले १५ वैशाखमा उपनिर्वाचनका लागि २४ चैत (शनिबार) उम्मेदवारी दर्ताको कार्यतालिका तय गरेको छ । 

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित इतर पक्षको असहमतिबीच सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बिहीबारको बैठकबाट खड्कालाई उम्मेदवार बनाउने निर्णय गराएका हुन् । त्यसअघि देउवानिवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले उनकै नाम निर्णयका लागि सिफारिस गरेको थियो । 

कांग्रेसले खड्कालाई उम्मेदवार टुंग्याएसँगै इलाम २ मा ६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेबाट सुहाङ नेम्वाङ, रास्वपाबाट मिलन लिम्बू, राप्रपाबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीबाट जितबहादुर राई र पहिचान पक्षधरबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार चयन भइसकेका छन् । 

उपनिर्वाचनका लागि २४ चैतमा उम्मेदवारी मनोनयन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । एमाले, रास्वपा, एकीकृत समाजवादी र पहिचानवादी समूहलगायतले यसअघि नै उम्मेदवार टुंगो लगाएर प्रचार सुरु गरिसकेका छन् ।

महामन्त्री थापा र शर्मा तथा डा. शेखर कोइराला भने भेषराज आचार्यको पक्षमा थिए । तर, उनीहरूको जोडबलका सामु देउवा गलेनन् र केन्द्रीय कार्यसम्पादन समितिबाट खड्काकै पक्षमा निर्णय गराए । देउवालाई कार्यसम्पादन समितिमा उपसभापति पूर्णबहादुर खड्काले पनि साथ दिएका थिए । 

कांग्रेस उम्मेदवार सारेका खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । उनी कांग्रेस इलामका सभापति पनि हुन् । थापा, शर्मा र कोइरालाले जोडबल गरेका आचार्य पनि ०७४ को निर्वाचनमा नेम्वाङसँगै पराजित भएका थिए । 

कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले कार्यसम्पादन समितिबाट सर्वसम्मत रूपमा खड्काको पक्षमा निर्णय भएको बताए । ‘विभिन्न नाममा छलफल भयो, साथीहरूले धारणा पनि राख्नुभयो, तर आकांक्षी साथीहरूलाई समेत राखेर, उहाँहरूले पनि सहयोग गर्ने प्रतिबद्धता लिएर बैठकबाट सर्वसम्मत निर्णय भएको हो,’ विश्वकर्माले भने । 

त्यस्तै, बैठकले बझाङ प्रदेश सभा (२)मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दुवै जिल्लामा उम्मेदवारी टुंग्याएसँगै कांग्रेसले तालमेल र सहकार्यको ढोका खुला राख्ने नीति प्रस्ट्याएको छ । 

‘निर्वाचन हो, निर्वाचनमा जित्न सबैको सहयोगका लागि हामी आह्वान गर्छौँ । व्यक्तिगत मतदाता, सामुदायिक ढंगबाट, सांगठनिक ढंगबाट र अन्य दलसँग पनि कांग्रेस उम्मेदवारलाई विजयी गराउन अपिल गर्छौँ,’ कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘यो अपिल गर्दै गर्दाखेरि ती दलहरूसँग यदि परिस्थिति बन्यो भने सहकार्यको परिस्थिति पनि बन्छ ।’

इलाममा एमाले उम्मेदवार सुहाङलाई माओवादीले सघाउने 
माओवादीले इलाम २ को उपनिर्वाचनमा उम्मेदवारी फिर्ता लिएर एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई सहयोग गर्ने भएको छ । माओवादीले धीरेन्द्र शर्मालाई उम्मेदवार उठाउने तयारी गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पर्खिएको थियो ।

तर, प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीसँग सुहाङलाई सहयोग गर्ने प्रतिबद्धता जनाइसकेकाले उनकै निर्देशनअनुसार माओवादी उम्मेदवारी फिर्ता गर्ने निर्णयमा पुगेको हो । एमालेले गत ११ चैतमै सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

त्यसलगत्तै इलाम प्रस्थान गरेका सुहाङ चुनावी प्रचारमा व्यस्त छन् । माओवादीका महासचिव देव गुरुङले शीर्ष तहमा भएको संवादअनुसार सहमतिलाई तल कार्यान्वयन गर्ने बताए । ‘माथि भएको संवाद र सहमतिअनुसार उम्मेदवारीको कुरा अगाडि बढ्छ,’ गुरुङले नयाँ पत्रिकासँग भने । 

माओवादीले इलाममा सघाउने निर्णयअनुसार एमालेलाई बझाङमा आफ्ना उम्मेदवारलाई सघाउन आग्रह गरेको छ । तर, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने इलाममा सघाएबापत बझाङ छाड्ने कुनै सम्भावना नभएको बताए । ‘इलाममा माओवादीले हामीलाई सघाउने सहमति भएको हो, उहाँहरूले हामीलाई बझाङमा सहयोग गर्नुहोस् भन्नुभएको छ,’ गौतमले भने, ‘तर, सबैभन्दा धेरै जनमत हाम्रै भएकाले त्यहाँ प्रतिस्पर्धा गरौँ भनेका छौँ, त्यसैले बझाङमा अलग–अलग ढंगले नै प्रतिस्पर्धा हुन्छ ।’

निर्वाचन कार्यतालिका
२४ चैतमा उम्मेदवारको मनोनयन दर्ता । २५ चैतमा उम्मेदवारको विरोधमा उजुरी दिने । २६ चैतमा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने । २७ चैतमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र निर्वाचन चिह्न वितरण गरिनेछ । २८ चैतदेखि १२ वैशाखसम्म प्रचारप्रसार । १५ वैशाखमा मतदान ।

ad
ad