१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
सौरभ यादव राजविराज
२o८१ जेठ २ बुधबार o७:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नातामा देवर–भाउजू पर्नेको जबर्जस्ती विवाह गराएर गाउँ निकाला

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:५९:oo

सप्तरीको सुरुंगा नगरपालिका– ७ हरिपुरमा एक पुरुष र भाउजू नाता पर्ने महिलालाई जबर्जस्ती विवाह गरेर गाउँ निकाला गरिएको छ । उनीहरूलाई अनैतिक सम्बन्धको आरोप लगाएर पञ्चायती बसी गाउँ निकाला गरिएको हो ।

पञ्चायतीमा मुख्य भूमिका पूर्ववडाध्यक्ष धनिकलाल साहले गरेका थिए । उनले पञ्चायतीमै दुवैको विवाह गराएर गाउँ निकाला गर्ने निर्णय भएको जानकारी दिए । दुई छोरा र नातिनातिना रहेका महिलाका पति र दुवै छोरा रोजगारीका लागि विदेशमा छन् । गत सोमबार देवर र भाउजूलाई एउटै कोठामा देखेपछि गाउँलेले रातभर बाँधेर राखेका थिए । 

मंगलबार बिहान हरिपुरका पूर्ववडाध्यक्ष धनिकलाल साहसहित स्थानीयले गाउँमै पञ्चायती राखेर विवाह गराएर गाउँ निकालाको निर्णय गरेको थियो । सोही निर्णयअनुसार पञ्चायतीमै आरोपित पुरुषलाई भाउजू नाता पर्ने महिलाको सिउँदोमा सिन्दुर हाल्न लगाइएको थियो । 

पञ्चायती बसेकै वेला सिन्दुर हालिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा छताछुल्ल छ । भिडिओमा ती महिला र देवर भनिएका व्यक्तिलाई बीचमा पारेर गाउँलेले घेरा हालेका छन् । महिला बसेर रोइरहेकी देखिन्छिन् भने देवर भनिएका व्यक्ति उभिएका छन् । उनलाई गाउँलेले महिलालाई सिन्दुर हाल्न लगाएको देख्न सकिन्छ । गाउँलेमध्ये एकजनाले ती व्यक्तिलाई दोसल्ला ओढाउँछन् । यत्तिकैमा महिलालाई जबर्जस्ती बसेको ठाउँबाट उठाइन्छ ।

देवर भनिएका व्यक्तिले सिन्दुर हाल्छन् । महिलाले रुँदै सिन्दुर पुस्छिन् । सिन्दुर पुछेको विषयमा पनि समाजले आपत्ति जनाउँछ । अन्त्यमा ती व्यक्तिले हातमा समातेर महिलालाई लिएर जान्छन् । गाउँबाट निकालिएपछि दुवैजना अहिले सम्पर्कविहीन छन् । भाउजू नाता पर्नेसँग विवाह गराई गाउँ निकाला गरिएपछि आरोपित पुरुषका श्रीमती र दुई नाबालक सन्तान बिचल्ली परेका छन् । 

अनैतिक सम्बन्धको आशंकामा समाजबाट बहिष्कार गर्नु कानुनविपरीत रहेको दलित अधिकारकर्मी जीवन रामले बताए । ‘यदि कसैले गल्ती गरेको रहेछ भने प्रहरीमा बुझाउनुपर्छ । कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने, ‘गाउँमै पञ्चायती राखेर विवाह गराउने अनि गाउँ निकाला गर्ने घटना सरसर गलत हो ।’

ad
ad