१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत १६ शुक्रबार ०७:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लायकु प्रवेशद्वारमा कंक्रिट प्रयोग भएपछि काम रोक्न पुरातत्वको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १६ शुक्रबार ०७:१४:००

काभ्रेपलाञ्चोक बनेपा नगरपालिकास्थित ऐतिहासिक लायकु प्रवेशद्वारको प्राचीनता मेटिने गरी पुनर्निर्माण गर्न लागिएको भन्दै पुरातत्व विभागले तत्काल निर्माण कार्य रोक्न निर्देशन दिएको छ । नगरपालिकाको ८ र ९ वडाको सीमामा रहेको प्रवेशद्वार बनेपा नगरपालिकाले पुनर्निर्माण गर्न लागेको हो । तर, नगरपालिकाले प्रवेशद्वारमा कंक्रिट प्रयोग गरेको र प्राचीन स्मारक संरक्षण ऐनविपरीत काम गरेको भन्दै विभागले काम रोक्न निर्देशन दिएको हो । 

प्रवेशद्वारको निर्माण गर्दा अनावश्यक कंक्रिट प्रयोग गरिएको विभागकोे ठहर छ । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ र नियमावली, २०४६ विपरीत देखिएकाले निर्माण कार्य रोक्न १२ चैतमा विभागले प्रशासन र बनेपा नगरपालिकालाई निर्देशन दिएको हो । प्रवेशद्वार निर्माण गर्दा आवश्यक समन्वयसमेत नगरेकाले विभागले आपत्तिसमेत जनाएको छ । पुरातत्वले निर्देशन दिए पनि अटेर गर्दै नगरपालिकाले प्रवेशद्वार निर्माण गरिरहेको छ ।

कंक्रिट प्रयोग गरेर निर्माण हुन लागेको जानकारी पाएपछि विभागले साउनयता काम रोक्न भन्दै चारपटकसम्म निर्देशन दिइसकेको छ । तर, नगरपालिकाले अटेरी गर्दै आइरहेको र मौलिकता मासिने डर देखिएको सम्पदा अभियन्ता श्रीकृष्ण धिमालले जानकारी दिए । उनले सो प्रवेशद्वार निर्माण गर्दा प्राचीनता मेटिन लागेको भन्दै विभागमा निवेदनसमेत दिएका थिए । नगरपालिकाले अटेर गर्दै आएपछि विभागले पुनः निर्देशन दिएको हो । त्यस्तै, सूर्यविनायक–धुलिखेल सडक विस्तारका क्रममा ऐतिहासिक ढुंगेधारा, पाटीपौवा र मठमन्दिर भएकाले त्यसलाई संरक्षण गर्न पनि विभागले सडक विभागलाई निर्देशन दिँदै आएको छ ।