१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ७ बुधबार १६:५८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

शिथिल रहेको अर्थतन्त्रलाई सबल बनाउने गरी बजेट ल्याउने अर्थमन्त्री पुनको प्रतिबद्धता

सदनमा अर्थमन्त्रीले भने, ‘समाजवादउन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासका लागि बजेटमार्फत् ठोस आधार तयार गरिनेछ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ७ बुधबार १६:५८:००

अर्थमन्त्री वर्षमान पुनले सांसदहरूले दिएको सुझावका आधारमा आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट तय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

प्रतिनिधिसभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्ष ०८१-८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री पुनले यस्तो प्रतिबद्धता जनाएका हुन्। 

उनले आगामी बजेट १६औँ योजनाको सोचअनुसारको पहिलो वर्षको प्रमुख कार्यहरू गर्ने वर्ष हुने भन्दै संविधानमा उल्लेख भएअनुसारको समाजवादउन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासका लागि केही ठोस आधार तयार हुने उल्लेख गरे।

उनले निवर्तमान अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता परिवर्तन गर्न कतिपय सांसदहरूले सुझाव दिए पनि त्यसो गर्न सम्भव नभएकाले सबै सांसदहरूका सुझावलाई समेटेर बजेट निर्माण गरिने जानकारी गराए। 

‘कतिपय सांसदले परिवर्तित परिस्थितिमा पुनर्लेखन हुनुपर्ने बताउनुभएको छ। तर, विद्यमान कानुनी व्यवस्थाअनुसार पुनः विनियोजन विधेयकमा सिद्धान्त र प्राथमिकता पेस गर्ने व्यवस्था नभएकोले सांसदहरूले दिएको सुझावसमेतका आधारमा बजेट तर्जुमा गरिनेछ,’ मन्त्री पुनले भने, ‘सरकारका नीतिहरूमा स्थिरता कायम गर्नुपर्ने, राम्रा नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने, परिवर्तित सन्दर्भको आवश्यकता, सम्भावना र सोचलाई सम्बोधन गर्ने गरी आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता कायम गरिनेछ। 

उनले अर्थतन्त्रका चुनौती सामना गर्दै शिथिल रहेको अर्थतन्त्रलाई सवल बनाउने मुख्य लक्ष्यसहित बजेट निर्माण गरिने पनि बताए। 

संविधानमा उल्लेख भएअनुसारको समाजवादउन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासका लागि केही ठोस आधार तयार हुने किसिमको बजेट ल्याउने मन्त्री पुनको भनाइ थियो। 

उनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी सबै सांसदलाई धन्यवाद पनि दिए।